काठमाडौँ । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको एशेज सिरिजको चौथो टेस्ट मेलबर्नमा जारी छ।
खेलको पहिलो दिन शुक्रबार इंग्ल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्यो। अष्ट्रेलिया पहिलो इनिङ्समा १५२ रनमै अलआउट भयो भने इंग्ल्यान्डको टोली ११० रनमै सिमित रह्यो। यसरी अष्ट्रेलियाले पहिलो इनिङ्समा ४२ रनको अग्रता बनाएको छ।
अष्ट्रेलियाको पहिलो इनिङ्स ४५.२ ओभरमा समाप्त भयो भने इंग्ल्यान्डको पहिलो इनिङ्स २९.५ ओभरमा सकियो। अर्थात् ७५.१ ओभरभित्र २० विकेट खसे।
त्यसपछि स्टम्प्ससम्म अष्ट्रेलियाले दोस्रो इनिङ्समा १ ओभर खेल्दै बिना विकेट ४ रन बनाएको छ। ट्राभिस हेड र स्कट बोल्यान्ड नटआउट फर्किए। अब खेलको दोस्रो दिन शनिबार बिहान सवा ५ बजे सुरु हुनेछ।
अष्ट्रेलिया १५२ रनमा अलआउट
बक्सिङ–डे टेस्टमा पहिले ब्याटिङ गर्न उत्रिएको अष्ट्रेलियाको सुरुआत निकै खराब रह्यो र ९१ रन बनाउँदासम्म उसले ६ विकेट गुमाइसकेको थियो।
टोलीका अन्तिम तीन विकेट कुनै रन नजोडीकनै खसे। अष्ट्रेलियातर्फ माइकल नेसरले सर्वाधिक ३५ रन बनाए भने उस्मान ख्वाजाले २९ र एलेक्स केरीले २० रन जोडे। टोलीका पाँच ब्याट्सम्यान दोहोरो अंकमा समेत पुग्न सकेनन्।
इंग्ल्यान्डको बलिङमा जोश टंग सबैभन्दा सफल रहे र उनले ५ विकेट लिए। गस एटकिन्सनले २ विकेट लिए भने ब्रायडन कार्स र कप्तान बेन स्टोक्सले १–१ विकेट हात पारे।
जोश टंगको बलमा स्टिभ स्मिथ क्लिन बोल्ड भए। बल सिधै मिडल स्टम्पमा लाग्यो। यसरी स्मिथ ३१ बलमा ९ रन बनाएर आउट भए र उनी स्वयं पनि यो आउटबाट अचम्मित देखिए।
इंग्ल्यान्डको सुरुआत अत्यन्तै खराब
इंग्ल्यान्डको सुरुआत अष्ट्रेलियाभन्दा पनि खराब रह्यो। टोली १६ रन पुग्दासम्म चार विकेट गुमाइसकेको थियो। ज्याक क्रलीले ५ रन, बेन डकेटले २ रन र ज्याकब बेथेलले मात्र १ रन बनाएर आउट भए। जो रुट त खाता नै खोल्न सकेनन्। मिचेल स्टार्कले क्रली र डकेटलाई आउट गरे भने नेसरले बेथेल र रुटको विकेट लिए।
यसपछि पाँचौँ विकेटका लागि ह्यारी ब्रूक र बेन स्टोक्सले अर्धशतकीय साझेदारी गरे। त्यसपछि ब्रूक आउट भए। उनले मात्र ३४ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाए।
ब्रूक आउट भएपछि फेरि विकेट पतनको सिलसिला सुरु भयो। जेमी स्मिथ २ रन र विल ज्याक्स ५ रन बनाएर छिट्टै पवेलियन फर्किए र इंग्ल्यान्डको टोली ११० रनमै अलआउट भयो। अष्ट्रेलियातर्फ माइकल नेसरले ४, स्कट बोल्यान्डले ३ र मिचेल स्टार्कले २ विकेट लिए। क्यामरुन ग्रीनले १ विकेट लिए।
एशेज सिरिज अष्ट्रेलियाले जितिसक्यो
अष्ट्रेलियाले एशेज सिरिज पहिल्यै जितिसकेको छ। पाँच खेलको यस सिरिजमा अष्ट्रेलियाले सुरुआती तीनवटै टेस्ट जित्दै ३–० को अपराजित अग्रता बनाएको छ।
कमिन्स र लायन सिरिजबाट बाहिर
अष्ट्रेलियाका नियमित कप्तान प्याट कमिन्स तेस्रो टेस्ट खेलेपछि चोटका कारण सिरिजबाट बाहिरिएका छन्। उनको स्थानमा स्टिभ स्मिथले टोलीको कप्तानी गरिरहेका छन्। त्यस्तै अनुभवी स्पिनर नेथन लायन पनि चोटका कारण बाहिर छन् र उनको शल्यक्रिया भइसकेको छ।
बक्सिङ–डे टेस्ट भनेको के हो ?
बक्सिङ-डे टेस्ट क्रिकेट इतिहासमा केही टोलीहरूको परम्परा हो। यसको बक्सिङ वा मुक्केबाजीसँग कुनै सम्बन्ध छैन। क्रिसमसको भोलिपल्ट अर्थात् २६ डिसेम्बरमा मानिसहरूले एक–अर्कालाई डब्बा (बक्स) मा उपहार दिने चलन छ। त्यसैले यो दिनलाई बक्सिङ–डे भनिन्छ र यस दिन खेलिने टेस्ट खेललाई बक्सिङ–डे टेस्ट भनिन्छ।











