२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा निष्पक्ष पत्रकारिताको आवश्यकता : प्रेस काउन्सिलद्वारा अन्तरक्रिया



अ+ अ-

काठमाडौँ: पत्रकार आचारसंहिताको कार्यान्वयन, निर्वाचन र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै बुधबार प्रेस काउन्सिलले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले काउन्सिल स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा कार्यरत रहेको बताउनुभयो । उहाँले पत्रकारितालाई व्यावसायिक, मर्यादित, जवाफदेही तथा उत्तरदायी बनाउन काउन्सिल निरन्तर सुधारोन्मुख रहेको उल्लेख गर्नुभयो । साथै, सम्पादकहरूले दिएका सुझावलाई आत्मसात गर्दै काउन्सिललाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, निर्वाचन आयोग, सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिलका पदाधिकारी तथा विभिन्न अनलाइन मिडियाका सम्पादकहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले निर्वाचन अवधिमा पत्रकारहरूले पत्रकार तथा निर्वाचन आचारसंहिताको पालना गर्दै सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले निर्वाचन हामी सबैको सामुहिक जिम्मेवारी भएको जनाउदै यसमा विभिन्न स्टेक होल्डरहरु रहेको बताउनु भयो । उहाँले भन्नुभयो “नेपाल सरकार एउटा स्टेक होल्डर हो । निर्वाचन आयोग अर्को स्टेक होल्डर हो । राजनीतिक दल अर्को स्टेक होल्डर हुन् भने आम सञ्चार जगत पनि एउटा महत्वपूर्ण स्टेक होल्डर हो ।मतदाता पनि आफ्नो ठाउँमा स्टेक होल्डर हुन् । निर्वाचन आयोगले संवैधानिक निकायका रुपमा आफ्नो भूमिका निभाइरहेको छ । हामीले परिणाम देखिने गरी काम गरिरहेका छौँ ।”

सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य सचिव छवीन्द्र पराजुलीले सञ्चारमाध्यम समाजका लागि सूचना प्रवाहको प्रमुख माध्यम भएकाले सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पछिल्लो समय चरित्रहत्या, भ्रामक तथा घृणात्मक सामग्री प्रकाशनको प्रवृत्ति बढ्दै गएको जानकारी गराउनुभयो । साथै, सामाजिक सञ्जालमा भाइरल हुने सामग्रीहरूसमेत काउन्सिलको निगरानीमा रहेको बताउनुभयो ।

कार्यक्रममा सम्पादकहरुले पत्रकारका व्यक्तिगत सामाजिक सञ्जाल खाताबाट आचारसंहिता विपरीत सामग्री प्रकाशन हुने गरेको उल्लेख गर्दै त्यसको नियमन आवश्यक रहेको धारणा राखेका थिए । उनिहरुले मिडिया क्षेत्रको विश्वसनीयता अभिवृद्धिका लागि पत्रकार लाइसेन्स प्रणाली र अनलाइन मिडियाको वर्गीकरण आवश्यक रहेको बताए ।

सहप्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जाल अनुगमन तथा उजुरी प्रक्रियाबारे जानकारी गराउनुभयो । काउन्सिलले आगामी दिनमा अन्य सरोकारवालासँग पनि यस विषयमा निरन्तर छलफल गर्दै जाने जनाएको छ ।