२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पद्वारा ‘गाजा शान्ति परिषद्’ गठनको घोषणा



डोनाल्ड ट्रम्प
अ+ अ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी समर्थनमा तयार पारिएको योजनाअनुसार ‘गाजा शान्ति परिषद्’ गठन गरिएको घोषणा गर्नुभएको छ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा गरिएको पोस्टमार्फत ट्रम्पले परिषद् गठन भएको घोषणा गर्न पाउँदा ठूलो सम्मान महसुस भएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार परिषद्का सदस्यहरूको नामावली चाँडै सार्वजनिक गरिनेछ।

ट्रम्पले यस परिषद्लाई कुनै पनि समय र स्थानमा गठन भएको सबैभन्दा महान् र प्रतिष्ठित परिषद् भनेर वर्णन गर्नुभएको छ।

शान्ति परिषद्का प्रमुखको हैसियतमा ट्रम्पले गाजामा अन्तरिम अवधिमा प्रशासन सञ्चालन गर्ने जिम्मेवारी पाएको नवगठित प्यालेस्टिनी प्राविधिक ९टेक्नोक्र्याटिक० समिति तथा राष्ट्रिय समितिलाई पूर्ण समर्थन गर्ने बताउनुभएको छ। उहाँले ती प्यालेस्टिनी नेतृत्वहरू शान्तिपूर्ण भविष्यप्रति दृढ प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ।

यो घोषणा गाजालाई युद्धपछिको अवधिमा व्यवस्थापन गर्ने उद्देश्यले १५ सदस्यीय प्यालेस्टिनी प्राविधिक समिति गठन गरिएपछि आएको हो।

अमेरिकी समर्थनमा तयार पारिएको गाजा शान्ति योजना गत अक्टोबर १० देखि कार्यान्वयनमा आएको हो। उक्त योजनामा गाजामा अन्तर्राष्ट्रिय स्थिरीकरण बल तैनाथ गर्ने, साथै प्यालेस्टिनी प्रहरी इकाइहरूलाई तालिम दिने व्यवस्था समावेश छ।

अमेरिकाका मध्यपूर्व दूत स्टिभ विटकफका अनुसार, योजनाको दोस्रो चरण बुधबारदेखि कार्यान्वयनमा आएको छ, जसको मुख्य ध्यान गाजा पट्टीको पुनर्निर्माणमा केन्द्रित छ।