राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र गुरुङले निर्वाचनका लागि मात्रै निर्वाचन गराउनेतर्फ सरकार लाग्न नहुने बताउनुभएको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चाारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले फागुन २१ गते हुने निर्वाचनबारे सरकारको तयारी अझै पुग्न नसकेको बताउनु भयो । सरकार राजनीतिक दलका कार्यालयमा पुगेर निर्वाचन गराउने हेतुले राजनीतिक संस्कार देखाउनु राम्रो रहेको पनि बताउनु भयो । यसले परिस्थितिलाई सहज बनाउने र निर्वाचनको माहोललाई सुमधुर बनाउने काम गरेको उल्लेख गर्नुभयो । निर्वाचन मुलुकको बेथिति र समस्यालाई समाधान गर्ने हुनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘फागुन २१ गते हुने निर्वाचनको सम्बन्धमा सरकारको तयारी, मुलुकको अवस्थाबारे जानकारी दिने उद्देश्यले आउनुभएको छ । उहाँहरुले राजनीतिक संस्कार देखाउनुभएको छ । यसले परिस्थितिलाई सहज बनाउने र निर्वाचनको माहोललाई सुमधुर बनाउने काम भएको छ । निर्वाचनले मुलुकको बेथिति र समस्यालाई समाधान गर्ने हुनुपर्छ । निर्वाचनका लागि मात्रै निर्वाचन हुनु हँदैन । अहिलेको चुनावी प्रक्रिया नै गलत छ । यसलाई सच्याउन राजासहितको राजनीतिक दल र जेन–जी पुस्तासँग संवाद र सम्झौता गरेर अघि बढ्ने प्रश्ताव राखेका छौँ ।’
नेता गुरुङले राजासहितको राजनीतिक दल र जेन–जी पुस्तासँग संवाद र सम्झौता गरेर अघि बढ्ने प्रश्ताव आफूहरुले सरकारका मन्त्रीहरुसँग राखेको बताउनु भयो ।












