काठमाडौँ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा रहेको उल्लेख गरेको छ।
फागुन २१ गतेका लागि तय भएको निर्वाचनअघि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध हुन सहमत भएका छन्। यससँगै रास्वपाले उनलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
तीन दशकदेखि सत्तामा प्रभाव जमाउँदै आएका परम्परागत दलहरूलाई चुनौती दिन बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने बीच गठबन्धन तय भएको हो। रोयटर्सले रास्वपा–बालेन सहमतिअनुसार चुनावमा रास्वपाले बहुमत हासिल गरेमा ३५ वर्षीय बालेन शाह प्रधानमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गरेको छ। लामिछाने भने पार्टी सभापतिकै भूमिकामा रहनेछन्।
समाचारमा पूर्व टेलिभिजन प्रस्तोता लामिछाने र र्यापरबाट राजनीतिमा आएका बालेन शाहको सहकार्यलाई नेपाली राजनीतिमा रणनीतिक मोडका रूपमा व्याख्या गरिएको छ। यो गठबन्धन गत सेप्टेम्बरमा भएको युवाहरूको ठूलो प्रदर्शनको पृष्ठभूमिमा बनेको बताइएको छ।
भ्रष्टाचारविरुद्ध भएको उक्त आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएको र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएको रोयटर्सले लेखेको छ। आन्दोलनका अघोषित नेताका रूपमा बालेन शाहलाई प्रस्तुत गर्दै, उनको सहयोगमा निर्वाचन सम्पन्न गराउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्की को नेतृत्वमा अन्तरिम सरकार गठन भएको पनि समाचारमा उल्लेख छ।
विश्लेषक विपिन अधिकारीले रोयटर्ससँग भनेका छन्, “बालेन र उनका युवा समर्थकहरूलाई आफ्नो पक्षमा ल्याउनु रास्वपाको निकै स्मार्ट कदम हो। पुराना दलहरू आफ्ना युवा मतदाता गुम्ने डरले अहिले चिन्तित देखिन्छन्।”
यस्तै, सोमबार मात्रै कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसमेत रास्वपामा समाहित हुने सहमति भएको छ। यससँगै रास्वपा वैकल्पिक राजनीतिक शक्तिको बलियो धारका रूपमा उदाएको रोयटर्सको विश्लेषण छ।












