१४ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीको सिएमटी मेलामा नेपालको सहभागिता



अ+ अ-

काठमाडौँ। नेपालले जर्मनीको स्टुटगार्टमा आयोजित प्रतिष्ठित क्याराभान, मोटर तथा पर्यटन मेला(सिएमटी) मा सहभागिता जनाएको छ ।

युरोपेली बजारमा नेपाललाई आकर्षक पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले यही जनवरी १७ देखि २५ सम्म मेला आयोजना गरिएको थियो ।

उक्त मेलामा नेपाल–जर्मन उद्योग वाणिज्य सङ्घ (एनजिसिसिआई) का अध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाली व्यवसायीको टोलीको संयोजनको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । उहाँले राससलाई भन्नुभयो, “यो मेला नेपाल र जर्मनको पर्यटनलाई जोड्ने महत्वपूर्ण पुल हो ।”

उहाँसँगै नेपाल राइजन ट्रेक्स एन्ड एक्स्पीडिसनका शेरबहादुर परियार, जर्मनीमा आधारित शेर्पा राइजन जिएमएचडिका नाम्ग्याल शेर्पा र साङ्ग्रिला राइजनका प्रतिनिधिसमेत सहभागी हुनुहुन्थ्यो । सहभागी सबै पर्यटन व्यवसायी जर्मनी तथा युरोपेली बजारमा विशेषगरी तीन दशकभन्दा बढी अनुभव भएका अनुभवी उद्यमी रहेको अध्यक्ष कुँवरले बताउनुभयो ।

उक्त सहभागिताको उद्देश्य जर्मनीमा नेपालको पर्यटन प्रवद्र्धनलाई अझ सुदृढ बनाउनु रहेको थियो । मेलामा उनीहरूले नेपालको पर्यटन उत्पादन, साहसिक गन्तव्य, सांस्कृतिक सम्पदा तथा दिगो पर्यटनका अवसरलाई अन्तरराष्ट्रिय दर्शकमाझ प्रस्तुत गरेका थिए ।

यस वर्षको सो मेलामा दुई लाख ६६ हजारभन्दा बढी दर्शकको उपस्थिति थियो । मेलामा एक हजार ६०० प्रदर्शकले आफ्ना उत्पादन तथा सेवा प्रस्तुत गरेका थिए भने विभिन्न देशहरूका प्रतिनिधिको सहभागिता थियो । उक्त मेला पहिलो पटक सन् १९६८ मा आयोजना गरिएको थियो ।

सुरुमा मोटरस्पोर्ट तथा मनोरञ्जन प्रदर्शनीका रूपमा प्रारम्भ भएको यो मेला समयक्रममा विकसित हुँदै आज पर्यटन, क्याराभानिङ र मनोरञ्जन क्षेत्रको विश्वकै ठूला सार्वजनिक व्यापार मेलामध्ये एकको रूपमा स्थापित भएको छ । रासस