२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दर्भ: २८औं भूकम्प सुरक्षा दिवस: प्रकोप, पूर्वतयारी र पूनर्लाभ: अवसर र चुनौतीहरु



अ+ अ-

नेपाल भूकम्पको जोखिमका सन्दर्भमा विश्वको ११औं जोखिमयुक्त स्थानमा रहेको छ । यो भनेको हाम्रो देश विश्वका अन्य करिब १९० देशभन्दा धेरै खतरामा रहेको छ भन्ने हो । यहाँ जुनसुकै बेला भूकम्प आउन सक्छ । भूकम्पको जोखिम भन्नाले भूकम्पले हल्लाउनु मात्र, रिच्टर स्केलमा यति र उति मापन गर्नु मात्र होइन । जोखिमले खासमा प्रकोप र संकटासन्नताको दुरीलाई जनाउँछ ।

सामान्यतया नेपालमा भूकम्पीय प्रकोपको सम्भावना धेरै छ किनभने हाम्रो देशको भौगालिक र भौगर्भिक बनावट नै त्यस्तै छ, अर्थात् वैज्ञानिकहरूका अनुसार दुई ठुला प्लेटमाथि नेपाल अडिएको छ जसले गर्दा जुनसुकै बेला विपद् पर्न सक्दछ भने संकटासन्नता भन्नाले त्यो व्यक्ति, समुदाय हो जो संग प्रकोपको सामना गर्ने क्षमता छैन वा कम क्षमता छ ।

नेपालको जनगणना अनुसार, नेपालमा ढुंगा माटोले बनेका परम्परागत कमसल घरहरु करिब २० लाख छन् र ति सबै भूकम्पको उच्च जोखिममा पर्दछन् । कच्ची घरहरु र त्यहाँ बसोबास गर्ने व्यक्तिहरु, पशु चौपायाहरु, अन्नपात, धन सम्पत्ति सबै नोक्सान हुन सक्दछ । नेपालका दूरदराजमा रहेका धेरै विद्यालय भवनहरु, स्वास्थ्य चौकी र अन्य कार्यालय भवनहरु पनि पुराना भएकाले पनि मानवीय क्षति उच्च हुने सम्भावना रहेको छ ।

सुँगा रटाईको कथा जस्तै हाम्रो वर्तमान

यहाँ एउटा पुरनो सुँगा रटाईको कथा सान्दर्भिक हुन जान्छ । एक ऋषि तसस्या गर्न जंगल जाँदै थिए, परैबाट उनले रुखमा धेरै सुँगा बसेको देखे । उनी रुखतर्फ जाँदै गर्दा अर्को बाटो भएर एउटा सिकारी आयो, जाल तयार गर्यो, जाल भुईमा बिछ्यायो र मकैका दाना छरिदियो । यो सबै रुख माथिबाट सुँगाहरुले हेरिराखेका थिए, एकै छिनमा रुखबाट सुगाँहरु चारो (मकै) खान तल झरे, सिकारीले चाल मार्दै जाल तान्यो करिब आधा सुँगा जालमा परे ।

सिकारीले जालमा परेका सुँगालाई पिंजडामा राख्यो र सहरतिर गयो । यो सबै ऋषिले रुखभन्दा अलि टाढाबाट हेरिराखेका थिए । उनको मनमा दया पलायो र अब बाँकी सुँगाको जीवन बचाउने उद्देश्यले सबै सुँगालाई पाठ पढाउने निर्णय गरे, सुँगाहरु भेला गरे र भने “भोलि पनि त्यो दुष्ट सिकारी आउँछ त्यसैले अब तिमीहरुले मैले भनेको कुरा सुन, भनेको मान भन्दै, सिकारीले जालमा पार्ने सबै प्रकृयाहरुका बारेमा पढाउन थालेछन्, ऋषिले सिकाउन थाले, भोलि पनि सिकारी आउनेछ, फेरि जाल बिछ्याउने छ, दाना छर्ने छ ।

त्यसैले हेर सुँगाहरु जब तिमीहरुले परबाट सिकारी आएको देख्छौ तिमीहरुले एकै स्वरमा भन्नु, सिकारी आयो, सिकारी आयो । सबै सुँगाहरुले एकै स्वरमा सिकारी आयो …..जाल बिच्छायो, जाल बिच्छायो, …..चारो फाल्यो चारो फाल्यो ……ऋषिले बडो मेहनत लगाएर सबै सुँगालाई सबै कुरा कण्ठ गराए, पटक पटक सम्झाए । भोलि तिमीहरुले सिकारी आउँदै गर्दा के भन्ने अरे, सुँगाहरुले एकै स्वरमा भने सिकारी आयो….सिकारी आयो अनि…जाल बिच्छायो…..। ऋषि त्यही रुखमा बास बसे, भोलिपल्ट साबिककै समयमा सिकारी आयो । उसलाई रुखबाटै सुँगाहरुले देखे र बेस्सरी कराउन थाले, उ सिकारी आयो सिकारी आयो । सिकारी चकित पर्यो, ओहो के भयो सुँगाहरु त बडो सचेत भएछन् । मेरो खजाना खासै होला जस्तो छैन भन्दै सोच्दै जे होला होला भनेर रुखतिर अघि बढ्दै गयो, सुँगाहरुले रटान लाउँदै गए, सिकारी आयो सिकारी आयो……। सिकारीले जब जाल फ्याक्यो तब फेरि सुँगाहरुले भने जाल बिच्छायो, जाल बिच्छायो…। सिकारीले आफ्ना सबै प्रकृयाहरु गर्दै गयो सुँगाहरुले रटान लाउँदै गए । जब सिकारीले मकै छर्ने काम गर्यो तब रुखमाथिका सुँगाहरु एकै साथ उडेर आए र दाना टिप्न थाले । अनि सिकारीले जाल तान्यो फेरि सुँगाहरु जालमा परे । यो सबै हेरेर बसेका ऋषिलाइ यो मनन् भयो कि सुँगा रटाईको शिक्षा, ज्ञानले केही उपलब्धि हुने रहेन छ ।

अहिले विकास निर्माण वा समुदाय परिवर्तनका लागि प्रमुख चुनौतीहरु यस्तै यस्तै छन् । सबैलाई कण्ठ छ, र सुँगाको जस्तो रटान लगाउँदै भन्दैछौ भुकम्प आउँछ,आगलागी हुन्छ, पहिरो जान्छ, तापक्रम बृद्धि हुन्छ, जनधनको क्षति हुन्छ । संचेतना अभिवृद्धिका कार्यक्रमहरुमा हेर्ने हो भने केही नबुझेको जस्तो लाग्दैन तर आखिर परिणाम फेरि उति नै क्षति र कष्ट मात्र भएको पाइन्छ । भन्ने र सुन्ने काम धेरै भएका छन् तर कार्यान्वयनको पाटोमा सबैभन्दा धेरै स्थानीय निकाय नै चुकेको छ, किनभने विकासको प्रत्यक्ष लाभ लिनु पर्ने समुदाय वा समुहहरु अझै पनि बञ्चितीकरणमा परेका छन् ।

उनीहरुको समावेशी सहभागिता कम देखिन्छ र यसको लागि समन्वय गर्ने निकाय वडा कार्यालय देखि गाउँपालिका नगरपालिकाले सबैलाई समेटनु जरुरी देखिन्छ । लाभ लिने र सहभागिता जनाउने विषयमा र दूरदराजका समुदाय अझै पनि ओझेलमा परेका छन्, उनीहरुको पहुँचमा वृद्धि गर्न सबैले पहल गर्नु पर्दछ । यसको प्रत्यक्ष, अप्रत्यक्ष असर भोलिका दिनमा स्थानीय निकायलाई नै पर्दछ । उत्थानशील समुदाय निर्माणका लागि सैद्धान्तिक सँगै व्यवहारिक शिक्षा जरुरत पर्दछ ।

अझ विपद् जोखिम न्यूनीकरणका लागि व्यवहारिक ज्ञान सीप धेरै आवश्यक पर्छ । पूर्व तयारीका कार्यहरुमा राज्यको लगानीमा वृद्धि गर्नु आवश्यक छ । समुदायको क्षमता बढेमा मात्र प्रकोपको सामना गर्न र त्यसको प्रतिकार्य गर्ने सक्षम समुदायको निर्माण हुन्छ । स्थानीय तहमा हाल संरचनागत तथा स्रोत सामग्री एवं नीतिगत हिसाबले केही कार्यहरुको सुरुवात भएको छ तर निरन्तरता र सकृयताका लागि अझै प्रयास गर्न आवश्यक छ ।

पूनर्लाभको प्रकृयामा हामी कहाँ अल्झियौं त ?

