काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झापा–२ का उम्मेदवार स्वागत नेपाललाई साइबर ब्युरोले सोधपुछका लागि बोलाएको विषयमा राप्रपाले आपत्ति जनाएको छ।
साइबर ब्युरो भोटाहिटीको नम्बरबाट फोन गरेर नेपाललाई हाजिर हुन भनिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिँदै यसलाई पक्राउ गर्ने प्रयासका रूपमा व्याख्या गर्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन्।
यसअघि पनि नेपाललाई एक अभिव्यक्तिको विषयमा साइबर ब्युरोले पक्राउ गरेको थियो। ‘यो नागरिक सरकार होइन’ र ‘नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिका कारण सोधपुछका लागि पक्राउ परेका नेपाल म्याद थपबिना रिहा भएका थिए।
यसपटक भने राप्रपाले राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा नेपालले दिएको भनिएको ‘हिंसाजन्य’ अभिव्यक्तिका कारण सोधपुछका लागि बोलाइएको साइबर ब्युरोको आरोप छ।
उक्त कार्यक्रममा नेपालले ‘पृथ्वीनारायण शाहले देश टुक्र्याउन खोज्ने आफ्नै परिवारलाई पनि टुक्र्याएका थिए, अहिले पनि देश टुक्र्याउन खोज्नेलाई टुक्राउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
प्रवक्ता श्रेष्ठका अनुसार उक्त अभिव्यक्ति नेपालले राप्रपामा प्रवेश गर्नुअघि दिएको हो। सामाजिक सञ्जालमा स्टाटस लेख्दै श्रेष्ठले अभिव्यक्ति आंशिक रूपमा मात्र प्रस्तुत गरिएको र बोलेकै आधारमा दुःख दिनु अवाञ्छित भएको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्–
स्वागत नेपाल अब एक्लो छैनन् स् राप्रपाका दिवंगत वरिष्ठ नेता दिपक बोहोराले अस्वस्थताका कारण एक शब्द नबोलेर पनि गत निर्वाचनमा बहालवाला गृहमन्त्रीलाई पराजित गरेको इतिहास राप्रपासंग छ। हाम्रो पार्टीका झापा(२ का उमेदवार प्रखर बक्ता, अधिवक्ता स्वागत नेपाललाई चुनाव प्रचारमा रहेको समयमा केही समयअघि बोलेकै आधारमा सरकारी संयन्त्रले निरुत्साहित तुल्याउने प्रपञ्च गर्दैछ जुन आपत्तिजनक छ। स्वागतजी नबोल्ने, बोल्न नसक्ने र कानुन नजान्ने मान्छे होइनन् भन्ने हेक्का रहोस्।
राप्रपाले देशैभरी उम्मेदवारी दिएर कुशासनयुक्त भ्रष्ट व्यवस्था रोज्ने कि देश बचाउने भन्ने प्रमुख दुई धार सिर्जना गर्दै मुख्य प्रतिस्पर्धामा देखिएपछि सरकारले देशैभरी राप्रपाका उम्मेदवार विरुद्ध अनावश्यक र पुराना विषय उठाएर आक्रमणमा उत्रिएको छ। यसै क्रममा झापा क्षेत्र नं २ का उम्मेदवार स्वागत नेपाललाई साईबर ब्युरो भोटाहिटीको फोन नम्बर ९८५१२८६७७१ बाट फोन गरी हाजिर हुन भनिएको छ।
उहाँले राप्रपामा समाहित हुनुअघि नै ‘’यो सरकार दलको हो, नागरिक सरकार होइन भनेको र नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएर नागरिक सरकार बनाउनुपर्छ’’ भनेको विषयमा बोलाएर म्याद थप नगरी सकिएको विषयमा फेरि बोलाएको भनिएको रहेछ, साथै राप्रपाले राष्ट्रिय एकता दिवसको दिन भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रमा ‘’पृथ्वीनारायण शाहले अंशबण्डा गरेर देश टुक्राउने आफ्नै परिवारका र सगोत्रीलाई पनि टुक्र्याएका थिए अहिले पनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउनुपर्छ, म पृथ्वीनारायण शाहजस्तै आफ्नै परिवारको भएपनि देश टुक्रयाउन खोज्नेलाई टुक्राउॅछु” भनेको विषयमा पक्राउ गर्न खोजिएको रहेछ। जतिबेला जुन अभिव्यक्ति दिनुभयो त्यतिबेलासम्म स्वागतजी राप्रपामा समाहित भइसक्नु भएको थिएन । उहाँको त्यतिबेलाको आधा भनाइ मात्र केही मिडियामा आएको र केहीमा पुरै भनाई आएको स्वागतजीको भनाइ छ। सिंहदबार जलाउँछु भन्नेहरुले जलाइसके तर स्वागत नेपाललाई बोलेकै आधारमा दुस्ख दिने नियत अवाञ्छित छ।
दलको टिकट लिएर निर्वाचनमा होमिएको उमेदवार दलले निर्धारण गरेको तालिकामा हिड्नुपर्छ। स्वागतजी यतिबेला झापा-२ को निर्वाचनको प्रचारप्रसारमा हुनुहुन्छ र पूर्व निर्धारित तालिकामा हुनुहुन्छ। हाम्रो झापा(२ को उमेदवार स्वागतजीको प्रचार गरिदिने काममा सरकार लागेको हो भने स्वागत नै छ तर अनावश्यक दु:ख दिने, झण्झटमा पार्ने र चुनावी गति अवरुद्ध गर्ने नियोजित प्रयास हो भने सह्य हुने छैन- सरकारको गम्भीर ध्यानाकर्षण गराउॅदछौं ।












