काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीमा रहेका आशिफ साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
साहले प्रत्यक्ष निर्वाचनमार्फत जनताको बीचमा उभिएर उम्मेदवारी दिने तयारी पूरा रहेको जनाउँदै काठमाडौँ–५ बाट प्रत्यक्ष चुनाव लड्न तयार रहेको घोषणा पनि गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै उनले जनताको भावना र पार्टीभित्र उठेको आवाजलाई सम्मान गर्दै समानुपातिक सूचीबाट पछि हट्ने निर्णय गरेको बताएका हुन्।
साहले आफू सक्रिय राजनीतिमा नलागे पनि देश निर्माणप्रति गहिरो चासो रहेको उल्लेख गरेका छन्। बालेन–रवि–कुलमानबीच सहकार्य सम्भव होस् भन्ने उद्देश्यले भएका प्रयासहरूमा आफू नजिकबाट संलग्न रहेको र सोही भूमिकाका कारण साथीहरूको आग्रहमा सांसदको बन्द सूचीमा नाम समावेश गरिएको उनको भनाइ छ।
तर उम्मेदवारी दर्तापछि आएका समाचार, जनताबाट व्यक्त प्रतिक्रिया तथा पार्टीभित्रका साथीहरूको भावनाले आफूलाई आत्ममन्थन गर्न बाध्य बनाएको साहले बताएका छन्। ‘नियत सही हुँदाहुँदै पनि कतै न कतै गल्ती भएको अनुभूति भयो,’ उनले लेखेका छन्।
उनले लेखेका छन्:
उम्मेदवारी फिर्ता लिएको बारे
राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म। तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ।
आम जनताको चाहना अनुरूप बालेन–रवि–कुलमानको मिलन सम्भव होस् भनेर गरिएका प्रयासहरूलाई नजिकबाट मूल्याङ्कन गर्ने साथीहरू यसका साक्षी छन्। त्यही मिहिनेतलाई देखेर साथीहरूले मलाई “सांसद बन्नुपर्छ” भन्दै सूचीमा नाम समावेश गर्नुभयो।
म राजनीतिमा यदि आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिन चाहन्छु भनेर स्पष्ट रूपमा भनेको थिएँ। तर साथीहरूको सुझाव थियो—देशव्यापी चुनावी अभियान आवश्यक छ, त्यसैले अहिले समानुपातिक प्रणालीमै अघि बढ्नुपर्छ।त्यसै अनुरूप समानुपातिक प्रणाली अन्तर्गत मेरो उम्मेदवारी दर्ता भयो।
तर त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो।सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो।
देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु।
तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।
यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु
साथै, जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु।
प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ—
प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ—उठ्ने नै हो।
हामी काठमाडौँ–५ बाट
प्रत्यक्ष उम्मेदवारी दिन
पूर्ण रूपमा तयार छौं।
देशभन्दा ठूलो केही हुँदैन।