पहिलो विषय त हामी तथ्यांकमा नै अल्झेको हो । जाजरकोटमा भूकम्पले गरेको क्षतिका विषयमा विभिन्न चरणमा पटकपटक गणना गर्दा पनि सही र वास्तविक क्षति भएका घरधुरीहरुको विवरण आएन र सरकारले अन्तिम विस्तृत क्षतिको लेखाजोखा (Detail Damage Assessment ) गरिसकेको छ । एकातर्फ प्रभावितहरुको नामावली आएर केही विवरण थपघट, यताको उता भएको देखिन्छ भने अर्कोतर्फ प्रभावित घरधनीले आफ्नो क्षतिको विवरण आफैँ दिएर पनि नतिजा स्वीकार गरेका छैनन् ।

यसले गर्दा सरकारले अनुमान गरे भन्दा धेरै नै बढी संख्यामा घरहरु पुर्निर्माण गर्नुपर्ने देखिन्छ । यसो गर्दा सरकारको लागत बढ्न जान्छ । विकास बजेट धेरै मात्रामा पुर्निर्माणमा लगाउनु पर्दछ र यसले गर्दा सरकारलाई भार पर्न जान्छ । यसको व्यवस्थापन र समन्वय सरकारले गर्नु पर्दछ ।

सरकारले गरेको विस्तृत क्षतिको लेखाजोखा अनुसार नै काम गर्ने हो भने हालको अवस्थामा घरपरिवारले जे जे तयारी गर्नुपर्ने हो त्यो गर्नुपर्ने हो, तर यहाँ खासै केही गरेको पाइएको छैन । तथापि केही वडामा केही घर निर्माण भएका छन् र हुनेक्रममा छन् । घर निर्माणका बारेमा पूर्ण ज्ञान लिएको पाइँदैन । कसै कसैले भने स्थानीय प्राविधिकहरुसँग समन्वय गरेर निर्माण कार्य गर्न थालेको पाइन्छ ।

निर्माण सामग्रीहरुको बन्दोवस्तीको अवस्था :

घरहरू बनाउन निर्माण सामग्रीहरु आवश्यक पर्दछ जुन विपद् कार्यविधिमा पनि वन कार्यालयले काठ र स्थानीय निकायले गिटी, बालुवा सहुलियत दरमा उपलब्ध गराउनु पर्ने भनेर उल्लेख गरेको छ तर यसको उचित नियमन र प्रकृयाका बारेमा अन्योल नै देखिन्छ ।

स्थानीय बजारको अध्ययन गर्दा वर्तमान अवस्थामा दैनिक बाहिरका ठुला बजारहरुबाट निर्माण सामाग्रीहरु भित्रिएका छन् भने पुर्निमार्णको कार्यहरु सुरु भएमा बजार बढ्ने छ भने निर्माण सामग्रीको गुणस्तर तथा मूल्यका बारेमा पनि सम्बन्धित निकायहरुले नियमन गर्नु पर्ने देखिन्छ ।

सरकारले उपलब्ध गराउने रकम भनेको बाह्य सामग्री खरिद तथा दक्ष मिस्त्रीहरु परिचालन गर्नका लागि सानो सहयोग मात्र हुनेछ र त्यसको लागि अन्य काठ, गिटी, बालुवा, ढुंगा जस्ता स्थानीय सामग्रीहरु मात्र पनि सहुलियत दरमा उपलब्ध गराउन सके प्रभावित परिवारलाई राहत पुग्नेछ ।

घरको वास्तविकता

पहाडी भूगोलमा घरहरु भनेका फगत संरचना मात्र होइनन् यसमा धेरै विषयहरु जोडिएका हुन्छन् । घर, शाैचालय, भान्सा कोठा, पशुपालका लागि गोठ, खोर, सामग्री भण्डारणका लागि आवश्यक स्थानहरु जस्ता अति आवश्यक संरचनाहरु पनि निर्माण गर्न आवश्यक छ । यसका लागि बाह्य सहयोग, सरकारको सहयोग र योजना हुनु पर्दछ । परिवारका सदस्यहरु, उसको पेशा तथा आयआर्जनको अवस्थाले गर्दा पनि घर निर्माण गर्दा घरमुलीले धेरै विषय तथा क्षेत्रहरुमा ध्यान दिनु अपरिहार्य छ र यसै अनुसारका घरहरु निर्माणका लागि प्राविधिक विषयमा परामर्श गर्ने, आफूलाई आवश्यक निर्माण सामग्रीहरुको लागि तयारी गर्ने र सरकारबाट प्राप्त हुने सहयोगबाट बाह्य निर्माण सामग्री तथा दक्ष मिस्त्री ज्यालाको रुपमा खर्च गर्न घरमुली तयार हुनु पर्दछ ।

अवसर तथा चुनौतीहरु :

