२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ ।

सन्तनेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा ‘कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति भए कांग्रेसलाई निर्वाचनमा जान कुनै आपत्ती नभएको बताउनुभयो ।

“चुनावमा जान कांग्रेस तयार छ, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्छ, पाँच हजार कैदीबन्दी कारागार बाहिर रहेका छन्, ७०० भन्दा बढी प्रहरीका हातहतियार लुटिएका छन्, चुनावको नाममा धाँधली गरेर जित्ने छुट कसैलाई छैन, प्रहरीको मनोवल उच्च बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

निर्वाचन सम्पन्न गरेर मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने अहिलेको अवस्था रहेको उल्लेख गर्दै नेता डा कोइरालाले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो । पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय ढिलो आउँदा र क्रियाशील सदस्यताको फारम गाउँगाउँसम्म पठाउन ढिला हुँदा महाधिवेशन केही ढिला हुने सम्भावना रहेको उहाँको भनाइ थियो । नेपालको राष्ट्रियता कमजोर भएको कारण गत भदौ २४ को परिस्थिति आएको नेता डा कोइरालाले बताउनुभयो । उहाँले राजनीतिक स्थिरता अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो ।

नेता डा कोइरालाले कांग्रेसका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणालगायतका नेताको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको भन्दै उक्त अनुसन्धानका लागि आफ्नोतर्फबाट साथ र सहयोग हुने उल्लेख गर्नुभयो । आफूले सुशासन र भ्रष्टाचारको अन्त्यलाई प्रमुख मुद्दा बनाउँदै आएको स्मरण गर्दै अहिलेका जेनजी पुस्ताले पनि त्यही खोजेको उहाँको भनाइ थियो ।

संविधानविद् प्रा डा विपिन अधिकारीले किसुनजी विपी कोइरालाको सहयात्री, प्रजातान्त्रिक नेता, लेखक र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्ति भएको बताउनुभयो । उहाँले कृष्णप्रसाद भट्टराई दूरदर्शी नेता भएको उल्लेख गर्नुभयो ।

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले किसुनजी सरल र आदर्शवादी व्यक्ति भएको बताउनुभयो । किसुनजीको व्यक्तित्व विशाल भए पनि तीन निर्वाचनमा पराजय भोग्नु दुःखद् भएको उहाँको भनाइ थियो । उहाँले नेपालको राजनीति मूल्य मान्यता खस्कँदै गएको उल्लेख गर्दै नोट र भोटको सम्बन्ध तोड्नुपर्ने धारणा राख्नुभयो ।

सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रका अध्यक्ष लोकेश ढकालले निष्ठा, सदाचार मूल्य मान्यता र आदर्श भएका नेता किसुनजीलाई कांग्रेसले सम्झन नसेकेको बताउनुभयो । कांग्रेसले नीति र नेतृत्व परिवर्तन गरेर आगामी निर्वाचनमा जानुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा रवीन्द्र उप्रेती र उहाँकी धर्मपत्नी देवा उपाध्यायद्वारा लिखित ‘किसुनजी प्रेरणादायी प्रसङ्ग’ नामक पुस्तकको विमोचन गरिएको थियो । रासस