१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैँसेपाटी क्षेत्रबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ, लाखौँका पार्टस बरामद



अ+ अ-

काठमाडौं । ललितपुरको भैँसेपाटी क्षेत्रलगायत आसपासबाट मोटरसाइकल चोरी गरी त्यसका पार्टपुर्जा छुट्याएर बिक्री गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा गरिएको अनुसन्धानपछि मंगलबार सादा पोशाकमा खटिएको प्रहरी टोली र प्रहरी प्रभाग बुंडमतीको संयुक्त टोलीले किर्तिपुर नगरपालिका–६ चोभारस्थित KAZEE Motorcycle Workshop मा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा चोरी गरी लुकाइछिपाइ राखिएका दुई थान मोटरसाइकल तथा चोरीका मोटरसाइकलका पार्टपुर्जाहरू बिक्री वितरणको तयारी अवस्थामा फेला पारिएको हो। वर्कशप सञ्चालकसहित भारतीय नागरिक दुई जनासहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बर्दिया ठाकुरबाबा नगरपालिका–६ घर भई हाल किर्तिपुर भुतखेल बस्ने २२ वर्षीय सन्तोष चौधरी, भारत बिहार मोतिहारी जिल्ला ढाका घर भई हाल किर्तिपुर–६ चोभार बस्ने २३ वर्षीय काजिम शेख, रौतहट गरुडा नगरपालिका–६ घर भई हाल चोभार बस्ने १८ वर्षीय संजय रावत तथा भारत बिहार मोतिहारी घर भई हाल चोभार बस्ने २४ वर्षीय नाजिम शेख रहेका छन्।

प्रहरीले बा.१० प. ४१५२ र बा.४४ प. ८६२९ नम्बरका दुई मोटरसाइकल, दुई थान इन्जिन, चार थान ट्याङ्की, तीन थान ब्याट्री, पाँच थान पेन्ट स्प्रे डिब्बा तथा विभिन्न मोटरसाइकल र स्कुटरका टायर, सिट, भाइजर, लेगार्ड, सक र साइलेंसर बरामद गरेको छ।

बरामद सामग्रीको अनुमानित मूल्य करिब रु. ७ लाख ५० हजार बराबर रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।