काठमाडौँ: नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रलाई थप गतिशील बनाउने लक्ष्य लिएको छ। यस वर्षको संस्करणले डिजिटल सामग्री सृजनालाई दिगो पेसागत व्यवसायतर्फ उन्मुख गराउँदै मेलाको स्वरूपमा महत्वपूर्ण रूपान्तरण गरेको छ।
विभिन्न सहरमा आयोजना हुने यो कार्यक्रम चितवनमा माघ ३ गते, नेपालगन्जमा माघ १० गते र काठमाडौँमा दुई दिने फिनालेका रूपमा माघ १६ र १७ गते सम्पन्न हुनेछ।
यस वर्षको मूल विषयवस्तु ‘भिजन टु भेन्चर’ ले डिजिटल कथाकथन र व्यावसायिक उद्यमबीचको खाडल पुर्ने लक्ष्य राखेको छ। प्रविधि, डिजिटल प्लेटफर्ममार्फत हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विशेषज्ञतालाई समेट्दै मेलाले डिजिटल सामग्री सर्जकहरूलाई आफ्ना सिर्जनात्मक क्षमतालाई दीर्घकालीन पेसाकर्ममा रूपान्तरण गर्ने मार्गचित्र प्रदान गर्नेछ।
नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता झल्काउने बताउनुभयो। उहाँका अनुसार ज्ञान, सीप र सञ्जाल विस्तारमार्फत उद्यमशीलता र रोजगारी सिर्जनालाई टेवा दिँदै नेपाली क्रिएटर्सलाई स्थानीय मात्र नभई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखिएको छ।
मेलामा ५० भन्दा बढी चर्चित क्रिएटर्स, औद्योगिक विशेषज्ञ तथा कलाकारहरूको सहभागिता रहनेछ। सहभागीहरूले सज्जन राज वैद्य, प्रियङ्का कार्की, आयुष्मान् जोशी, टु बी गेमर, लेक्स लिम्बू, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा, सोनाम तोप्देन, श्रीशेष मानन्धर, नेपाल एट्थ वन्डर लगायत प्रभावशाली व्यक्तित्वहरूबाट सिक्ने अवसर पाउनेछन्। अन्तरक्रियात्मक कार्यशाला र प्यानल छलफलमार्फत उनीहरूले डिजिटल उपस्थितिलाई व्यापक प्रभावमा रूपान्तरण गरेका अनुभव र रणनीतिहरू साझा गर्नेछन्।
काठमाडौँमा हुने कार्यक्रमको प्रमुख आकर्षण ‘पिच टु सक्सेस’ हुनेछ। यस अन्तर्गत छनोटमा परेका क्रिएटर्सले आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) जस्ता शीर्ष कर्पोरेट नेतृत्वकर्ताहरूको प्यानलसमक्ष आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्दै तत्क्षण प्रतिक्रिया र मार्गदर्शन प्राप्त गर्नेछन्।
सन् २०२३ मा सुरु भएको क्रिएटर्स मेला हाल नेपालको डिजिटल परिदृश्यको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भइसकेको छ। चौथो संस्करण ‘भिजन टु भेन्चर’ पहलले क्रिएटर अर्थतन्त्रको व्यावसायिकीकरण गर्दै नेपालभर आर्थिक वृद्धिलाई टेवा पुर्याउने अमेरिकी दूतावासको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।












