२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकताको सहमति



अ+ अ-

काठमाडौँ : राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकता गर्ने सहमति भएको छ ।

बुधवार साँझ राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई नेताहरुबीच पार्टी एकता गर्ने सहमति भएको हो । सहमतिले राजावादी तथा राष्ट्रवादी शक्तिहरूबीचको विभाजन अन्त्य गरी एकीकृत रूपमा अघि बढ्ने बाटो खोलेको छ । बैठकले एकता सहमति पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

सहमति पत्रमा थापा र लिङदेन दुवैले हस्ताक्षर गर्नुभएको छ । एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभागृहमा हुने जनाइएको छ । सहमतिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले जेन–जी युवाहरुको आन्दोलनले नेपालको समग्र राजनीतिमा तरंग पैदा गरेको बताउनु भयो । उहाँले राष्ट्रवादी शक्तिहरु एकतावद्ध हुनु महत्वपूर्ण रहेको र आवश्यकता रहेको पनि बताउनु भयो । जेन–जी आन्दोलनले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन दिनुपर्ने माग राखेको बताउनु भयो । भ्रष्टाचारको अन्त्य र सुशासन राष्ट्रवादी शक्तिले मात्रै पूरा गर्ने बताउनु भयो । उहाँले राष्ट्रवादी शक्तिहरुलाई एक ठाउँमा आउन आह्वान समेत गर्नुभयो ।

२०७८ मंसिरमा राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल पुनर्जागरण गर्नुभएको थियो । त्यसयता दुवै पार्टी अलग–अलग सक्रिय थिए । आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राजावादी शक्तिहरूको एकताले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।

यो एकताले राप्रपालाई थप सशक्त बनाउने र राष्ट्रिय एजेन्डाहरूमा एकीकृत आवाज उठाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् । एकता प्रक्रियाले पार्टीभित्र नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल