१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुर भन्सार : लक्ष्यअनुसार राजस्व सङ्कलन हुनै मुस्किल



अ+ अ-

महेन्द्रनगर। कञ्चनपुर भन्सार कार्यालय गड्डचौकीले केही वर्षयता वार्षिक लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेको छैन ।

हरेक वर्ष वार्षिक लक्ष्य बढाउँदै लगेको भन्सार कार्यालयले हरेक वर्षमा राजस्व सङ्कलन दर बढाउँदै लगेको भए पनि वार्षिक लक्ष्यको शतप्रतिशत सङ्कलन भने हुन नसकिरहेको जनाएको छ ।

पश्चिमी नाका गड्डाचौकीबाट भारत हुँदै यहाँ दैनिक उपभोग्य सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक सामग्री, लत्ताकपडा लगायतका सामान आयात हुने गरेको छ । भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म कार्यालयले रु २५ करोड २९ लाख राजस्व सङ्कलन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षमा वार्षिक रु ७९ करोड राजस्व सङ्कलनको लक्ष्य लिइएको भए पनि हालसम्म ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । त्यसैगरी गत आर्थिक वर्ष २०८१/८२ मा रु ७४ करोड पाँच लाख ५९ हजार राजस्व सङ्कलन लक्ष्य रहेकोमा सो वर्ष रु ५९ करोढ ७७ लखा ५८ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका लेखापाल गणेशबहादुर सिंहले जानकारी दिनुभयो । “वार्षिक लक्ष्यसँगै राजस्व सङ्कलन दर पनि बढिरहेको छ ।” सिंहले भन्नुभयो, “हरेक वर्षको तथ्याङ्क हेर्दा सङ्कलनमा वृद्धि नै छ ।”

आर्थिक वर्ष २०८०/८१ मा भने लक्ष्य नजिक पुगेर राजस्व सङ्कलन भएको देखिन्छ । सो वर्ष रु ५९ करोड ६९ लाख राजस्व सङ्कलन गर्ने भनिएकामा रु ५४ करोड ३८ लाख ९० हजार सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । यो वार्षिक ९१.१२ प्रतिशत सङ्कलन हो ।

त्यस्तै आर्थिक २०७९/८० मा रु ४२ करोड नौ लाख ९५ हजार राजस्व सङ्कलन भएको थियो । उक्त वर्ष रु ५८ करोड ९६ लाख ४४ हजार लक्ष्य लिइएको थियो । आर्थिक वर्ष २०७८/७९ मा रु ५२ करोड ७७ लाख ६० हजार लक्ष्य रहेको थियो । जसमा रु ४६ करोड २२ लाख ३८ हजार राजस्व सङ्कलन भएको थियो ।

कोरोना सङ्क्रमणका कारण लगाइएको निषेधाज्ञाका कारण भारतबाट हुने आयात ठप्प हुँदा यहाँको राजस्व सङ्कलनमा विगतका वर्षमा असर परेको थियो । गड्डाचौकी भन्सारबाट जडीबुटी, हस्तकलाका वस्तु तथा सेवा निर्यात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।रासस