काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनको आज दोस्रो दिन केही बेरमा बन्दसत्र सुरु हुँदैछ । हिजोबाट सुरु भएको महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा हिजो साँझ अबेरसम्म उदघाटन सत्र नै जारी रहेको थियो । अहिले बिहान केही बेरमा बन्दसत्र सुरु हुन लागेको हो ।
महाधिवेशन व्यवस्थापन सचिवालयले जनाए अनुसार ढिलोमा १० बजेबाट बन्दसत्रका कार्यक्रमहरु सुरु हुनेछन् । महामन्त्री गगन थापाको नेतृत्वमा आह्वान भएको यो विशेष महाधिवेशनमा करिब २ हजार ६०० प्रतिनिधिले नाम दर्ता गरेका बताइएको छ ।
बन्द सत्रको कार्यक्रम सञ्चालन गर्न, एजेण्डाहरु पेश गर्न तथा छलफल गर्नका लागि कार्यविधि निर्माण गर्ने काम भइरहेको सो सचिवालयले जानकारी दिएको छ । बन्दसत्रमा नीतिगत एवं संगठनात्मक प्रतिवेदन पेस हुनेछ । सभापति शेरबहादुर देउवाको इच्छाविपरीत विशेष महाधिवेशन भएको छ ।
केन्द्रीय समितिमा करिब ८२ प्रतिशतको शक्ति रहेका देउवाले कार्यससम्पादन समितिबाट विशेष महाधिवेशन नभएर नियमति महाधिवेशन आगामी वैशाखमा गर्ने गरी निर्णय गराएको भएपनि महामन्त्री थाप र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विद्रोह गरेर विशेष महाधिवेशनको आह्वान गरेका हुन् ।
नेपाली कांग्रेस पार्टीको भविष्यका लागि आजको दिन अत्यन्तै निर्णायक मोडमा रहेको छ । सभापति शेरबहादुर देउवा र उनी निकटको संस्थापन पक्ष भनिएको पक्ष यस महाधिवेशनमा उपस्थित छैन । सो पक्षले यसलाई भेला भनिरहेको छ र विशेष महाधिवेशनको वैधानिकता नरहने बताइरहेको छ ।
तर पनि कार्यसम्पादन समिति, बहुमत जिल्ला सभापति, पाँच प्रदेश सभापति विशेष विरुद्धमा उभिँदा पनि विशेष महाधिवेशनको आह्वानलाई संस्थापन पक्षले असफल बनाउन सकेन । विशेष महाधिवेशनको विरुद्ध संस्थापनइतरका नेता डा शेखर कोइराला त उभिए तर पनि उनको बर्चस्व भने कतै देखिएन । किनभने उनको निकट भनिएका धेरै जसो नेताहरु गगन विश्वप्रकाशको नेतृत्वमा सहभागी भएका छन् । आइतबार साँझसम्म ५६ प्रतिशत प्रतिनिधि विशेषको पक्षमा उभिएको आयोजकले जनाएका छन् । तर पनि यो संख्यालाई संस्थापन पक्षले भने झुठ भनिरहेको छ ।
गत भदौ २३ र २४ को जेनजी विद्रोहसँगै पार्टी रुपान्तरण नभई चुनावमा जान नहुने मतसहित विशेष महाधिवेशनको विषय उठान भएको थियो । त्यसलाई महामन्त्रीद्धयले निष्कर्षमै पुर्याएका छन् ।
पार्टी विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर लिखित माग गरेको अवस्थामा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । विधानको त्यही व्यवस्थालाई टेकेर ६ असोजमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर संकलन सुरु गरिएको थियो ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवशेनको हस्ताक्षरमा पछाडि रहेर भूमिका खेले । तर, विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन गर्न ‘ग्रिन सिंग्नल’ दिएका संस्थापनइतरका नेता पछि फर्के । गत महाधिवेशनमा सभापतिमा देउवा र कोइरालालाई मत दिएका कतिपय प्रतिनिधि विशेषको पक्षमा उभिँदा त्यस समयमा ५४ प्रतिशत हस्ताक्षर संकलन भएको थियो ।
