साना। विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपिओ)ले हुथी नियन्त्रित यमनमा रहेका सबै ३६५ कर्मचारीको सम्झौता अन्त्य गर्ने भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बिहीबार एएफपीसँग बताएका छन् ।
नाम नबताउने सर्तमा ती अधिकारीले भने, “भोकमरीले गम्भीर रूपमा पीडित क्षेत्रमा पनि कार्यक्रम पूर्णरूपमा अन्त्य हुँदैछ ।”
राष्ट्रसङ्घीय अधिकारीले भने, “इरान समर्थित हुथी विद्रोहीले ३८ जना कर्मचारीलाई हिरासतमा लिएपछि संयुक्त राष्ट्र सङ्घले विद्रोहीको कब्जामा रहेको क्षेत्रमा काम स्थगित गरेको हो।”
“चुनौतीपूर्ण कोष र वातावरणसँगै डब्ल्यूएफपीले मार्चको अन्त्यदेखि ३६५ कर्मचारी सदस्यहरूको सम्झौता समाप्त गर्न आवश्यक ठानेको छ,” उनले भने।
“वास्तविक हुथी अधिकारीहरूको नियन्त्रणमा रहेका क्षेत्रहरूमा काम गर्ने ३६५ यमनी कर्मचारीहरू डब्लुएफपीको कार्यक्रम सफल पार्न नियुक्त गरिएका सदस्यहरू हुन्,” अधिकारीले भने। डब्लयुएफपीले यमनबाट अन्तर्राष्ट्रिय कर्मचारीलाई यसअघि नै फिर्ता लिइसकेको थियो ।
संयुक्त राष्ट्रसङ्घको तथ्यांक अनुसार यमनमा करिब एक करोड ९५ लाख मानिस अर्थात् आधाभन्दा बढी जनसंख्यालाई सन् २०२५ मा मानवीय सहायताको आवश्यकता परेको थियो र ती अधिकांश यमनी हुथी नियन्त्रित क्षेत्रमा बस्छन् ।
गत नोभेम्बरमा डब्लुएफपी र संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले यमनलाई ’विनाशकारी भोकमरीको खतरा’ भएको देश घोषणा गरेको थियो ।
यद्यपि, गाजामा युद्ध सुरु भएदेखि नै कथित इजरायली जासुसी घेराहरूमाथि कारबाहीको एक भागको रूपमा हुथीहरूले बारम्बार संयुक्त राष्ट्रसङ्घीय निकायहरूमाथि निशाना बनाउँदै आएका छन्।
अधिकारीले भने, “स्वेच्छाचारी गिरफ्तारीको अभियानका कारण अगस्ट २५ मा हाम्रो सुविधामा काम रोकिएको थियो।”
संयुक्त राष्ट्रसङ्घका ६९ जना कर्मचारीलाई जासुसीको आरोप लगाउँदै पूर्ण रूपमा हिरासतमा लिएको छ । मानवीय सहायताका लागि खाद्यान्न उपलब्ध गराउने काममा सक्रिय वैश्विक निकायले जासुसीको आरोपलाई कडा रूपमा अस्वीकार गरेको छ।
हुथी विद्रोहीले सन् २०१४ मा राजधानी साना कब्जा गरेका थिए र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई राजधानी सानाबाट हटाउन सफल भएका थिए । त्यसपछि साउदी अरबको नेतृत्वमा वर्षौं लामो सैन्य हस्तक्षेपले पनि उनीहरूलाई हटाउन असफल भएको थियो ।
सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्धविरामपछि रोकिएको यो युद्धले लाखौँको ज्यान लिएको छ र यसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कट सिर्जना गरेको छ।
संयुक्त राज्य अमेरिकाको नेतृत्वमा प्रमुख दातृ राष्ट्रहरूले उनीहरूको योगदानमा कटौती गरेसँगै विश्वव्यापी सहायता क्षेत्र द्रुत रूपमा कोषको अभावसँग जुधिरहेको छ। (रासस/एएफपी)











