काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४का उम्मेदवार गगनकुमार थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको बताउनु भएको छ । सर्लाही जानु अगाडी एक भिडिओ सन्देश जारी गर्दै थापाले भन्नुभएको छ ‘म मधेश जाँदै छु, किनकी म देश जोड्न चाहन्छु ।’
सन्देशमा थापाले भन्नुभएको छ ‘मधेससँगको सम्बन्ध प्रगाढ बनाउनुपर्ने भन्ने मेरो तिव्र इच्छा भयो र आवश्यक पनि थियो,’ थापाले भन्नुभएको छ , ‘पहाडबाट झरेको मेरो परिवार, काठमाडौँमा हुर्केको म सिंगो देशको हुनुपर्छ, त्यसका लागि मैले एक पटक मधेसको माटो ढोग्नुपर्छ, टेक्नुपर्छ, आशीर्वाद लिनुपर्छ, त्यससँग जोडिनुपर्छ, त्यहीभित्र लडिबुडी गर्नुपर्छ भन्ने सोच राखेर यो निर्णय गरेको हुँ।’
उहाँले भन्नुभएको छ ‘म सिङ्गो नेपालको हुन्छु भन्ने मलाई विश्वास छ भने सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधित्व गर्ने अवसर मैले प्राप्त गर्दैगर्दा काठमाडौं ४ लाई पनि म मन मुटुमा लिएर हिँड्न सक्छु । सर्लाहीबाट पनि म नयाँ अनुभव लिएर आउने छु,’– उनले भनेका छन् ।
यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट ३ पटक चुनाव जितेका नेता थापाले सो क्षेत्रलाई पनि मनमुटुमा राख्ने बताएका छन् ।












