२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्टोबर ९ मा कुनै आन्दोलन छैन- जेन–जी



अ+ अ-

काठमाडौं । जेन–जी आन्दोलन आह्वान गर्ने विभिन्न समूहमध्ये एकले असोज २३ (अक्टोबर ९) मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा कुन संलग्नता नरहेको प्रष्ट पारेको छ ।

भदौ २४ गते राति सैनिक मुख्यालयमा वार्ता गर्ने टोलीमा समेत संलग्न तनुजा पाण्डे र उनको समूहले शुक्रबार एक वक्तव्य जारी गर्दे आफ्नो धारणा सार्वजनिक गरेको हो।

पछिल्लो समय केही व्यक्ति र समूहले अक्टोबर ९ मा जेनजी आन्दोलनको दोस्रो कार्यक्रम गर्ने भनेर सामाजिक संजालमा प्रचार गरिरहेका बेला अलायन्सले त्यसमा असहमति जनाएको हो ।

उनीहरूले जेन–जी आन्दोलन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरूद्ध नरहेको प्रस्ट पारेका छन्।

जेन-जी प्रेस वक्तव्य

जेन-जी विद्रोहको म्यान्डेट लिएर बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले काम गरिरहेको छ । निर्वाचनको मिति घोषणा भइसकेको यस संवेदनशील अवस्थामा शान्ति, सुव्यवस्था खल्बल्याउने, त्रास सिर्जना गर्ने र जेन-जी विद्रोहलाई बदनाम गर्ने किसिमका विभिन्न गतिविधि समेत भइरहेका छन् । मुलुकमा चुनाव नै नहोस्, शान्ति स्थापना नहोस्, सधैँ तरलता रहिरहोस् भन्ने चाहनाका साथ विभिन्न व्यक्ति र समूहले देशलाई अर्को सङ्कटतर्फ धकेल्ने धृष्टता गरिरहेका छन् ।

हाल सामाजिक सञ्जालमा यही असोज २२ (अक्टोबर ९) मा पुन: हिंसात्मक आन्दोलन हुने भन्दै त्रास सिर्जना गरी शान्ति सुव्यवस्था खल्बल्याउने प्रयास भइरहेको छ ।

उक्त हिंसात्मक गतिविधिमा हाम्रो कुनै पनि संग्लनता रहेको छैन र हुने छैन । हामीले न हिजोका दिनमा योजनाबद्ध हिंसाका गतिविधिलाई समर्थन गरेका थियौँ, न भोलि गर्नेछौँ । हाम्रो विद्रोह सधैँ लोकतान्त्रिक मूल्य मान्यतामा आधारित छ ।

जेन-जी विद्रोहको म्यान्डेट सरल र स्पष्ट छ ।

१. हाम्रो पहिलो माग भनेको भाद्र २३ र २४ मा तत्कालीन राज्यपक्षबाट भएको नरसंहारको निष्पक्ष छानबिन हो । यसमा निहत्था युवा र विद्यार्थीमाथि अन्धाधुन्द गोली बर्साउन आदेश दिने र त्यसको पालना गर्नेमध्येका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र सम्बन्धित सबै सुरक्षा निकायका प्रमुख लगायत संलग्न सबैमाथि कुनै पनि राजनीतिक आग्रह र हस्तक्षेप बिना स्वच्छ र निष्पक्ष अनुसन्धान हुनुपर्छ । दोषीलाई विद्यमान कानून अनुसार कारबाहीको दायरामा ल्याइनुपर्छ । साथै, भाद्र २४ मा देशभरि भएका लुटपाट, तोडफोड र आगजनीसम्बन्धी घटनाको पनि स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ । त्यसरी छानबिन पश्चात विद्रोही प्रदर्शनकारी र योजनाबद्ध अपराधीलाई छुट्याई सिफारिस गरी आएपछि मात्रै दोषीलाई कारबाही हुनुपर्दछ । यसका लागि सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर आयोगले काम शुरू गरिसकेको छ ।

