खोटाङ। खोटाङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
खोप उमेर समूहका सबै बालबालिकाले नेपाल सरकारले निर्धारण गरेको सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई आज पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्रा १५ महिनामुनिका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
एघार महिनासम्मका एक हजार ४९९, १२ देखि १५ महिनासम्मका ६५३, १६ देखि २३ महिनासम्मका एक हजार २६८, २४ देखि ५९ महिनासम्मका पाँच हजार २१७ र १६ देखि ५९ महिनाका छ हजार ४७८ जना बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलप्रसाद पौडेलले जानकारी दिनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा वडा कार्यालय हुँदै सबै पालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको जनाइएको छ ।
यस्तै, आगामी वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरिएको छ ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तह र स्वास्थ्यकर्मीलाई जिल्ला खोप समन्वय समितिले प्रशंसापत्रसहित सम्मान गरेको छ ।
खोटाङलाई पहिलोपटक २०७४ साल पुस १४ गते ३१औँ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो । त्यसपश्चात् हरेक वर्ष पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिँदै आइएको छ । रासस