यो त भयो महाधिवेशनको कुरा जुन सफल पनि भइसकेको छ । किनभने जेजति संख्याले यसका लागि हस्ताक्षर गरे उनीहरु हिजो सहभागी पनि भइसकेका छन् । तर त्यसमा हस्ताक्षर नगरेकाहरु पनि यो विशेष महाधिवेशनमा सहभागी भएका छन् । त्यहाँ सभापति देउवाका केन्द्रीय नेताहरु पनि सहभागी छन् ।
त्यसैले अब यो महाधिवेशनले नेतृत्व नै फेरेर अघि बढ्छ कि के गर्छ भन्नेमा धेरैको जिज्ञासा रहेको छ । आज दिउँसो नै यसको निक्र्यौल निस्कनुपर्दछ । नेतृत्व फेर्ने विषयमा त्यहाँ उपस्थित महाधिवेशन प्रतिनिधि र नेताहरुका बीचमा मतैक्यता भने छैन ।
केहीले यो उपस्थितिबाट नै संस्थापन पक्षका लागि धेरै अर्थपूर्ण सन्देश गइसकेकोले अब नयाँ नेतृत्व चयन नगरीकनै महामन्त्रीको अधिकार थपेर समापन गर्नुपर्छ भन्नेहरु छन् । उनीहरु यसो गर्दा अहिले नेतृत्व फेर्दा भोलिका दिनमा वैधानिकताको प्रश्न उठ्न सक्ने र निर्वाचन आयोगदेखि सर्वाेच्च अदालतसम्म पनि यो मुद्धा पुग्न सक्ने भएकाले मुखैमा आएको निर्वाचनलाई असर गर्ने हुँदा अहिलेलाई यसैगरी विशेष महाधिवेशन टुंग्याउने र आगामी वैशाखका लागि एक प्रकारको सदासयताको मत संकलन गरेर विदा हुनुपर्ने तर्क गरेका छन् ।
तर विश्वप्रकाशको नजिकका प्रतिनिधिहरुले भने नेतृत्व नै फेर्नुपर्ने तर्क गरिरहेको एक सहभागी केन्द्रीय नेताले जनाएका छन् । उनले भने, गगनजी यो सन्देश र उपस्थितिलाई वैशाखको नियमित महाधिवेशनसम्म कायम राख्नेगरी अब हामी सबै चुनावमा लाग्नुपर्छ भन्नेमा हुनुहुन्छ भने विश्वप्रकाशजी भने होइन अहिले नै नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्नेमा हुनुहुन्छ ।
त्यस्तै देउवासँग निकट केही नेताहरुले भने आज सभापति देउवालाई नै विशेष महाधिवेशन स्थलमा लैजाने र सौहार्दपूर्ण रुपमा उहाँबाट नै यसको समापन गराउनेमा लागेका छन् । सभापति देउवाले अरु केही नभनेर अबको नेतृत्व युवाकै हो र आगामी नियमित महाधिवेशनमा यहाँ उपस्थित साथीहरुकै साथमा म रहनेछु भनिदिए हुने तर्क गरेका छन् । तर सभापति देउवा भने आज बिहान सम्म पनि समापनमा जाने मनस्थितिमा देखिएका छैनन् ।
त्यसैले कांग्रेसका लागि आजको दिन निकै नै महत्वपूर्ण क्षण रहने छ । यदि नयाँ नेतृत्वको घोषणा यो विशेष महाधिवेशनले गर्यो भने पार्टी फुटतर्फ उन्मुख हुनेछ र यसको वैधानिकता सम्बन्धी बहस निर्वाचन आयोग हुँदै अदालत सम्म पनि पुग्न सक्नेछ । अर्कातर्फ त्यसो भयो भने फागुनको निर्वाचनलाई पनि असर गर्ने नै छ । त्यसैले यी अनेक प्रश्नहरुका साथ उत्सुकताको घडीमा महाधिवेशन प्रतिनिधि एवं सिंगो पार्टी नै रहेको छ ।
तस्बिरः गाेपाल दाहाल / रासस












