२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१: कसलाई कुन अवार्ड ?



अ+ अ-

पोखरा । पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा ट्रेलब्लेजर अफ दि इयर अवार्डबाट सम्मानित हुनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार पोखराको राष्ट्रिय सभाहलमा आयोजना गरेको स्पोर्टस् अवार्डको २२औँ संस्करणमा पोखरा महानगरपलिकाका प्रमुख धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गर्नुभयो । स्पोर्टस् अवार्ड पहिलो पटक मोफसलमा आयोजना भएको हो ।

पेरिस पारा ओलम्पिकका काश्यपदक विजेता पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुन् । गत वर्ष पलेसा एनएसजेएफ पारा एथ्लेट अवार्डबाट सम्मानित हुनुभएको थियो ।

करातेकी एरिका गुरुङ र क्रिकेटर दीपेन्द्रसंह ऐरी एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को वर्ष खेलाडी घोषित भए । यस अवार्डका लागि क्रिकेटकै कुशल भूर्तेल, उसुका विजय सिञ्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका श्यान्टु श्रेष्ठ पनि मनोनयनमा परेका थिए । गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले ऐरीलाई अवार्ड प्रदान गर्नुभयो ।

गत वर्ष दीपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै इतिहास बनाउनुभएको थियो । उहाँ वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल हुनुभयो । अमेरिकामा सम्पन्न टी २० विश्वकपमा ६ विकेट लिँदै उहाँ नेपालका लागि सर्वाधिक विकेट लिने बलर हुनुभयो । नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा सर्वोकृष्ट खेलाडी बन्दै कार जित्न सफल हुनुभएको थियो ।

गत वर्ष चार अन्तरराष्ट्रिय स्वर्णपदक विजेता एरिकाले लगातार दोस्रो पटक वर्षको सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पार्नुभयो ।

एरिका २०८० को पनि वर्ष महिला खेलाडी घोषित हुनुभएको थियो । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले एरिकालाई अवार्ड प्रदान गर्नुभयो ।

गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौँ दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिङ्गापुरमा सम्पन्न १६औँ एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्णपदक प्राप्त गर्नुभएको थियो ।

यसगरी, एरिकाले चीनमा भएको २०औँ सिनियर कराते च्याम्पियनसिप र दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक हासिल गर्नुभएको थियो ।

भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड प्राप्त गर्नुभयो । ई–सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता बन्नुभएको हो । हिमालले सर्वाधिक ४० दशमलव १० प्रतिशत मत प्राप्त गर्नुभयो । यस अवार्डको मनोनयनमा फुटबलर रेखा पौडेल, क्रिकेटकी पूजा महतो, टेबलटेनिसकी इभाना थापामगर र उसुका विजय सिञ्जाली पनि प्रतिस्पर्धामा थिए । खल्ती बाइ आएइमइका सिइओ प्रवीण रेग्मी र नासा सेक्युरिटिजका ग्रोथ चिफ अनिल श्रेष्ठले हिमाललाई पिपल्स च्वाइस अवार्ड प्रदान गर्नुभयो ।

पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गर्नुभयो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा र नेपाल पर्यटन बोर्डका अफिसएटिङ निर्देशक सुनील शर्माले प्रशिक्षक नेगीलाई अवार्डले सम्मान गर्नुभयो । नेगीले दीपक महर्जन (बक्सिङ), लक्ष्मी नारायण वैद्य (खो खो), महेश रिजाल (क्रिकेट) र पछल्ल्लो वर्षका विजेता कुशल श्रेष्ठ (कराँते) लाई अवार्डको प्रतिस्पर्धामा उछिन्नुभएको थियो । पलेसाले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक पदक जित्दा नेगी प्रशिक्षकको भूमिकामा हुनुहुन्थ्यो ।

युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पूजा महतोले प्राप्त गर्नुभयो । नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले पुजालाई अवार्ड प्रदान गर्नुभयो । पूजा उत्कृष्ट हुनुभएको यस विधामा अजय विक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराँते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा थिए ।

गत वर्ष पूजा नेपाली यु १९ महिला टोलीलाई इतिहासमा पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टालीकी कप्तान हुनुहुन्थ्यो । सो छनोटमा पूजाले २७२ बनाई सर्वाधिक रनकर्ता बन्नुका साथ १० विकेट लिन सफल हुनुभयो । उहाँले कुवेतविरुद्ध अविजित १३० रनको शतकीय पारि खेल्नुभएको थियो । सोही वर्ष पूजा एसिसी महिला यु–१९ एसिया कप २०२४ मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इतिहास रच्ने कप्तान पनि बन्नुभएको थियो ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट प्रभा आङ्दम्बे सम्मानित हुनुभयो । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नहुँदै प्रभाले नयाँदिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजतपदक जित्न सफल हुनुभएको थियो । टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ३ दशमलव ९६ मिटर उचाई नाघेर ऐतिहासिक रजत पदक जित्नुभएको हो । जुन पारा एथ्लेटिक्समा नेपालले जितेको हालसम्मकै ठूलो पदक हो ।

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित हुनुभयो । पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका उहाँ नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुनुहुन्छ । आफ्नो जीवनको आठौँ दशकतर्फ अग्रसर रानाभाट कीर्तिमान धावक जीतबहादुर केसीका समकालीन हुनुहुन्छ । खेलाडी जीवनपछि उहाँ प्रशिक्षणमा उत्तिकै ब्यस्त रहनुभयो । नामी विदेशी विश्वविद्यालयबाट प्रशिक्षणको अवसर प्राप्त गर्नुभएका उहाँ सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुग्नुभएको छ ।

राष्ट्रिय अन्तरराष्ट्रिय खेलाडीको सङ्गठन बनाउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका उहाँले पोखरा म्याराथनलाई स्थापित मात्र गर्नुभएन, सफलतापूर्वक अगाडि बढाउनुभयो ।

सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा वैकुण्ठ मानन्धरको म्याराथनमा कीर्तिमान बनाउँदा रानाभाट नेपाली टिमका प्रशिक्षक हुनुहुन्थ्यो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र महासचिव अञ्जन खड्काले रानाभाटलाई अवार्ड प्रदान गर्नुभयो ।

स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसीकुमार गुरुङ सम्मानित हुनभयो । पोखरेली गुरुङले गत वर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गर्नुभएको थियो । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उहाँ पहिलो नेपाली हुनुहुन्छ । गुरुङ झण्डै ३ दशकको तेक्वान्दो यात्रामा नेपाली खेलकुद विकासमा जोडिनुभएको छ ।

सन् २०१३ मा उहाँ हङ्कङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख बिजनेस अफिसर युवराजकुमार विस्टले रानाभाटलाई अवार्ड प्रदान गर्नुभयो ।

भारतको नयाँदिल्लीमा भएको पहिलो खोखो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजत पदक दिलाउने खो खो पुरुष र महिला टिमलाई टिम अफ दि इयरको अवार्ड प्रदान गरियो । टिम गेम’ मा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो ।

यसैगरी, बङ्गलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोर्टस् जर्नलिस्ट अवार्ड प्राप्त गर्नुभयो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हसनलाई अवार्ड प्रदान गर्नुभयो ।

वर्ष खेलाडी पुरुष–महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । अन्य विधाका विजेतालाई जनही रु एक लाख प्रदान गरियो ।