काठमाडौँ: यतिखेर नेपाली कांग्रेसभित्रको विवाद झन्भन्दा झन् सतहमा आएको छ । एकथरि कांग्रेस पार्टीभित्र विग्रहको विजारोपण भएको बताउँदै आएका छन् भने अर्काथरिले पार्टी फुट्न नदिने बचन दिइरहेका छन् । तर पनि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनबाट पार्टी फुट्को खतरा भने बढेकै देखिन्छ ।
आगामी आइतबारदेखि सुरु हुने यस विशेष महाधिवेशनका लागि देशैभरिबाट प्रतिनिधिहरु काठमाडौँ आइपुगेका छन् । नेपाली कांग्रेसको संस्थापन पक्षले सो विशेष महाधिवेशनमा सहभागी नहुन भन्दै सूचना जारी गरिरहेको भए पनि त्यसको वास्ता प्रतिनिहिरुले गरिरहेका छैनन् ।
उता संस्थापन पक्षले भने पुसमा सम्भव नभएकाले पार्टीको नियमित महाधिवेशन आगामी वैशाखको अन्तिममा अर्थात् २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरेर बसेको छ । त्यो महाधिवेशनलाई पर्खने मुडमा धेरै प्रतिनिधिहरु नरहेको पछिल्ला समाचारहरुले देखाइरहेका छन् ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनको आह्वान गरेर सबै प्रतिनिधिलाई काठमाडौँ बोलाएका छन् । एक पक्षले वैध र अर्काे पक्षले अवैध भन्दै आएको यस महाधिवेशनबाट पार्टीले नयाँ दिशा लिने देखिन्छ । कि यसले नयाँ नेतृत्व चयन गर्छ नत्र पुरानै नेतृत्व भए पनि निर्वाचनका लागि नयाँ सन्देश भने लिएरै फर्कने काम हुने देखिन्छ ।
पार्टीमा संस्थापन इतर पक्षको नेतृत्व गरिरहेको भनिएका नेता डा शेखर कोइराला यो विशेष महाधिवेशनको विपक्षमा रहेका भए पनि उनको अस्तित्व खासै देखिएको छैन । यसरी कुनै पनि एजेण्डा र तयारी बिना नै महामन्त्रीहरुले भेला बोलाएर त्यो महाधिवेशन नहुने तर्क गरिरहेका शेखरले आफ्नो पक्षका प्रतिनिधिहरुलाई कुनै सन्देश दिन नै सकेका छैनन् । उनले आफ्नो पक्षका प्रतिनिधिहरुलाई सहभागी नहुनका लागि सार्वजनिक आह्वान नै नगरेका हुन् या उनको आह्वानको सुनुवाई नहुने देखेर नै मौन रहेका हुन् भन्ने कुरा भने अहिले पनि रहस्यकै गर्वमा लुकेर रहेको छ ।
सभापति शेरबहादुर देउवाको भनाई पनि त्यही छ कि यसरी महामन्त्रीद्धयले गरिरहेको बल मिच्याइँले पार्टीलाई बलियो बनाउँदैन । सभापति देउवा पार्टी नफुटोस् भन्नेमा बढी सचेत छन् । उनले अरु जेसुकै भए गरे पनि पार्टी कुनै पनि हालतमा नफुटोस् भन्ने चाहेको र यसैमा बढी केन्द्रित रहेको बताएका छन् ।
महामन्त्रीद्वयले अघि सारेको महाधिवेशनले पार्टीमा विग्रह पैदा हुने खतरा बढेपछि विशेष महाधिवेशनलाई ‘संकल्प सम्मेलन’मा रूपान्तरण गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीसँग संवाद अगाडि बढाएको भए पनि त्यो निकासको विकल्प बन्न सकेको देखिँदैन । यसका लागि सभापति देउवाले पनि सहजीकरण गरिरहेको भए पनि आयोजक पक्षले अब आफूहरु यसबाट निकै अघि बढिसकेको जवाफ फर्काएका छन् । विशेष महाधिवेशनको ‘सेफल्यान्डिङ’का लागि प्रयासहरु भइरहेको भए पनि निकासको ठोस खाका भने अहिलेसम्म बाहिरिएको छैन ।
पहिला ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको भनिएका मध्ये अधिकांश प्रतिनिधिहरु शेखर पक्षका रहेका र उनीहरु अहिले हस्ताक्षरका विषयमा मौन बसिरहेको बताइएको तर्क पनि अहिले आएर भने कमजोर बन्न पुगेको छ । किनभने न डा शेखर यस विषयमा बोल्न सकेका छन् र नत ती हस्ताक्षर कोकस्का हुन् भन्ने बारेमा कुनै वैधानिक परीक्षण नै हुन सकेको छ ।
यसरी कांग्रेसका नेताहरु विशेष महाधिवेशन बोलाएपनि एक अर्काे पक्ष या समूह बिलखबन्दमा परेर बसिरहेको अवस्था छ । न कसैले पार्टी फुट्छ भन्ने तर्क स्वीकार गर्न सकेको छ र नत विशेष महाधिवेशनपछि पनि पार्टी एक ढिक्का भएर बस्न सक्ने भरपर्दाे अवस्था देखापरिरहेको छ ।
आइतबार पुस २७ गते नेपालको एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस । पुस २७ का दिनलाई नेपालले सधैँ यस दिवसका रुपमा मनाउने गरेको छ । ठिक त्यसै दिन नेपाली कांग्रेसका महामन्त्रीद्धयले कांग्रेस पार्टीको विशेष महाधिवेशनको आह्वान गरेका छन् ।
सो महाधिवेशनका कारण पार्टी फुट्ने त होइन भन्ने त्रास समेत भइरहेको अवस्थामा जनता र कांग्रेसीजनमा भने राष्ट्रिय एकता दिवसका दिनमा कांग्रेस कसरी फुटेर दुई हुन सक्ला भन्ने तर्क वितर्क सँगसँगै चलिरहेको अवस्था छ । मानिसहरु अहिले पनि सोध्ने र सोच्ने गरिरहेका छन् कि राष्ट्रिय एकता दिवसका दिन पार्टीमा पनि एकता कायम गर्न थप सहयोग मिल्ला कि कांग्रेस यसैदिन फुट्ला ? जेनजी आन्दोलनपछि नयाँ दलहरु जुटिरहेका बेला कांग्रेस फुट्न सक्ने खबरले भने प्रजातन्त्रको सुदृढिकरणमा सहयोग नपुग्ने धेरैको अनुमान छ ।












