२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरोन जोन्समाथि भ्रष्टाचारको आरोप, विश्वकप गुमाउने सम्भावना बढ्यो



अ+ अ-

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसि)ले अमेरिकी ब्याटर आरोन जोन्स (Aaron Jones) माथि भ्रष्टाचारविरोधी संहिता उल्लङ्घनका पाँच आरोप लगाएको छ । आरोपसँगै उनलाई तत्काल लागू हुने गरी सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको छ । जोन्सलाई आरोपबारे आफ्ना भनाई राख्न १४ दिनको समय दिइएको छ ।

३१ वर्षीय जोन्स टी–२० विश्वकपको तयारीका लागि श्रीलंकामा भइरहेको अभ्यासका क्रममा १८ खेलाडीको प्रशिक्षण शिविरमा सहभागी छन् । यद्यपी अमेरिकाले हालसम्म विश्वकपका लागि अन्तिम टोली घोषणा गरिसकेको छैन । तर प्रशिक्षण शिविरमा रहेका खेलाडीमध्येबाट १५ जनाको टोली चयन गर्ने अपेक्षा गरिएको थियो । आरोप लागेपछि जोन्स अब टोली छनोटका लागि अयोग्य भएका छन् ।

आइसिसिका अनुसार जोन्सविरुद्धका अधिकांश आरोप २०२३–२४ सिजनको बार्बाडोसमा सम्पन्न बिम१० प्रतियोगितासँग सम्बन्धित छन्, जुन क्रिकेट वेस्ट इन्डिजको क्षेत्राधिकार भित्र पर्छ । यसबाहेक, दुई आरोप अन्तर्राष्ट्रिय खेलसँग सम्बन्धित रहेका छन् ।

आइसिसिले यो मामला विस्तृत अनुसन्धानको हिस्सा भएको उल्लेख गर्दै आगामी दिनमा अन्य व्यक्तिहरूमाथि पनि थप आरोप लाग्न सक्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय करिअर र उल्लेखनीय प्रदर्शन

जोन्सले सन् २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले अमेरिकाका लागि ५२ एकदिवसीय र ४८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

२०२४ टी–२० विश्वकपमा उनले क्यानडाविरुद्ध ४० बलमा ९४ रनको अविस्मरणीय इनिङ खेलेका थिए । त्यस्तै पाकिस्तानविरुद्धको ऐतिहासिक जितमा उनले २६ बलमा अविजित ३६ रन बनाएका थिए ।

जोन्सले क्यारेबियन प्रिमियर लिग, मेजर लिग क्रिकेट र बंगलादेश प्रिमियर लिग जस्ता फ्रेन्चाइज लिगहरूमा पनि खेलिसकेका छन् । उनले अन्तिमपटक अप्रिल २०२५ मा अन्तर्राष्ट्रिय खेल खेलेका थिए । एजेन्सी