२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा कांग्रेसः भोलि केन्द्रीय समिति बैठक, ३० भाइ नजाने, महामन्त्रीलाई कारबाही हुनसक्ने !



अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनको आज दोस्रो दिन भएको बन्दसत्रमा पार्टीको केन्द्रीय समिति भंग गर्ने विषयको प्रस्ताव प्रस्तुत भएको छ । काठमाडौँको भृकुटीमण्डपमा हिजोबाट सुरु भएको महाधिवेशन आज साँझ अबेरसम्म पनि नसकिएपछि भोलिसम्मका लागि सरेको छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा आह्वान भएको यो विशेष महाधिवेशनमा करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरु सहभागी भएको दाबी गरिएको छ । तर संस्थापन पक्षले यसलाई गलत भनेको छ, र त्यतिधेरे प्रतिनिधिहरु त्यहाँ नपुगेको बताइएको छ ।

आज पनि विशेष महाधिवेशन स्थलबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई सो भेलामा सहभागी हुन आह्वान गरेका थिए । तर सभापति देउवा जान मानेनन् ।

आज दिनभर भएको बन्द सत्रबाट नयाँ नेतृत्वको चयनका लागि निर्वाचन गर्न आवाज उठेको थियो । तर पनि त्यहाँसम्म पुग्न महामन्त्री थापाले नमानेको एक सहभागी स्रोतले जानकारी दिएको छ ।

तर विश्वप्रकाश पक्षीय महाधिवेशन प्रतिनिधिहरुले निर्वाचन गरेर भए पनि नयाँ कार्यसमिति घोषणा गरिहाल्नुपर्ने बताएका थिए ।

उता आजै पार्टी सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता डा शेखर कोइराला पटकपटक भेट गरेर वार्ताका लागि दुवै जना महामन्त्रीलाई आह्वान गरेका छन् । तर महामन्त्री र पार्टी सभापतिको भेटवार्ता आज पनि हुन सकेको छैन ।

उता महाधिवेशन स्थलामा नयाँ कार्यसमितिको चयनका विषयमा भएको दुई पक्ष र यता वार्ताका लागि भएका पहलहरुका कारण आज एक दिनका लागि महाधिवेशन लम्ब्याइएको हो ।

यता कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा विभाजन ल्याउने खालको कुनै पनि काम नगर्न सबै प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

यसैबीच नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बोलाइएको छ । भोलिको बैठकमा यस विषयमा छलफल हुने बताइएको छ ।

तर सो बैठकमा यसअघि विद्रोहजस्तो गरेका ३० जना केन्द्रीय सदस्य भने नजाने भएका छन् । पार्टीको सो बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरुलाई बोलाइएको भए पनि महामन्त्रीद्धयसहितका कतिपय पदाधिकारी भने नजाने भएका छन् ।

कांग्रेसभित्रको एक समाचार स्रोतले भोलिको सो बैठकमा महामन्त्रीद्वय थापा र शर्मालाई कारबाही गर्न सक्ने पनि बतायो । स्रोत भन्छ— आज सभापति देउवाले पार्टी अब लगभग फुटतर्फ अग्रसर भइरहेकाले सम्भावित सबै अवस्था झेल्न तयार रहन आफू निकटस्थहरुलाई भन्नुभएको छ । भोलि बिहानसम्म कुनै सहमति हुन सकेन भने दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वयलाई कारबाही पनि हुन सक्दछ ।

उनले नेपाली कांग्रेस पार्टीको भविष्यका लागि भोलिको दिन अत्यन्तै निर्णायक हुने पनि बताए । सभापति शेरबहादुर देउवा र उनी निकटको संस्थापन पक्ष भनिएको पक्ष यस महाधिवेशनमा उपस्थित छैन । सो पक्षले यसलाई भेला भनिरहेको छ र विशेष महाधिवेशनको वैधानिकता नरहने बताइरहेको छ ।

तर कार्यसम्पादन समिति, बहुमत जिल्ला सभापति, पाँच प्रदेश सभापति विशेष विरुद्धमा उभिँदा पनि विशेष महाधिवेशनको आह्वान भइसकेको छ । यस महाधिवेशनको विरुद्ध संस्थापनइतरका नेता डा शेखर कोइराला पनि उभिएको भए पनि यसले तात्विक असर गर्न सकेको छैन ।

भोलि अफूहरु कारबाहीमा पर्नु अगावै नयाँ नेतृत्वको घोषणा गर्ने तयारीमा महामन्त्रीद्वय रहेका बुझिएको छ । विशेष महाधिवेशनको नयाँ केन्द्रीय समिति चयनसम्बन्धी निर्णयले पार्टीलाई स्पष्ट रुपमा फुटतर्फ उन्मुख गराउने निश्चित छ । त्यसपछि भने पार्टीको आधिकारिकता सम्बन्धी बहस निर्वाचन आयोग हुँदै अदालतसम्म पनि पुग्न सक्नेछ । त्यसो भयो भने फागुनको निर्वाचनलाई पनि असर गर्ने देखिन्छ । यी अनेक प्रश्नहरुका साथ उत्सुकताको घडीमा महाधिवेशन र सिंगो पार्टी रहेको देखिएको छ ।