लुम्बिनी। लुम्बिनी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले आज प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीसमक्ष शपथ ग्रहण गर्नुभएको छ । यसलगत्तै यस्तै नवनियुक्त सदस्य ताराप्रसाद भुसालले नवनियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्यालसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थिति थियो ।
नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नुअघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीशसमक्ष हपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार नवनियुक्त अध्यक्ष बस्यालले शपथ ग्रहण गर्नुभएको हो ।
यस्तै, प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने प्रावधान छ ।
सोहीअनुसार नवनियुक्त सदस्य ताराप्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुनुहुन्छ । रासस












