काठमाडौं: इङलिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा लिगको पुछारमा रहेको उल्भ्सले म्यान्चेस्टर युनाइटेडलाई बराबरीमा राखेर स्तब्ध बनाएको छ ।
युनाइटेडका बेन्जामिन सेस्को, प्याट्रिक डोर्गु समेतका खेलाडीले उल्भ्समाथि एकपछि अर्को आक्रमण गरे पनि गोल हुन सकेको थिएन । तर खेलको २७औं मिनेटमा डिबक्स भित्र जोसुआ जेर्कीले प्रहार गरेको बल उल्भ्सका खेलाडीलाई लागेर डिफ्लेक्ट हुँदै गोलपोस्ट भित्र छिरेको थियो ।
त्यसपछि पनि युनाइटेडका धेरैवटा उत्कृष्ट प्रहारलाई उल्भ्सका गोलकिपरले सुन्दर बचाउ गरेका थिए । कतिपय प्रहार गोलपोस्टमा लागेर फर्किएका थिए ।
यहीबीच ४५औं मिनेटमा उल्भ्सले पाएको कर्नरमा उत्कृष्ट हेड गर्दै लेडिस्लाभ क्रेज्कीले गोल गरे । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन ।
युनाइटेडका प्रशिक्षक अमोरिमले आफ्ना खेलाडीले निकै राम्रो खेले पनि नतिजा आफ्नो पक्षमा नआएकामा दु:ख लागेको बताए ।
यस बराबरीसँगै युनाइटेडले १९ खेलबाट ३० अंक बटुलेको छ र अंक तालिकाको छैटौं स्थानमा छ । उल्भ्स भने १९ खेलबाट ३ अंक सहित बिसौं स्थानमा छ, र उल्भ्स यस सिजन रेलिगेसनमा पर्ने सम्भावना बढेर गएको छ ।












