ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद तामाङले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी लललितपुर। लितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार आज बिहान ६ः०० बजेको समयमा २३ वर्षीया कोपिला नेपाली र निजका श्रीमान् ३० वर्षीय बिनोद तामाङबीच विवाद हुँदा श्रीमानले चिर्पटले हानी श्रीमतीको हत्या गरेको बिनोद स्वयंले प्रहरी चौकी टिकाभैरवमा आइ जानकारी गराएका हुन् ।
“दुवै जनाले मादक पदार्थ सेवन गरेको कुरा श्रीमान स्वयंले स्वीकार गरेका छन्, निज श्रीमान आफैँ प्रहरी चौकी टीकाभैरवमा आएर जानकारी गराएका हुन्,” उहाँले भन्नुभयो, “तत्पश्चात निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी टीकाभैरव र प्रहरी वृत्त चापागाउँको प्रहरी नायब उपरीक्षक शिला थापाको कमाण्डमा घटनास्थल अनुसन्धान टोली गई लास जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा भएको छ ।”
शव परीक्षणका लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अभियुक्त तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी मिश्रले बताउनुभयो । रासस











