काठमाडौँ। बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटन व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।
पर्यटन व्यवसायीको अग्रणी संस्था नेपाल एसोसिएसन टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)को ५८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सङ्घीय सरकारसँगको सहकार्यमा पर्यटन व्यवसायीको समस्या समाधानमा सरकार लागेको बताउनुभएको हो ।
उहाँले सरकारले पर्यटन क्षेत्रबाट राजस्व उठाउने मात्र नभई व्यवसायीलाई परेका समस्या समाधानमा समेत लागिरहेको उल्लेख गर्नुभयो । पर्यटन क्षेत्रभित्र देखिएका अफ्ठ्यारा समाधानमा प्रदेश सरकार लागिरहेको उहाँको भनाइ थियो ।
मन्त्री श्रेष्ठले ऐन, कानुन र राजनीतिक कारण पर्यटन व्यवसायी समस्यामा पर्ने गरेका बताउनुभयो । व्यावसायिक वातावरण नभएसम्म नेपालको आर्थिक विकास सम्भव नभएको उहाँको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले नेपालको पर्यटन क्षेत्रको विकासमा नाट्टाले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । नाट्टा आगामी दिनमा गुणस्तरीय र दिगो पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने उहाँको भनाइ थियो । सचिव निरौलाले नेपाल वायुसेवा निगमको गुणस्तर बढाएर धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन आगामी दिनमा लाग्नुपर्ने बताउनुभयो । निजी क्षेत्रको साथ विना सरकार एक्लैले पर्यटन क्षेत्रको विकास गर्न नसक्ने उहाँको भनाइ थियो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा अच्युत वाग्लेले पर्यटन क्षेत्रको विकासका लागि नीति, अनुसन्धान र लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले गुणस्तरीय पर्यटक भित्र्याउन सके मात्र नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । डा वाग्लेले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान जम्मा तीनदेखि चार प्रतिशत मात्र रहेको उल्लेख गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालन गरे मात्र पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । निजी क्षेत्रलाई आक्रमण गरेर नेपालको अर्थतन्त्र बलियो बन्न नसक्ने उहाँको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी, बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पालगायतले नेपालको पर्यटन क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा ‘ब्रान्डिङ’ गर्न नाट्टाले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि हवाई कनेक्टिभिटी र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिनुपर्ने उहाँहरुको भनाइ थियो ।
नेपाल एसोसिएसन टुर्र्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया, वरिष्ठ उपाध्यक्ष जिस्वा तुलाधर, महासचिव युविका भण्डारी, पूर्वअध्यक्ष रविनाथ पौडेललगायतले हवाई टिकटमा भ्याट लगाउँदा नेपालको पर्यटन क्षेत्रमा ठूलो असर पुगेको भन्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग आग्रह गर्नुभयो । उहाँहरुले हवाई तथा सडक यातायात पहुँच, पर्यटक पूर्वाधार र दिगोपना पर्यटन विकासको मुख्य आधार भएको बताउनुभएको थियो ।
सन् १९६६ मा स्थापना भएको नाट्टाले छिमेकी मुलुक भारत, चीन, कम्बोडिया, थाइल्यान्ड, म्यानमार, अमेरिका लगायतका विभिन्न मुलुकमा पर्यटन प्रवद्र्धन गर्दै आएको नाट्टाका कोषाध्यक्ष सुरेश अम्गाईंले जानकारी दिनुभयो ।











