काठमाडौँ: कांग्रेस पार्टीभित्रको किचलो जारी नै रहेका बेला आज सो पार्टीका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको औपचारिक आह्वान गर्ने तयारी गरिरहेका बुझिएको छ ।
तर उनीहरुलाई पार्टीभित्रैबाट दबाब भने बढ्दै गएको छ । पार्टीको संस्थापन पक्षले विशेष महाधिवेशनको आह्वान केन्द्रीय समितिले मात्र गर्नसक्ने र यदि महामन्त्री एक्लैले गरेमा त्यो अवैधानिक हुने बताउँदै आएको छ भने गगान थापा समूहका सदस्यहरुले पनि पार्टी फुटतर्फ जाने हो भने यो विशेष महाधिवेशन रोक्नुपर्ने बताएका छन् ।
उता महामन्त्रीद्धय थापा र शर्माले भने महामन्त्री पद नै कार्यकारी भएकाले उनीहरुले नै विशेष महाधिवेशन आह्वान गर्न सक्ने तर्क राख्दै आएका छन् ।
विशेष महाधिवेशन पक्षधरको समाचार स्रोत अनुसार आज महामत्रीद्धयले यही पुस २६ गतेबाट काठमाडौँमा सुरु गर्ने गरी औपचारिक रुपमा विशेष महाधिवेशनको आह्वान गर्ने भएका छन् । यसका लागि उनीहरुले पार्टीको लेटर हेडमा र पार्टीको केन्द्रीय कार्यालयबाट नै सो आह्वान गर्न लागेका हुन् ।
अनौपचारिक रुपमा त उनीहरुले यो आह्वान गरिसकेका छन् र प्रतिनिधिहरुलाई काठमाडौँ आउन सार्वजनिक रुपमा अपिल पनि गरेका छन् । तर आज भने पार्टीको लेटर हेडमा नै औपचारिक रुपमा यो आह्वान गर्न लागेका हुन् ।
तर आज दिउँसो यो गर्नु अघि महामन्त्रीद्धय संस्थापन पक्षसँग बसेर सहमतिको अन्तिम प्रयास गर्ने जनाएका छन् । हिजो पार्टी कार्यालयमा पार्टीका नेता बिमलेन्द्र निधिमाथि दुव्र्यवहार भएको थियो र साँझ यसको विरोधमा जनकपुरमा गगन थापाका विरुद्धमा जुलुश निस्किएको थियो । त्यस्तै हिजो नै साँझ काठमाडौँको कोटेश्वरमा पनि कांग्रेसका केही युवाहरुले मशाल जलुश निकालेर महामन्त्री थापाका विरुद्धमा नाराबाजी गरेका थिए ।
संस्थापन पक्षले यदि प्रतिनिधि काठमाडौँमै आए भने त्यसलाई संकल्प भेलाको संज्ञा दिएर पार्टी एक भएको सन्देश दिने र निर्वाचनमा एकजुट भएर लाग्न आह्वान गर्दै भेला सम्पन्न गर्नुपर्ने प्रस्ताव गरेको छ ।
तर त्यसमा महामन्त्रीद्धय भने मौन छन् । त्यसैगरी संस्थापन इतरका नेता डा शेखर कोइराला पनि यस विषयमा मौन नै रहेका छन् । तर उनले महामन्त्रीले डाकेको यो भेला विशेष महाधिवेशन हुन नसक्ने स्पष्ट अभिव्यक्ति भने सार्वजनिक रुपमै दिएका छन् ।












