२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावको मुखमा तराइमा देखिएका यी तीन दृश्य !



अ+ अ-

काठमाडौं ।  मानिसमा प्रायः एउटा दुविधा हुने गर्दछ— भिडको पछि लाग्ने कि भिडलाई पछि लगाउने भनेर । यस्तै दृश्य हिजोआज देखिँदैछन् चुनावको मुखमा ।

यतिखेरको प्रसंग हालैको तराई मधेशको हो । हिजोमात्र तराइमा दुई नेता छिरे नेपाली कांग्रेसका सभापति गगन थापा र यता रास्वपाका नेता बालेन साह । अनि हिजो नै मधेशको जनकपुर पुगेका थिए पूर्वराजा ज्ञानेन्द्र शाह पनि । यी तीनै जनाका पछाडि जनताको भिड उत्तिकै थियो । तर स्पष्ट थिएन— उनीहरुले भिडलाई पछि लगाइरहेका छन् या भिडको पछि आफूहरु लागेका छन् ।

बालेन हिजो कैलालीको धनगढी पुगेका थिए । उनको पछि सबैभन्दा ठूलो भिड देखिएको थियो । उनलाई सवारी चलाउन र उनको अघिपछिका मानिसहरुको व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई नै धौ धौ परेको थियो । गाडीमै पनि यस्तो देखिएको थियो कि मानिसहरु नअटेर गाडीबाटै लढेका पनि थिए । ती दृश्यहरु पनि उत्तिकै देखियो । अनि बालेनलाई छुन खोज्ने र हात मिलाउन खोज्नेहरु पनि त्यत्तिकै थिए, तर उनले त्यो भिडसँग आँखा मात्र पनि जुधाउन सम्भव थिएन ।

उता गगन थापा सर्लाली जाँदाको दृश्य पनि त्यस्तै थियो । उनलाई पनि विमानस्थलदेखि नै कार्यकर्ताहरुले घेरा हालेको देखिन्थ्यो । उनको सो दृश्यलाई केही दिन अघि झापा पुगेका बालेन साहको भिडलाई बिर्साउन खोज्नेगरी मिडियाले प्रस्तुत गरेको जस्तो पनि देखिन्थ्यो । जे होस् भिडको प्रतिस्पर्धामा उनको भिड पनि कम्ताको थिएन ।

यता फेरि पूर्वराजा ज्ञानेन्द्रको भिड उस्तै देखिन्थ्यो जनकपुरमा । जनकपुर पुगेर उनले जानकी माताको दर्शन पनि गरेका थिए । उनलाई पनि जनकपुर विमानस्थल देखि नै नाराबाजीसहित मानिसहरुले मन्दिर पुर्याएका थिए । मन्दिर पुग्दा पूर्वराजाका समर्थकहरुले राजा आउ देश बचाउ सम्मका नारा लगाएका थिए । ठूलो भिडलाई राजाले हात हल्लाएर स्वागत गरेपछि मात्र प्रहरीलाई भिड नियन्त्रण गर्न सजिलो भएको थियो ।

जे होस्, यी तिनै भिड भिन्न उद्देश्यका थिए । पूर्वराजाका समर्थक राजा फर्काउन चाहन्थे भने यता बालेन साहका भिडले पुराना पार्टी र नेताले चलाइरहेको अहिलेको गणतान्त्रिक व्यवस्थामा आमूल परिवर्तन ल्याउनका लागि एक दरिलो शक्ति खडा गर्न चाहन्थे । बालेनको पछाडिको भिड हातमा घन्टी बाकेर अहिले नयाँ शक्ति निर्माणको अभियानमा जुटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाको त्यो भिडमा बालेन मिसिएपछि अहिले भिडको आकार दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।

हालैमात्र विशेष महाधिवेशनमार्फत् पार्टीका सभापति शेरबहादुर देउवालाई फालेर सभापति बनेका गगन थापाको पछिका कांग्रेस कार्यकर्ताहरु भने यही व्यवस्थाको निरन्तरता चाहन्छन् नयाँ सभापतिको नेतृत्वमा । उनीहरुको आगामी चुनावी एजेण्डा नै पार्टी बदल्ने र त्यसपछि देश बदल्ने रहेको छ ।

तर बालेन एजेण्डाबारेमा केही बोल्दैनन् । यतिखेर उनी घन्टी हल्लाउँदै हिँड्ने भूमिकामा देखिन्छन् । हिजो गगनले मधेशलाई काठमाडौँसँग जोड्न आफू मधेश पसेको जनाइरहँदा यता बालेन भने केही बोलेनन् । उता राजा ज्ञानेन्द्र झन् बोल्ने कुरै भएन । किनभने उनी यतिखेर मधेश पुगेर मात्र होइन कि बाहिरको कुनै कार्यक्रममा पनि बोल्ने गरेका छैनन् ।

तर उनीहरुको पछिका भिडले भने बोलिरहेकै छन् । आआफ्ना नारा भट्याएकै छन् । र त पछि पछि लागिरहेका छन् । तर ती भिड र यी नेता सबैले यो कुरा बुझ्न सक्दा राम्रो हुनेछ कि— भिडको पछि लाग्ने कि भिडलाई पछि लगाएर हिँड्ने ?