२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन दलमा कसले लेख्दैछन् घोषणा पत्र?



अ+ अ-

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले घोषणा पत्र लेखिरहेका छन् । निर्वाचन आउन ३० दिन बाँकी रहदा दलहरुले केही दिन भित्र घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

नेपाली कांग्रेसले पार्टीका नेता तथा कार्यकर्ता र विभिन्न विषयगत क्षेत्रहरूबाट सुझाव लिएर घोषणा पत्र लेखिरहेको हो। कांग्रेसले सभापति गगन थापामा नेतृत्वमा रहेको एक समितिले घोषणा पत्र लेखिरहेको छ ।

यसैगरी एमालेले अध्यक्ष केपी ओलीको नेतृत्वमा घोषणा पत्र लेखन कार्य गरिरहेको छ ।

घोषणा पत्र लेखन समितिमा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्त, ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल रहनु भएको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कमिटी बनाएर घोषणा पत्र तयार गरिरहेको छ । नेकपाले १० वटा कार्यविभाजन गरी नेताहरूलाई जिम्मा दिइएको छ।

नेकपाका अनुसार प्रमेश हमाल, राजेन्द्रप्रसाद श्रेष्ठ, देव गुरूङ र शक्ति बस्नेतले राजनीतिक बिषयको मस्यौदा तयार गरिरहनु भएको छ ।

यसैगरी सुशासन, प्रशासन सुधार र महिला हक हितका लागि पम्फा भूसाल, शिक्षा स्वास्थ्यतर्फ गिरिराजमणि पोखरेल र शक्ति बस्नेतलार्य जिम्मेवारी दिईएको छ ।

यसैगरी समावेशीकरण, आदिवासी जनजाति, दलित, मुस्लिम, थारू, र सीमान्तकृत समुदायको हकहितबारे योजना तयार पार्न परशुराम तामाङलाई जिम्मेवारी दिइएको छ । त्यस्तै भूमि, किसान र सुकुम्बासीको क्षेत्रमा योजना तयार पार्न बलराम बाँस्कोटा, नहेन्द्र खड्का र डा। भीमा ढुंगानालाई जिम्मेवारी दिइएको छ ।

मजदुरबारे प्रेमल खनाल र जय कार्कीलाई जिम्मेवारी दिइएको छ । उद्योग, पर्यटन र रोजगारीबारे सुवास काफ्ले, परराष्ट्र नीति, डिजिटल नेपाल अभियानबारे युवानाथ लम्साल र विकास ढकाललाई जिम्मेवारी दिइएको छ। महिला र सामाजिक सुरक्षाबारे मस्यौदा लेखनका लागि दुर्गा न्यौपाने भट्टराईलाई जिम्मेवारी दिईएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको समूहले वाचापत्र मस्यौदा समिति बनाएर काम गरिरहेको छ ।

रास्वपाले बनाएको वाचापत्र मस्यौदा कार्यदलमा उपसभापति वाग्लेका अतिरिक्त केन्द्रीय सदस्य अरनिको पाँडे, सोबिता गौतम, क्रान्तिशिखा धिताल लगायत रहेका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा घोषणा पत्र लेख्ने काम गरिरहेको छ।