काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आज एक अपिल प्रकाशन गरी पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन्, म आह्वान गर्छू: हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीत हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ भन्नु भएको छ ।
उहाँले भन्नु भएको छ, कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।
यस बिचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका वारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु भन्दै डा कोइरालाले दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबिच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ भन्नु भएको छ ।
कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो । तर त्यसो हुन सकेन, उहाँले भन्नु भएको छ, म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु ।
अहिले कांग्रेस एकताको खाँचो अपरिहार्य भएको छ । हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ । हाम्रा अग्रज नेताहरु र शहिद हुनुभएका साथीहरु हाम्रा प्रेरणाका स्रोत हुन् ।
उहाँले भन्नु भएको छ, समय छोटो छ, तर पनि यथासम्भव तपाईहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु ।
नेपाली काँग्रेस भित्रको तिक्तता बिच विशेष महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा सहितको ठूलो समूह बाहिरिएको छ, यस समूहले आफूहरु आधिकारिक काँग्रेस रहेको दाबी गरेको छ ।













