काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेसनलिस्ट पार्टीका अध्यक्ष बेगम खालेदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ।
बिबिसिका अनुसार, लामो समयदेखि बिरामी भएकी उनको आज बिहान निधन भएको हो । उनी बंगलादेशको पहिलो महिला प्रधानमन्त्री थिइन् ।
खालेदा चार दशकभन्दा बढी समयदेखि बंगलादेशको राजनीतिमा सक्रिय थिइन् । सन् १९८१ मा जियाउर रहमान (खालेदाका पति) बंगलादेशका राष्ट्रपतिमा बहाल रहेकै बेला उनको हत्या भएको थियो । खालेदा सन् १९९१ मा बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।
त्यसपछि उनी सन् २००१ मा सत्तामा फर्किएकी थिइन् । सन् २००६ सम्म खालेदाले सरकारको नेतृत्व गरेकी थिइन् ।
बीएनपीले बंगलादेशमा सम्पन्न पछिल्ला तीन निर्वाचन बहिष्कार गरेको थियो । सन् २०२४ मा तत्कालीन प्रधनमन्त्री शेख हसिनाविरूद्ध सुरू भएको विद्यार्थी आन्दोलनलाई खालेदाले समर्थन गरेकी थिइन् ।
बंगलादेशी राजनीति दशकौँसम्म दुई महिला (बेगम खालेदा र शेख हसिना) बीचको कटु वैमनस्यताले परिभाषित हुँदै आएको थियो, जसमा उनीहरू पालैपालो सरकार र प्रतिपक्षको भूमिकामा रहँदै आएका थिए।
उनको राजनीतिक जीवन भ्रष्टाचारका आरोप र सत्ताच्युत भइसकेकी अवामी लिग नेतृ शेख हसिनासँगको लामो समयदेखिको राजनीतिक प्रतिस्पर्धाले प्रभावित रह्यो। गत वर्ष एक भिषण आन्दोलनपछि शेख हसिना प्रधानमन्त्री पदबाट हटाइएकी थिइन् र उनी १५ वर्षदेखिको सत्ताबाट बिमुख भएर भारत निर्वासन हुन बाध्य भएकी थिइन् ।
हसिनाको शासनकालमा सन् २०१८ मा जियालाई भ्रष्टाचारको आरोपमा जेल हालिएको थियो। तर जियाले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै ती आरोप राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएकी थिइन्।
गत वर्ष बंगलादेशमा सरकारविरुद्ध व्यापक जनआन्दोलन भएपछि शेख हसिना सत्ताच्युत भई देश छोड्न बाध्य भइन् । त्यसपछि जियालाई रिहा गरिएको हो। बिएनपीले नोभेम्बरमा जिया आगामी आम निर्वाचनमा चुनावी अभियानमा सक्रिय हुने जनाएको थियो।
बिएनपी पुन: सत्तामा फर्किने प्रयासमा रहेको छ। यदि त्यो सम्भव भएमा जियाका छोरा तारिक रहमान देशका नयाँ नेता बन्ने अपेक्षा गरिएको छ।
६० वर्षका रहमान १७ वर्षसम्म लण्डनमा स्वेच्छिक निर्वासनमा बसेपछि गत साता अर्थात् डिसेम्बर २५ मा बंगलादेश फर्किएका थिए । उनी स्वदेश फर्किएको पाँच दिनपछि खालिदाको निधन भएको हो ।












