१६ असार २०८३, मंगलवार
,
Latest
रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

असी दिनपछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालन



अ+ अ-

खाँदबारी । कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका-३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो ।

लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ ।

स्थानीयवासी, निर्माण व्यवसायी र आयोजना कार्यालयको संयुक्त प्रयासमा सडक सञ्चालन गर्न सफल भएको आयोजनाका प्रमुख रामबहादुर गुरुङले बताउनुभयो । “कठिन भूगोल र लगातारको वर्षाका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो”, उहाँले भन्नुभयो, “करिब ८० दिनको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ ।”

सडकमा ढुङ्गा ‘सोलिङ’ र ‘ग्राभेलिङ’ कार्य सम्पन्न भइसकेको भन्दै उहाँले हाल एकतर्फी सवारी सञ्चालन भइरहेका जानकारी दिनुभयो । सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलमार्फत सवारीसाधन आवागमन सुरु भएका छन् ।

सडक बन्द रहँदा भोटखोला, मकालुलगायत दुर्गम क्षेत्रका बासिन्दा दैनिक उपयोग्य वस्तुको आपूर्ति, औषधि र निर्माण सामग्रीको अभावमा परेका थिए । यसअघि दैनिक आवागमनका साथै स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामासमेत पहुँच गुमाइएको स्थानीयले बताएका छन् । सडक सञ्चालनमा आएपछि खाँदबारीबाट भोटखोला, हटिया र थोगाङ खोलासम्म सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ ।

भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लामो अवरोधपछि सडक सञ्चालनमा आउँदा स्थानीयवासीमा खुसी छाएको बताउनुभयो । “करिब ८० दिनपछि सडक खुलेकामा हामी अत्यन्त खुसी छौंँ”, उहाँले भन्नुभयो, “अब पुनः अवरोध नहोस् भनेर स्थानीयस्तरबाट पनि संरक्षण र मर्मतमा जुट्नेछौँ ।”

कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग हो । यसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ । सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ ।