लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धिका लागि लगानीको वातावरण निर्माण हुनुपर्ने बताउनुभएको छ ।
उहाँले जबसम्म लगानीको वातावरण बन्दैन, तबसम्म समृद्धिको आकांक्षा पूरा हुन नसक्नेसमेत स्पष्ट पार्नुभएको छ । लगानीमैत्री वातावरण सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएकाले यसलाई सरल, सहज र विश्वासयोग्य बनाउनुपर्ने मुख्यमन्त्री आचार्यले उहाँको भनाइ छ ।
बुटवलमा सञ्चालन भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ को आज समापन कार्यक्रममा उहाँले लगानीको वातावरण मिलाउन नसकिए देशको उन्नति, समृद्धि र विकास सम्भव नहुने बताउनुभयो ।
“प्रदेश सरकारले लगानीको वातावरण बनाउने विषयलाई गम्भीर रूपमा बुझेको छ । उद्योगी व्यवसायीले भोग्ने समस्या समाधान गर्न प्रदेश सरकार सधैँ तयार छ”, मुख्यमन्त्री आचार्यले भन्नुभयो ।
उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने काम कसैले गर्न नहुने बताउँदै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार सधैँ उद्योगी र व्यवसायीको पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो ।
बुटवललाई आर्थिक हबको रूपमा विकास गर्न उद्योगी व्यवसायीको योगदान आगामी दिनमा निरन्तर रहने विश्वास व्यक्त गर्दै उहाँले प्रदेश सरकार सधैँ उद्योगी व्यवसायीको पक्षमा उभिने स्पष्ट पार्नुभयो । “उद्योगी व्यवसायीले भोग्ने कठिनाइ समाधान गर्न प्रदेश सरकार साथमै छ । सधैँ अग्रणी मोर्चामा उभिएको छ”, उहाँले भन्नुभयो ।
रुपन्देही उद्योग सङ्घको आयोजनामा सञ्चालन भएको महोत्सवको समापन कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रदेशसभा सदस्य विष्णु पन्थी, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रुपन्देही व्यापार सङ्घका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष बाबुराम बोहोरा, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महोत्सव यही पुस ३ गतेदेखि सुरु भएको थियो । महोत्सवमा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० व्यावसायिक कक्ष रहेका थिए । महोत्सव अवधिभर करिब आठ लाख दर्शकले अवलोकन गरेको र करिब रु ३० करोडको कारोबार भएको समापन समारोहमा महासचिव सुमन बस्यालले जानकारी दिनुभयो । रासस












