२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक प्रकाश सपुत रास्वपामा किन प्रवेश गरे ?



अ+ अ-

काठमाडौं : गायक प्रकाश सपुतले आफू अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको स्वीकार गरेका छन् ।

उनले आज सामाजिक संजालमा पार्टी प्रवेशका विषयमा लामो स्टाटस लेखेर रास्वपाका दुई नेता बालेन शाह र रबि लामिछाने प्रति आभार व्यक्त गरेका छन् ।

शुभेच्छुक र मतदातालाई सम्बोधन गरिएको त्यस स्टाटसमा उनले नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने/सहयोग गर्ने निधो गरेको छु भनेका छन् ।

उनले अगाडि लेखेका छन्, ”अब ‘अन्तिम पटक’ म र म जस्तै आम नेपालीहरुले कुनै व्यक्ति र शक्ति (दल) लाई विश्वास गर्दैछन् । मैले मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु ।अब तपाईहरुलाई निरास बनाउने छुट छैन ।”

रास्वपाले प्रकाश सपुतलाई समानुपातिक बन्दसूचीमा समेत नाम समावेश गरेको छ । यद्यपि उनी यसअघि रास्वपाका पक्षमा त्यति खुलस्त हुन सकेका थिएनन् ।

प्रकाश सपुतको स्टाटस

प्रिय शुभेच्छुक,
आदरणिय मतदाता,

आजको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनैतिक व्यवस्था र नयाँ संविधान ल्याउन योगदान दिने सम्पुर्ण शहिद, सबै सबै राजनैतिक दल र अग्रज नेताहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, सम्पूर्ण नेपालीहरुको आफ्नो व्यक्तिगत राजनैतिक आस्था र विचारको कदर गर्दै , कसैलाई अपमान र अनादर नगर्ने प्रतिवद्दता सहित नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनैतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने/सहयोग गर्ने निधो गरेको छु ।

अध्यक्ष रवि लामिछाने ज्यू,
प्रिय बालेन,

मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको मेरो कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर तपाईहरुसंग हातेमालो गर्दैछु । पेशा र व्यावसायिक हिसाबले यो मेरो जीवनकै कठोर निर्णय हो । मेरो यो कठोर निर्णय गलत सावित हुने छैन भन्नेमा मलाई विश्वास छ । कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक स्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौ । हामी सँगै देशले जित्नेछ ।

म भर्खरै मेला महोत्सव मार्फत् नेपालभरिका लाखौ नेपालीजनहरु माझ प्रत्यक्ष पुगेर फ़र्किएको छु । हामीले सामाजिक सञ्जालमा देखे जस्तो उनीहरु उग्र र उत्तेजित छैनन्, बरु शान्त छन तर, निरास छन् । नेता र निर्वाचन प्रति उनीहरुको विश्वास उडिसकेको छ । यधपि तपाईहरुको उदय संगै मैले जस्तै अब ‘अन्तिम पटक’ कसैलाई विश्वास गर्दैछन् । मैले देखे उत्साहित छन् तर ढुक्क छैनन् ! थुप्रै प्रश्न र डर सहित केबल आसावादी छन् । “ जो आए पनि सबै उस्तै हुन “ भन्ने मनोविज्ञान छ । तपाईहरु किन ’सबै उस्तै’ मध्य होईन ? किन फरक हो ? किन आउनुभयो ? बुझाउनु पर्ने छ । राजनितिको आडमा केहि व्यक्ति र शक्तिले बन्धक बनाएको यति सुन्दर व्यवस्थालाई फुकुवा गरेर यो देश, यो व्यवस्था हामी सबैको हो भन्ने अनुभुती गराउनु पर्ने छ । अब विचारको भारी होईन सुधार, विकास र समृद्दिको ज़िम्मेवारी बोक्नु पर्ने छ । कम्तिमा तपाईहरुको नेतृत्वमा यो देशको सुधार हुनेछ र समृद्ध नेपालको शुरुवात मात्रै भए पनि हुनेछ । र, म त्यो सुधार र समृद्धिको यात्रामा तपाईहरुलाई खबरदारी गर्दै साथी र साँची हुन आएको छु ।

फेरी दोहोर्याउछु,

अब ‘अन्तिम पटक’ म र म जस्तै आम नेपालीहरुले कुनै व्यक्ति र शक्ति (दल) लाई विश्वास गर्दैछन् । मैले मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु ।अब तपाईहरुलाई निरास बनाउने छुट छैन ।