२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मूल्य खस्किएपछि अदुवा किसान मारमा



अ+ अ-

घोराही । यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ । यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नु पर्ने हो । तर बजार भाउ नभएका कारण खड्काले अदुवा अझै खन्नुभएको छैन ।

गत वर्ष यही याममा रु ५५ देखि ६० प्रतिकिलो अदुवा बेच्नुभएका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार भाउ रु ३० देखि ३५ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उहाँले बताउनुभयो ।

अन्य कृषि बाली छोडेर अदुवा रोप्नुभएका उहाँ यो वर्ष भाउ नपाउँदा निराश हुनुहुन्छ । खड्काले भन्नुभयो, “यो वर्ष अदुवा बिक्रीबाट लगानी पनि नउठ्ने अवस्था छ, बजार भाउ नपाउँदा यो वर्ष अझै खनेको छैन ।” बेमौसमी वर्षाले पनि अदुवामा केही क्षति गरेको उहाँ बताउनुहुन्छ । उहाँले गत वर्ष रु दुई लाखको अदुवा बिक्री गर्नुभएको थियो ।

छिल्लीकोटकै पलबहादुर खड्काले पनि गत वर्ष अदुवाले भाउ पाएको देखेर रु ५० हजारको बीउ किनेर अदुवा लगाउनुभयो । तर अहिले अदुवाको भाउ सुनेर उहाँ पनि निराश हुनुहुन्छ । बीउ किन्दाखेरिकै ५० हजारको सावाँब्याज अहिले रु ६५ हजार पुगेको छ । अदुवाको बीउ किन्दा लिएको ऋणको साँवाब्याज कसरी तिर्ने भन्ने पिरलो उहाँलाई छ ।

बजारमा व्यापारीले सस्तोमा भारतबाट अदुवा भित्र्याउँदा स्थानीयले उत्पादन गरेको अदुवा बिक्री नहुने अवस्था भएको छ । उहाँले भन्नुभयो, “बीउको ऋण तिर्न समस्या छ । अहिलेको अवस्थामा रहेको मूल्यमा अदुवा बिक्री गर्दा ऋण तिर्न पनि पुग्दैन ।” पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन् । तर मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताउनुहुन्छ ।

उहाँका अनुसार यहाँका स्थानीय ३०र३५ घरले अदुवाखेती गर्ने गरेका छन् । छिल्लीकोट क्षेत्रबाट मात्रै वार्षिक ६०० क्विन्टल बढी अदुवा बिक्री हुने गरेको छ । अदुवाको बजारीकरणमा स्थानीय सरकारले सहयोग गरेमा सहज हुने उनीहरुको आशा छ ।