२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताइवान तनाव पन्छाउँदै दक्षिण कोरियाका राष्ट्रपति ली चीन भ्रमणमा



South Korea’s President Lee Jae Myung (R) and his wife Kim Hea Kyung (L) board their plane to depart for China at Seoul Air Base in Seongnam on January 4, 2026. South Korea’s President Lee Jae Myung left for China on January 4, eager to boost economic ties with Seoul’s largest trading partner while keeping a lid on potentially explosive issues such as Taiwan. (Photo by Jung Yeon-je / AFP)
अ+ अ-

एजेन्सी । ताइवानजस्तो संवेदनशील विषयलाई सतहमा नल्याई चीनसँग आर्थिक सम्बन्ध सुदृढ गर्ने लक्ष्यसहित दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ आइतबार चीन आइपुग्नुभएको छ । चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले यस भ्रमणलाई सियोल–बेइजिङ सम्बन्ध पुनः सन्तुलनमा ल्याउने प्रयासका रूपमा हेरिएको छ ।

राष्ट्रपति ली छ वर्षपछि बेइजिङ भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुनुहुन्छ । उहाँको चारदिने भ्रमण चीनले ताइवान वरपर ठूलो सैन्य अभ्यास गरेको एक साताभित्रै सुरु भएको हो । मिसाइल, लडाकू जेट, नौसेना र तटरक्षक जहाज सहभागी सो अभ्यासले अन्तर्राष्ट्रिय आलोचना खेपेको थियो, तर सियोल त्यस निन्दामा खुलेर सहभागी भएको थिएन ।

व्यापार र प्रविधि क्षेत्रका नेताहरूको ठूलो प्रतिनिधिमण्डलसहित राष्ट्रपति लीले चिनियाँ राष्ट्रपति सी जिनपिङ तथा अन्य शीर्ष नेतासँग भेटवार्ता गर्दै आर्थिक सहकार्य विस्तार गर्ने अपेक्षा राख्नुभएको छ । साथै, उत्तर कोरियासँगको सम्बन्ध सुधार गर्ने आफ्नो प्रयासमा चीनको प्रभाव उपयोग गर्न सकिने सम्भावनाबारे पनि उहाँले छलफल गर्ने तयारी गर्नुभएको छ ।

ली चीन प्रस्थान गर्नुभन्दा केही घन्टाअघि दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले जापान सागरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको थियो, जुन यो वर्षको पहिलो परीक्षण हो । दक्षिण कोरियाले लामो समयदेखि आफ्नो प्रमुख व्यापारिक साझेदार चीन र मुख्य सुरक्षा साझेदार अमेरिका बीच सन्तुलन कायम गर्दै आएको छ ।

विश्लेषकहरूका अनुसार चीनले हाल दक्षिण कोरियालाई अमेरिका–जापानसँगको सहकार्यबाट केही टाढा ल्याउने प्रयास गरिरहेको छ । हानकुक युनिभर्सिटी अफ फरेन स्टडिजका प्राध्यापक काङ जुन–युङका अनुसार त्रिपक्षीय सुरक्षा सहकार्य बलियो बन्दै जाँदा चीनले दक्षिण कोरियालाई ‘सबैभन्दा कमजोर कडी’ का रूपमा हेर्न सक्छ ।

ताइवानको विषयमा पक्ष लिनाले तनाव बढ्ने भन्दै राष्ट्रपति ली लामो समयदेखि सावधान रहँदै आउनुभएको छ । हालै चिनियाँ सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले ‘एक–चीन’ सिद्धान्तको सम्मान गर्ने र ताइवान जलडमरूमध्यसहित उत्तरपूर्वी एसियामा शान्ति र स्थिरता अत्यन्त महत्त्वपूर्ण भएको स्पष्ट गर्नुभएको थियो ।

आर्थिक एजेन्डामा राष्ट्रपति लीले दक्षिण कोरिया र चीनबीचको व्यापारलाई अझ पारस्परिक रूपमा फाइदाजनक बनाउने आवश्यकता औँल्याउनुभएको छ । उहाँसँगै सामसङ, ह्युन्डाई मोटर समूहलगायत ठूला कम्पनीका शीर्ष अधिकारीहरू पनि भ्रमणमा सहभागी छन् । सोमबार राष्ट्रपति सीसँग शिखर वार्ता र मङ्गलबार प्रधानमन्त्री ली किआङसहित चिनियाँ नेताहरूसँग व्यापारसम्बन्धी छलफल तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस भ्रमणका क्रममा चीनले लामो समयदेखि अनौपचारिक रूपमा लगाउँदै आएको कोरियाली पप संस्कृति ९के–पप० सम्बन्धी प्रतिबन्धमा केही सहजता आउने आशा पनि दक्षिण कोरियाली पक्षले गरेको छ । राष्ट्रपतिका सल्लाहकार वाइ सुङ–ल्याकका अनुसार आधिकारिक रूपमा प्रतिबन्ध नभएको भनिए पनि व्यवहारमा अवस्था फरक देखिँदै आएको छ र यही विषय पनि छलफलको एजेन्डामा रहनेछ ।