मोरङ। कोशी प्रदेश सरकारले सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा कामकाजमा खटाउने निर्णय भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज बसेको बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ लाई स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
बैठकले कोशी जनता आवास कार्यक्रम कार्यविधिलाई प्रदेश सरकार प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने निर्णय गरेको छ भने सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि, २०८२ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता मन्त्री भण्डारीले जानकारी दिनुभयो । रासस












