स्ट्रासबर्गका प्रशिक्षक लियम रोसेनियर चेल्सी फुटबल क्लबको मुख्य प्रशिक्षक पदका लागि प्रमुख दावेदारका रूपमा अगाडि आएका छन्।
चेल्सीले प्रिमियर लिग समेतका प्रमुख खेल प्रतियोगिताहरुमा लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक इन्जो मारेस्काले क्लबको व्यवस्थापनसँग्को आन्तरिक तनाबका कारण स्वेच्छिक रुपमा बिहीबार पदबाट राजीनामा दिएका थिए । उनी लेस्टर सिटीका पूर्व प्रशिक्षक पनि हुन् ।
इटालियन प्रशिक्षक मारेस्काको स्थानपूर्तिका लागि प्रक्रिया सुरु भइसकेको छ। यस सन्दर्भमा अंग्रेज प्रशिक्षक रोसेनियर अग्रपंक्तिमा रहे पनि अन्य उम्मेदवारहरू पनि विचाराधीन रहेको स्रोतहरूले बताएको बिबिसिले जनाएको छ ।
यसअघि हल सिटीका प्रशिक्षक रहेका ४१ वर्षीय युवा रोसेनियरले चेल्सीभित्र उल्लेखनीय समर्थन पाएका छन् । उनको सम्भावित प्रस्थानलाई ध्यानमा राख्दै स्ट्रासबर्गले पनि नयाँ प्रशिक्षकको खोजी सुरु गरेको बुझिएको छ।
यस्तै, पोर्तोका प्रशिक्षक फ्रान्चेस्को फारिओलीलाई पनि चेल्सीका लागि सम्भावित उम्मेदवारका रूपमा हेरिएको छ।
सन् २०२४ मा मारेस्कालाई नियुक्त गर्नुअघि चेल्सीले मार्सेका प्रशिक्षक रोबर्टो जर्बी, इप्सविच टाउनका किरन म्याककेना तथा त्यतिबेला ब्रेन्टफोर्डमा रहेका (हाल टोटनहम पुगेका) थोमस फ्राङ्कसँग अन्तर्वार्ता लिएको थियो।
यसअघि बोर्नमाउथका प्रशिक्षक एन्थोनी इराओला र फुलहमका मार्को सिल्भालाई पनि चेल्सीसँग जोडिएको थियो, यद्यपि हाल उनीहरू विचाराधीन छन् वा छैनन् भन्ने स्पष्ट छैन।
चेल्सी अन्डर–२१ टोलीका मुख्य प्रशिक्षक कालम म्याकफार्लेनले आइतबार म्यानचेस्टर सिटीविरुद्धको खेलमा टोलीको नेतृत्व गर्नेछन्।












