२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वदेशी उत्पाददन र उद्यमशीलताबाट मात्रै मुलुकको समृद्धि सम्भव छ’



अ+ अ-

लुम्बिनी। निजी क्षेत्रका प्रतिनिधि, उद्योगी, व्यवसायी, अर्थशास्त्री, नीति निर्मातालगायतले स्वदेशी उत्पादन र उद्यमशीलताबाट मात्रै मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् ।

रुपन्देही उद्योग सङ्घद्वारा सञ्चालित १६औँ औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवसरमा आज आयोजित ‘समृद्ध नेपालीको आधारः स्वदेशी उद्यमशीलताको विस्तार–समस्या र समाधान’ विषयक अन्तरसंवादमा वक्ताहरूले राजनीतिक अस्थिरता, नीतिगत अन्योल, कमजोर प्रशासनिक संरचना र स्वदेशी उत्पादनप्रति राज्यको उदासीनताका कारण अर्थतन्त्रको अवस्था सङ्कटतर्फ धकेलिएको निष्कर्षसमेत निकालेका छन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंककी कायममुकायम गर्भनर डा निलम ढुङ्गानाले राजनीतिक प्रभावले अर्थतन्त्रमा असर पार्ने कुरा स्वभाविक भएको बताउनुभयो । उहाँले आर्थिक परिसूचक राम्रो र विदेशी विनिमय सन्तुलन ठीक देखिए पनि मुद्रास्फीति भारतभन्दा कम रहेको र राजस्व र खर्च उत्साहजनक नदेखिएको बताउनुभयो ।

“बैंक ब्याजदर न्यूनतम भए पनि बैंकमा रकम थुप्रिएको र कर्जा माग नआएको अवस्था छ । पर्यटन राम्रै छ, वैदेशिक रोजगारीले रेमिट्यान्स टिकाएको छ, जलविद्युत् उत्पादन बढ्दैछ, तर यी दीर्घकालीन समाधान होइनन्, त्यसैले बजेटभन्दा बढी अर्थनीतिमा सुधार आवश्यक छ”, डा ढुङ्गानाले भन्नुभयो ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा डिल्लिराज अर्यालले प्रदेश सरकारले तथ्यमा आधारित योजना बनाएर काम गरिएको बताउनुभयो । “कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएर बजेट बनाइएको छ, तर प्रदेशको दायरा सीमित छ, केन्द्र सरकारमा निर्भरता बढी छ”, उहाँले भन्नुभयो,“यस्तो अवस्थामा निजी क्षेत्रसँग सहकार्य गर्दै अनुसन्धानमूलक कार्यक्रम अघि बढाउनुपर्ने छ । सङ्घीय संरचनाप्रति रहेको वितृष्णा कम गर्नुपर्ने छ ।”

अर्थविद् डा केशव आचार्यले अर्थतन्त्र बाहिर चम्किलो देखिए पनि भित्र कमजोर रहेको बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रलाई ‘कस्तुरीको नाभीजस्तै’ भएको संज्ञा दिँदै बाहिर सूचक राम्रो देखिए पनि अर्थतन्त्र कमजोर बनेको विषयमा ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

“केही वर्षयता आयात–निर्यात सामान्य देखिए पनि उत्पादन, रोजगारी र आन्तरिक माग कमजोर अवस्थामा छ । राजनीतिक अस्थिरताले सधैँ आर्थिक वृद्धिदरमा असर गरेको इतिहास छ ।

जेनजी आन्दोलनपछि त्यो अझ बढ्यो”, उहाँले भन्नुभयो, “उद्यमशीलतालाई सम्मान गर्ने संस्कार नै विकास भएन । आन्दोलन हुँदा निजी क्षेत्रमाथि आक्रमण किन हुन्छ भन्ने प्रश्नमा राज्य गम्भीर हुनुपर्छ । हिजो निर्यात गरिरहेका उद्योग किन धरासायी भए भन्ने विषयमा गहिरो आत्मसमीक्षा हुनुपर्छ ।”

नेपाल उद्योग परिसङ्घका अध्यक्ष इ वीरेन्द्र पाण्डेले निजी क्षेत्रको मनोबल खस्किएको र यो सामान्य विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई हेर्ने समग्र समाजको दृष्टिकोण नै सकारात्मक छैन । राजनीतिक अस्थिरता बढ्दा मुख्य दोषी निजी क्षेत्रजस्तो व्यवहार गरिन्छ”, उहाँले भन्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी अध्यक्ष टङ्कप्रसाद पोखरेलले सरकार फेरिँदा योजना फेरिने प्रवृत्तिले निजी क्षेत्र हैरान भएको सुनाउनुभयो । उद्योग वाणिज्य सङ्घ लुम्बिनीका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले स्वदेशी उत्पादन प्रयोगको कठोर नीति नआएकामा सरकार र उपभोक्ता दुवै दोषी रहेको धारणा राख्नुभयो ।

व्यवसायी मन्जु भुसालले निर्माण व्यवसायीले भुक्तानी र धरौटी रकम नपाएर ठूलो सङ्कट भोगिरहेको गुनासो गर्नुभयो । पाल्पाका उद्योगी समुद्र घिमिरेले गाउँ फर्क अभियान, रैथाने उत्पादनको ब्राण्डिङ र धार्मिक पर्यटन पुनर्जीवनको आवश्यकता औँल्याउनुभयो ।

उद्योगी निश्चल खनालले सरकारी कार्यालयमै स्वदेशी उत्पादनलाई बेवास्ता गरिने व्यवहारप्रति प्रश्न उठाउनुभयो । उद्योगी बालाराम भट्टराईले नीतिगत कमजोरीकै कारण रोजगारी र राजस्व दुवै गुम्ने अवस्था सिर्जना भएको धारणा राख्नुभयो ।

सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले अन्तरसंवादले निराशा होइन, नीति र समन्वयको खाँचो रहेको निष्कर्ष निकालेको बताउनुभयो ।

कार्यक्रमका अन्य सहभागीहरूले स्वदेशी उत्पादन, उद्यमशीलताको सम्मान, स्थिर नीति, अन्तरनिकायगत समन्वय र कार्यान्वयनमुखी दृष्टिकोणबिना समृद्धि सम्भव नरहेको विषयमा जोड दिएको महासचिव सुमन बस्यालले जानकारी दिनुभयो ।रासस




भर्खरै