२. हाम्रो दोश्रो माग भ्रष्टाचार सम्बन्धी उच्चस्तरीय स्वतन्त्र छानबिन संयन्त्रको स्थापना सम्बन्धमा रहेको छ । हालसम्मका भ्रष्टाचार छानबिन, अनुसन्धान र अभियोजन गर्न स्थापना गरिएका जुनुसुकै निकायहरू कुनै न कुनै हिसाबले दलीय भागबन्डामा आधारित नियुक्तिले भरिएका छन् । यसकारण त्यस्ता निकायमाथि विश्वास गर्न सकिने आधार हामीसँग छैन । अब बन्ने नयाँ संयन्त्रले चाहे जस्तोसुकै शक्तिशाली व्यक्तिमाथि पनि अनुसन्धान गरेर दोषी प्रमाणित भएको अवस्थामा कानूनबमोजिम कारबाही गर्न/गराउन बाध्यकारी सिफारिस गर्न सक्ने स्वतन्त्रता सुनिश्चित गरिनुपर्दछ । साथै राजनीतिक नेता एवम् उच्च पदस्थ कर्मचारीको जीवनशैली र आयस्रोतमाथि सार्वजनिक वृत्तमा निरन्तर प्रश्न उठिरहेको तर पर्याप्त छानबिन, कारबाही नभएको सम्बन्धमा सार्वजनिक एवम् सरकारी पदमा नियुक्त, निर्वाचित वा मनोनित भएकाहरू सबैको सम्पत्ति समेत छानबिन गरी कारबाही सिफारिस गर्न समेत यस आयोगको क्षेत्राधिकारभित्र हुनुपर्दछ ।

३. हाम्रो तेस्रो माग स्वतन्त्र र निष्पक्ष निर्वाचनको हो। यही २०८२ साल फागुन २१ (मार्च ५, २०२६) मा तय भएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनिश्चितता हुनुपर्दछ । यो अन्तरिम सरकारको सफलता यही निर्वाचनबाट मापन हुनेछ। स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु/गराउनु सरकारसँगै राजनीतिक दल, नागरिक समाज र सबै सम्बद्ध पक्षको पनि दायित्व हो । यस हिसाबले फागुन २१ मा चुनाव गराउने वातावरण सिर्जना गर्नु नै आन्तरिम सरकारका सँगै हामी सबैको साझा कर्तव्य हो।

उल्लिखित माग जेन-जी विद्रोहका म्यान्डेट हुन् । यसबाट पछि हट्ने छुट हामी कसैलाई पनि छैन । यी मागमा पछि हटेर कुनै पनि सम्झौता गर्न सकिँदैन ।
हामी हिजो पनि प्रष्ट थियौँ र आजपनि प्रष्ट छौँ । हामीले भाद्र २३ मा शुरू गरेको प्रदर्शन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधानका विरुद्धमा थिएन । हामी बहुदलीय व्यवस्थालाई समर्थन गर्छौँ र संविधानका आधारभूत स्तम्भहरू संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता र नेपाली जनतामा निहीत रहेको सार्वभौमसत्ता र राजकीयसत्ता लगायतका बुँदामा दृढतापूर्वक अडिग रहेका छौँ । यी संरचनाविरुद्ध जेन-जी विद्रोहका नाममा हुने/गर्न खोजिने कुनै पनि गतिविधिलाई हामी अस्वीकार गर्दछौँ ।

जेन-जी विद्रोह नागरिक सर्वोच्चताका लागि नागरिक अधिकार, भ्रष्टाचारविरुद्धको लडाइँ, अभिव्यक्ति स्वतन्त्रता, सुशासन र जवाफदेहिताको खोजीका लागि भएको हो । हाम्रो विद्रोहको मर्मलाई धमिल्याउँदै बदनाम गर्न प्रयास गर्ने र निजी स्वार्थ पूरा गर्न मुखुन्डो पहिरेर आउन खोज्ने अवसरवादी व्यक्ति र समूहका विरुद्ध हामी दृढतापूर्वक उभिनेछौँ ।

अतः हामी सबै साथीहरूलाई यस्ता किसिमका व्यक्ति, समूह र तिनले गर्ने गतिविधिबारे सजग रहन अनुरोध गर्दछौँ । हामी हाम्रा मागबारे भाद्र २३ मा पनि स्पष्ट थियौँ र आजपनि स्पष्ट छौँ । कुनै पनि योजनाबद्ध हिंसात्मक गतिविधि वा शान्ति सुव्यवस्थामा खलल पुर्‍याउन यस विद्रोहलाई बदनाम र दुरुपयोग गर्ने सबैका विरुद्ध हामी डटेर लड्नेछौँ । यस्ता प्रयासमा संलग्न नहुन र कुनै पनि योजनाबद्ध हिंसात्मक गतिविधिलाई समर्थन नगर्नहुन सम्पूर्णमा अनुरोध गर्दछौँ ।

मिति: २०८२ असोज १७