काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पछिल्लो समय तराई–मधेशका विभिन्न क्षेत्रमा देखिएका धार्मिक तथा सामाजिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन र देखिएका विवादको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ।

आयोगका अनुसार पर्साको वीरगञ्ज, धनुषालगायतका क्षेत्रमा सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत सार्वजनिक भएका घृणायुक्त अभिव्यक्ति, धार्मिक आस्थाका केन्द्रहरूमा भएको तोडफोड र आगजनीका घटनाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति सुरक्षामा असर पुर्याएको छ। यस्ता घटना तथा गतिविधिको आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
वीरगञ्जमा दुई समुदायबीच विवाद उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको र धनुषाको कमला नगरपालिका–६ सखुवामडानमा पुस १९ गते भएको घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको आयोगले उल्लेख गरेको छ।
आयोगले नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव संरक्षण तथा प्रवर्द्धन गर्ने प्रतिबद्धता स्मरण गराएको छ। साथै, संयुक्त राष्ट्रसंघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र र नेपाल पक्ष राष्ट्र रहेका अन्तर्राष्ट्रिय महासन्धिहरूको मर्मअनुसार धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नु सबैको कर्तव्य भएको जनाएको छ।
विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि त्यसको नाममा धार्मिक तथा सामाजिक सद्भाव विथोल्ने कुनै पनि गतिविधि संविधान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र मानव अधिकारका मूल्य–मान्यताविपरीत हुने आयोगको ठहर छ। विरोध र असहमति व्यक्त गर्दा संविधान, कानून र मानव अधिकारका मूल्यमान्यताको पालना गर्नु नागरिकको दायित्व भएको आयोगले स्पष्ट पारेको छ। साथै, नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै शान्ति सुरक्षा कायम गर्नु सुरक्षाकर्मीको जिम्मेवारीसमेत रहेको जनाएको छ।
सम्भावित साम्प्रदायिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक हिंसा भड्किन नदिन संयमित भएर कार्य गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ। त्यस्तै, व्यक्तिको मानमर्यादा, प्रतिष्ठा र सामाजिक–सांस्कृतिक ऐक्यबद्धताको सम्मान गर्दै अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न, घटनाको गम्भीरताप्रति संवेदनशील रहन र सामाजिक सद्भाव प्रवर्द्धन हुने गतिविधि गर्न आयोगले राजनीतिक दल, धार्मिक संघसंस्था, धर्मगुरु, सामाजिक अभियन्ता र नागरिक समाजलाई अनुरोध गरेको छ।
आयोगले आपसमा देखिएका विमतिहरूको समाधान संवाद र वार्ताको माध्यमबाट खोज्न सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ।
न्यूजपोलार
२२ पुष २०८२, मंगलवार १३:५८
न्यूजपोलार
२२ पुष २०८२, मंगलवार १३:५८
२२ पुष २०८२, मंगलवार १३:५८











