२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिई हिरासतमा आप्रवासी मृत्यु बढ्दै



अ+ अ-

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वकालमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइसिई) का हिरासत केन्द्रहरूमा आप्रवासीहरूको मृत्यु बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ ।

जनवरी ७ मा मिनियापोलिस, मिनेसोटामा प्रदर्शनकारी रेनी निकोल गुडमाथि भएको घातक गोलीकाण्डपछि आइसिईले प्रयोग गर्दै आएको टकरावपूर्ण रणनीति पुनः सार्वजनिक बहसको केन्द्रमा आएको छ ।

तर आइसिईले आफैँ सार्वजनिक गरेको विवरणले अध्यागमन हिरासत केन्द्रहरूमा राखिएका व्यक्तिहरूका लागि ती स्थानहरू अझै जोखिमपूर्ण र कहिलेकाहीँ घातकसमेत बन्ने गरेको देखाएको छ । एजेन्सीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०२६ को सुरुआती केही दिनमै हिरासतमा रहेका धेरै व्यक्तिको मृत्यु भएको खुलासा गरिएको छ ।

यो अवस्था त्यही समयपछि आएको हो, जब सन् २०२५ मा आइसिई हिरासतमा आप्रवासी कैदीहरूको मृत्यु दुई दशककै उच्च स्तरमा पुगेको थियो र हिरासतमा राखिने व्यक्तिको सङ्ख्या तीव्र गतिमा बढेको थियो ।

आइसिईको तथ्याङ्कअनुसार डिसेम्बर २०२५ को अन्त्यसम्म ६८ हजारभन्दा बढी वयस्कहरू आइसिई हिरासतमा थिए । यो सङ्ख्या डिसेम्बर २०२३ मा करिब ३६ हजार मात्रै रहेको थियो, जसले छोटो अवधिमै हिरासतमा रहेकाहरूको सङ्ख्या झन्डै दोब्बर भएको देखाउँछ ।

सन् २०२६ को सुरुआतदेखि अहिलेसम्म आइसिईको हिरासतमा रहँदा कम्तीमा चार जनाको मृत्यु भइसकेको एजेन्सीले जनाएको छ । यी सबै मृत्यु वर्षको पहिलो १० दिनभित्र भएका हुन् ।

जनवरी ९ र १० को अवधिमा मात्र तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो । मृतकहरू सबै पुरुष थिए, जसको उमेर ४२ देखि ६८ वर्षबीच रहेको बताइएको छ । तीमध्ये दुई जना होन्डुरसका नागरिक, एक जना क्युबाली र एक जना कम्बोडियाली नागरिक थिए ।

आइसिईका अनुसार दुई जनाको मृत्यु ‘मुटुसम्बन्धी स्वास्थ्य समस्या’ का कारण भएको थियो भने बाँकी दुई घटनाको स्पष्ट कारण उल्लेख गरिएको थिएन । पछिल्ला घटनामध्ये एउटा मात्रै ‘अनुसन्धान अन्तर्गत’ भनेर सूचीबद्ध गरिएको छ ।

सन् २०२५ लाई आइसिई हिरासतमा रहेका आप्रवासीहरूका लागि पछिल्ला २० वर्षकै सबैभन्दा घातक वर्षका रूपमा लिइएको छ । उक्त वर्ष अध्यागमन हिरासत केन्द्रहरूमा राखिएका कम्तीमा ३० जनाको मृत्यु भएको थियो । यो सङ्ख्या सन् २००४ मा आइसिई स्थापना भएपछिको सबैभन्दा उच्च हो ।

सन् २०२५ को मृत्यु सङ्ख्याले बाइडेन प्रशासनकाल (सन् २०२१–२०२५) को सम्पूर्ण अवधिमा आइसिई हिरासतमा रेकर्ड गरिएका कुल मृत्यु सङ्ख्याभन्दा पनि बढी प्रतिनिधित्व गरेको छ । आइसिईका प्रतिवेदनहरूका आधारमा अमेरिकी अध्यागमन वकिल सङ्घले सङ्कलन गरेको तथ्याङ्कअनुसार ती चार वर्षमा हिरासतमा रहँदा जम्मा २६ जनाको मृत्यु भएको थियो ।

बाह्य पर्यवेक्षक र मानवअधिकार संस्थाहरूले आइसिई हिरासत केन्द्रहरूमा बन्दीहरूले पाउने चिकित्सा उपचारको स्तरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् ।

अमेरिकन सिभिल लिबर्टीज युनियन (एसिएलयु) ले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनमा आइसिई हिरासतमा भएका ९५ प्रतिशत मृत्यु उचित हेरचाह उपलब्ध गराइएको भए रोक्न सकिन्थ्यो भन्ने निष्कर्ष निकालिएको थियो ।

उक्त प्रतिवेदन सार्वजनिक अभिलेख अनुरोधमार्फत प्राप्त हजारौँ पृष्ठ कागजातको अध्ययनका आधारमा तयार पारिएको थियो । यसमा सन् २०१७ देखि २०२१ को अवधिमा आइसिई हिरासतमा भएका मृत्युहरूको विस्तृत विश्लेषण गरिएको थियो ।

ती कागजातहरूको समीक्षा गर्ने चिकित्सा विज्ञहरूले गलत वा अनुपयुक्त उपचारका साथै अत्यधिक ढिलाइ भएको चिकित्सा सेवाका व्यापक प्रमाणहरू फेला पारेका थिए । (रासस/एएफपी)