२०८० कार्तिकको जाजरकोट भूकम्पले धेरै जनधनको क्षति भएको छ । मानवीय क्षति त कहिले पूर्ति हुनै सक्दैन । अन्य भौतिक संरचनाहरु, सामाजिक संरचनाहरुमा पनि उत्तिकै क्षति पुगेको छ । यसै क्रममा विकासका द्वारहरु पनि खुलेका छन् । राहत, पुनर्स्थापना तथा पुर्निर्माण, पुनर्लाभका क्षेत्रमा धेरै साझेदार संघ संस्थाहरु सरकारको सहयोगीका रुपमा विभिन्न क्षेत्रहरु समेटेर अनवरत गतिविधिहरु कार्यान्वयन गरिरहेका छन् ।

वर्तमान अवस्थामा प्रायः सबै क्षेत्रका समुदायको साझा बुझाई भनेकै सबै किसिमका सहयोगहरु बाहिरबाटै गरिदिनु पर्छ वा सबै कुरामा धेरै आशावादी हुनु नै प्रमुख चुनौती रहेको पाइन्छ । पहिला रोजगारीका लागि कुनै अवसर नभएर पनि होला काम गर्ने संस्कारको कमी देखिएता पनि उहि मानिस भारत तथा अन्य स्थानमा गएर दिनरात कम मूल्यमा काम गर्न भने तत्पर भएको देखिन्छ ।

उत्पादन कम हुने भूगोल, सिंचाईको असुविधा, बढ्दो खडेरी तथा तापक्रम, सुरक्षित खानेपानीको अभाव एवं स्वास्थ्य सुविधाका लागि बाटो तथा यातायातको अभावको कारणले गर्दा अझै पनि देशका दुरदराजमा गरिब र विपन्न परिवारको अवस्था नाजुक नै रहेको छ । बढ्दो बजारीकरणको प्रभावले गर्दा भएको खेतबारी पनि बाँझो हुने, बिहान साँझको खाद्यान्नका लागि पनि अरुको मुख ताक्ने चलनले गर्दा परनिर्भरता बढ्दै गएको छ । यी सबै खाले चुनौतीलाई स्थानीय सरकारले सामना गर्दै रणनीतिक रुपमा अघि बढ्नु आवश्यक छ ।

दिगो जीविकोपार्जन, खानेपानी स्वच्छता तथा सरसफाई, खाद्य सुरक्षा, मनोसामाजिक सेवा, स्वास्थ्य तथा पोषण, विपद जोखिम न्यूनीकरण, पुर्वानुमानमा आधारित प्रतिकार्य जस्ता क्षेत्रहरुमा दर्जनभन्दा बढी साझेदार निकायहरुले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्ला तथा स्थानीय तहहरुमा कार्यक्रम संचालन गरिरहेको पाइन्छ । तर कार्यक्रमहरुमा अर्थपूर्ण र समावेशी सहभागिता नै प्रमुख चुनौतीको रुपमा देखिन्छन् । सबै क्षेत्र र तहको सहभागिताका लागि हामी सबैले अझ थप बहस र पैरवी गर्नु पर्ने देखिन्छ ।

बढदो बजारीकरण तथा शहरीकरणको प्रभावले गर्दा जनश्रम गर्ने परिपाटीमा कमी हुँदै गएको छ । समुदायले सरकार तथा साझेदार निकायबाट प्राप्त सहयोग, अनुदानको दिगो प्रभावकारी रुपमा प्रयोग गरेर लाभ लिनु अपरिहार्य छ । दिगो रोजगार तथा आयआर्जनका लागि नागरिक समाज, बुद्धिजीवीहरुको समन्वयमा स्थानीय सरकारले प्राथमिकता तय गरि कृषि, पशुपालन, जलविद्युत, जडिबुटी, बन पैदावार, पर्यटन प्रवर्द्धन, साना तथा मझौला घरेलु उद्योग, युवा लक्षित स्वरोजगार, उद्यमशिलता जस्ता क्षेत्रहरुमा स्थानीय, प्रदेश तथा संघीय सरकार तथा जिल्लामा कार्यरत साझेदार निकायहरुसँग हातेमालो गर्न सके समाज विस्तारै दिगो विकासको दिशातर्फ अघि बढ्ने छ । यसका लागि विकासका अवसरहरुलाई परिणाममुखी बनाउनु अपरिहार्य छ नत्र भने सुँगाको कथा जस्तै फेरि पनि हामी प्रकोपको जालमा पर्ने सम्भावना रहिरहन्छ ।

लेखक देवी प्याकुरेल जाजरकोट भुकम्प पूनर्लाभ परियोजना आई एन एफ नेपालका कार्यक्रम अधिकृत हुनुहुन्छ ।




भर्खरै