१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन व्यवसायीको समस्या समाधान गर्न वाग्मती प्रदेश सरकार तयार छः पर्यटनमन्त्री श्रेष्ठ



अ+ अ-

काठमाडौँ। वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नेपालको आर्थिक उन्नति पर्यटन व्यवसायबाट मात्र सम्भव रहेको बताउनुभएको छ ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आईतवार आयोजित ५८ औँ वार्षिकोत्सवमा उहाँले पर्यटन व्यवसाय फस्टाउन नसकेसम्म देशको आर्थिक उन्नति सम्भव नहुने बताउनुभएको हो । उहाँले प्रदेश सरकार पर्यटन क्षेत्रका व्यवसायीहरुको समस्यालाई समाधान गर्न तयार रहेको बताउनु भयो । उहाँले बागमती प्रदेशका १३ वटै जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनु भयो । प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर यस क्षेत्रका समस्या समाधान गर्न तयार रहेको उहाँको भनाइ थियो । पर्यटन व्यवसाय अत्यन्त संवेदनशील रहेको उल्लेख गर्नुहुदै उहाँले ऐन–कानुन तथा विभिन्न राजनीतिक गतिविधिका कारण व्यवसायीले समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो आर्थिक उन्नतीबाटो तर्फ लाग्ने व्यवसाय भनेको नै पर्यटन व्यवसाय हो । यो व्यवसायलाई जबसम्म फस्टाउने बनाउन सक्दैनौ, व्यवसायीहरुलाई सहजीकरण गरेर सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाउन सक्दैनौ । तलबसम्म यो देशको आर्थिक उन्नति हुन्छ भन्ने कुरामा म चाँही विश्वस्त छैन । यो देशको आर्थिक उन्नती गर्ने सम्भवना भएको पर्यटकीय क्षेत्र नै हो । यहाँ अन्य आय गर्ने कार्यमुलक क्षेत्रहरु छैनन् । पर्यटन क्षेत्रमा व्यवसायीहरुले अफ्ठ्यारा भोगेका कुराहरु मैले सुने, मैले सकेसम्म सहजीकरण गर्ने गरेको छु । यहाँ कतै सरकारका ऐन कानूनहरुबाट पनि व्यवसायीलाई समस्या छ, राजनितिक गतिविधिबाट पनि व्यवसायीहरुलाई समस्या छ । पर्यटकीय व्यवसाय भनेको एकदमै संवेदनशील व्यवसाय रहेछ । सानो सानो कुराले पनि यस क्षेत्रलाई असर गर्ने रहेछ । वागमति प्रदेशभित्र पर्यटनको प्रचुर सम्भवना छ । यहाँ भएका १३ वटा जिल्ला पर्यटकीय क्षेत्रमा प्रचुर सम्भवना भएका क्षेत्र हो । पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरुसंग प्रदेश सरकार सहकार्य गरेर काम गर्न पुर्ण रुपमा तयार छ । संघिय सरकारको कुरा मैले भन्न सक्दिन, बाग्मति प्रदेश सरकार पर्यटकीय क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई सहजीकरण गरेर तपाईहरुको अफ्ठ्यारो, गाह्रो साघुरो फुकाउन, समस्या समाधान गर्न पुर्ण रुपमा तयार छ ।’ 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जान श्रेष्ठले पोखरा र भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा पर्यटन क्षेत्रमा ठूलो नोक्शानी भइरहेको बताउनु भयो । विमानस्थल बनेपछि निजी क्षेत्रले होटल र पूर्वाधारमा ठूलो लगानी गरेपनि संचालनमा नआउदा व्यवसायी समेत मारमा परेको उहाँको भनाई छ । उहाँले अन्तर्राष्ट्रिय उडान नहुँदा ती लगानी जोखिममा परेकोले वमानस्थल सञ्चालनमा विशेष ध्यान दिन सरकारसंग आग्रह गर्नुभयो । उहाँले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिन पनि सरकारसंग माग गर्नुभयो । पर्यटन क्षेत्रलाई उद्योग भनिएपनि उद्योगसरह कानुनी मान्यता नपाएको उहाँको भनाई छ । उहाँले दीगो पर्यटन र गुणस्तरीय पर्यटन विकासको लागी ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो । निजी क्षेत्रको लगानीमा सुरक्षा चुनौती ठुलो रहेको बताउनुहुँदै उहाँले सुरक्षाको प्रत्याभुति गराउन पनि सरकारसंग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भईरहेको पुर्वाधारलाई कसरी प्रयोग गर्ने भन्ने चुनौती छ । पोखरा र भैरहवामा अन्तार्राष्ट्रिय उडान हुने भनेर विमानस्थलहरु बने तर ती पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन । ती विमानस्थलहरु पुर्ण रुपमा संचालन हुन नसक्दा नेपाल आउन चाहने पर्यटकहरु आउन सकेका छैनन् । त्यसकारण भैरहवा र पोखराको विमानस्थल संचालन गर्नलाई सरकारले विशेष ध्यान दिनुपर्छ, त्यसमा म सरकारको ध्यानाकर्षण गराउँछु । भैरहवा र पोखरामा विमानस्थल बनेपछि त्यो अनुसार व्यवसायीहरु धेरैले लगानी गरेको छ, होटलहरु पनि खुले, विमानस्थल पुर्ण रुपमा संचालन नहुँदा, विदेशबाट पर्यटक नआउँदा  होटलहरु, पर्यटन पुर्वाधारहरुमा गरेका जुन लगानी छ, त्यो ह्रास हुने अवस्थामा पुगेको छ । नोक्सान हुने अवस्थामा पुगेको छ, त्यसलाई बचाउनुपर्छ । यसमा पनि म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले हवाई टिकटमा लाग्ने भ्याटका कारण नेपाल पर्यटन प्रतिष्पर्धामा कमजोर बनेको बताउनु भयो । नेपालमा टिकट महँगो हुँदा पर्यटकहरुले भारत गएर टिकट काटिरहेको उहाँको भनाई छ । यसले नेपालको राजश्व बाहिरिएको उहाँले बताउनु भयो । उहाँले पर्यटन क्षेत्रमा लगाईएको भ्याट हटाएर ३ देखि ५ प्रतिशत पर्यटन कर लगाउनुपर्नेमा माग गर्नुभयो । उहाँले लक्जरी पर्यटनमा भन्दा हाल मध्यम पर्यटनमा नै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपालमा पुर्वाधार, सुरक्षा लगायतका कारण लक्जरी पर्यटकहरु आउन समस्या भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा हवाई टिकेट महंगो छ, प्याकेज महंगो भयो । त्यसमा पनि फेरी भ्याट लगाईराखिएको छ । नेपाल पर्यटन बोर्ड र नाट्टा मिलेर सर्बेक्षण पनि ग¥यो भ्याटमा । यदी टिकेटमा भ्याट लगाउँदाखेरी धेरै राजस्व उठ्छ कि नलगाउँदा उठ्छ भन्दा अहिले धेरै मान्छेहरु भारतमा गएर भारतबाट टिकेट किन्छन्, जहाँ सस्तो छ । जुन हाम्रो नेपालमा आउने पैसा त्यहाँ गईरहेको छ । व्यवसायीहरुले कतिपयले पनि अब भ्याट मंहगो भएर प्रतिष्पर्धामा जान नसकेर केही करहरु छली गरराखेको पनि हुन्छ । ती सबैलाई हेर्दाखेरी हामीले टिकटमा भ्याट लगाएन भने मात्र हामीले पर्यटन प्रवर्दन गर्नसक्छौँ । अन्य देशहरुमा हेर्ने हो भने पर्यटनमा भ्याट लगाइएको रहेनछ । पर्यटन कर भन्ने रहेछ । जुन ३ देखि ५ प्रतिशत हामी व्यवसायीले लामो समयदेखि नेपालमा पर्यटनमा भ्याट हटाउनुपर्छ, कर लगाउनुपर्छ भन्दै आएका छौँ । ५ प्रतिशत कर लगायो भने अहिलेभन्दा धेरै राजश्व उठ्ने कुरा हामी ग्यारेन्टी गर्छौं ।’ 

नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्यटन प्रवद्र्धनमा कमजोरी रहेको औल्याउनुभयो । उहाँले राजदुतहरुलाई सक्रिय बनाएर नेपालको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । राजदुतहरूलाई सक्रिय र जिम्मेवार बनाउन सकेमा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने उहाँको भनाई छ । विभिन्न देशका राजदूतलाई पर्यटन प्रवद्र्धनसम्बन्धी तालिम दिएर नेपालको प्रचारमा परिचालन गर्नुपर्ने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘हामीले पर्यटन प्रमोसन गर्नु प¥यो नी नेपालमा पर्यटन आउनलाई । हामी प्रमोशनमा नै चुकिरहेका छौँ । नेपाल पर्यटन वोर्डले राम्रै गरिहेको छ । तर सबभन्दा ठुलो कुरा चाहीँ हाम्रा विभिन्न देशमा भएका राजदुतहरुलाई अझ बढी सक्रिय गर्न सक्यौँ भने उहाँहरुलाई अलि जिम्मेवार बनाउन सक्यौँ भने राम्रो हुन्छ । अमेरिका, चीन, भारतका राजदुतहरु व्यक्त हुनुहुन्छ, होला । तीबाहेक अन्य देशका राजदुतहरुलाई नेपालमा ल्याएर वा उक्त देशमा गएर नेपालको पर्यटन क्षेत्रको एक महिना तालिम दिएर पर्यटन प्रवद्र्धन गर्न लगाउनुपर्छ । उहाँहरुले बोलेको कुरा आधिकारिक हुन्छ, उहाँहरुलाई सक्रिय गराउन सकिएमा नेपालको पर्यटन विकासमा ठूलो सहयोग पुग्छ ।’ 

उहाँले पर्यटन प्रवद्र्धनको लागी आफूहरुले माउण्टेन एड्भेन्चर टुरिजमसम्बन्धी विश्वविद्यालयको स्थापना गर्न लागेको पनि जानकारी दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासको लागि नयाँ क्षेत्रको उत्पादन गर्नुपर्नेमा पनि जोड दिनुभयो । पर्यटन क्षेत्रलाई देशको आर्थिक उन्नतिको प्रमुख आधारका रूपमा विकास गर्न सरकारको नीतिगत सुधार, सहजीकरण र पूर्वाधारको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको पर्यटन क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । –