२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अंग प्रत्यारोपणलाई मिल्यो पाँचौ सफलता



अ+ अ-

काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रलाई पाँचौँ सफलता मिलेको छ । केन्द्रले गत २८ पुसमा पाँचौँ पटक प्रत्यारोपण गरेको हो । सर्लाहीका ६२ वर्षीय योगेन्द्र महतोलाई उनका छोरा ३५ वर्षीय पंकज महतोले कलेजो दान दिएका हुन । प्रत्यारोपणका लागि भारतको नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरको कलेजो विभाग प्रमुख तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सुभास गुप्ता नेतृत्वको पाँच जनाको टोली आएको थियो । यता नेपाली टोलीको नेतृत्व केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए ।

नेपाली टोलीमा डा. श्रेष्ठ सहित डा. आरती राई, डा. निरज जोश, डा. सञ्जय यादव, डा. जयन्त कुमार शाह, डा. निभा श्रेष्ठ, डा. अनिषा तिवारी, डा. सपना वर्मा, डा. रोशन घिमिरे, डा. कर्ण राजवंशी, डा. रश्मित श्रेष्ठ, डा. अच्युत खनाल, कोपिला दाहाल, बबिता लबजु, अनिता कार्की, विनिता उप्रेतीलगायतको टोली संलग्न थियो । सो प्रत्यारोपणका लागि नेपाली तथा भारतीय गरी ३० जना चिकित्सक तथा नर्सहरूको टोली सहभागी भएको केन्द्रले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले कम्तिमा महिनामा एउटा कलेजो प्रत्यारोपण गर्ने योजना रहेको जानकारी दिए ।

नेपाललाई मानव शरीरको अंग प्रत्यारोपणमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ २०६९ वैशाख ११ गते स्थापना भएको यस केन्द्रले पहिलो कलेजो प्रत्यारोपण भने २२ मंसिर २०७३ मा गरेको थियो । त्यसबेला कोरियाबाट आएका प्रत्यारोपण विज्ञले सघाएका थिए । त्यसको केही समयपछि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला तथा कलेजो समेत प्रत्यारोपण भएको जनाएको छ । सातामा अधिकतम ६ देखि ८ वटासम्म मिर्गौला प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०७५/७६ मा १७९ जनाको मिर्गौला प्रत्यारोपण गरेको थियो ।

हालसम्म ६८० जनाको मिर्गौला प्रत्यारोपण ९९५ सफलताका साथ सम्पन्न गरेको निर्देशक डा। श्रेष्ठले बताए । नेपालमा बर्षेनी करीब १ हजार जनाभन्दा बढीको कलेजो फेल हुने अनुमान गरिएको छ । नेपालमा करिब २० लाख रुपैयाँमा कलेजो प्रत्यारोपण हुने गर्दछ भने भारत तथा अन्य विकसित देशहरूमा कलेजो प्रत्यारोपण गर्दा करिब १ करोडदेखि डेढ करोडसम्म खर्च लाग्ने अनुमान छ ।

अध्ययनका अनुसारका नेपालमा करिब ८ लाख मानिसमा कलेजोसम्बन्धी केही न केही रोग लागेको देखिन्छ भने करिब १० हजार व्यक्तिमा कलेजो सम्बन्धी गम्भीर रोग लागेको (कलेजो फेल) अनुमान छ । नेपालमा कलेजो फेल हुनुको मुख्य कारण अधिकरूपमा मदिरा सेवन गर्नु हो । सौर्य देनिकबाट