वासिङ्टन (एपी) — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भारतबाट आयात हुने वस्तुमा लगाइँदै आएको भन्सार कर २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्ने योजना घोषणा गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल खरिद रोक्ने सहमति जनाएपछि यस्तो निर्णय गरिएको हो ।
ट्रम्पले महिनौँदेखि भारतलाई सस्तो रूसी कच्चा तेलमा निर्भरता घटाउन दबाब दिँदै आउनुभएको थियो । फेब्रुअरी २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि विश्व समुदायले रूसलाई अलग्याउने प्रयास गरिरहेका बेला भारतले कम मूल्यमा रूसी तेल खरिद गर्दै आएको थियो ।
ट्रम्पका अनुसार भारतले अमेरिकी वस्तुमा लगाइने आयात कर शून्यमा झार्नेछ र अमेरिकाबाट ५०० अर्ब अमेरिकी डलर बराबरका वस्तु खरिद गर्नेछ ।
“यसले युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न सहयोग पुर्याउनेछ, जहाँ प्रत्येक हप्ता हजारौँ मानिस मारिएका छन्,” ट्रम्पले भारतमाथिको कर घटाउने निर्णय सार्वजनिक गर्दै ट्रुथ सोसलमा लेख्नुभएको छ ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा कर घटाउने घोषणाबाट आफू “प्रसन्न” भएको जनाउँदै ट्रम्पको “नेतृत्व विश्व शान्ति, स्थिरता र समृद्धिका लागि महत्वपूर्ण” रहेको उल्लेख गर्नुभएको छ । “हाम्रो साझेदारीलाई अभूतपूर्व उचाइमा पुर्याउन उहाँसँग नजिकबाट काम गर्न आतुर छु,” मोदीले लेख्नुभएको छ ।
ट्रम्प र मोदीबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भए पनि युक्रेन युद्ध र व्यापार विवादका कारण पछिल्लो समय सम्बन्ध जटिल बनेको छ ।
ट्रम्पले चुनावी अभियानका क्रममा रूस–युक्रेन युद्ध छिट्टै अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, तर पद सम्हालेपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि कडा दबाब दिन उहाँ हिच्किचाउँदै आउनुभएको छ । साथै, उहाँले कांग्रेसको स्वीकृति बिना नै आफ्नो आर्थिक तथा परराष्ट्र नीति लक्ष्य हासिल गर्न भन्सार कर प्रयोग गर्दै आउनुभएको छ ।
भारतसँग भएको सम्झौताको घोषणा त्यतिबेला आएको हो, जब ट्रम्पका विशेष दूत स्टिभ विट्कफ र ज्वाइँ जारेड कुशनर यसै साता अबुधाबीमा रूसी र युक्रेनी अधिकारीहरूसँग त्रिपक्षीय वार्ता गर्ने तयारीमा छन् । एक ह्वाइट हाउस अधिकारीका अनुसार ती वार्ताको उद्देश्य युद्ध अन्त्यका उपाय खोज्नु हो ।
ट्रम्पले रूसको तेल आम्दानीलाई लक्षित गर्नु नै युद्ध अन्त्य गराउने सबैभन्दा प्रभावकारी उपाय भएको विश्वास व्यक्त गर्दै आउनुभएको छ, जुन उहाँको कर नीतिसँग पनि मेल खान्छ ।
जुन महिनामा ट्रम्पले भारतले अमेरिकी बजार पर्याप्त रूपमा नखोलेको र व्यापार घाटा घटाउन नसकेको भन्दै भारतीय वस्तुमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । त्यसपछि अगस्टमा रूसी तेल खरिद गरेको कारण थप २५ प्रतिशत कर लगाइयो, जसले कुल कर दर ५० प्रतिशत पुगेको थियो ।
अब रूसबाट तेल खरिद रोक्ने प्रतिबद्धतासँगै कर दर घटेर १८ प्रतिशतमा झर्न सक्नेछ, जुन युरोपेली संघ र जापानमा लगाइने कर दर (१५ प्रतिशत) नजिकै हो ।
इतिहासमा भारत–रूस सम्बन्ध ऊर्जा भन्दा पनि रक्षा क्षेत्रमा बढी केन्द्रित रहँदै आएको छ । रूसले भारतको थोरै मात्र तेल आपूर्ति गरे पनि भारतको अधिकांश सैन्य सामग्री रूसबाट आउँछ ।
तर युक्रेन युद्धपछि भारतले सस्तो मूल्यमा रूसी तेल खरिद गर्दै ऊर्जा आपूर्ति बढाएको थियो, जबकि रूसले आफ्नो कमजोर अर्थतन्त्र जोगाउन तथा युद्ध खर्च धान्न निर्यात बढाउने प्रयास गरिरहेको थियो ।
यसैबीच, भारत र युरोपेली संघबीच झण्डै दुई दशकपछि स्वतन्त्र व्यापार सम्झौता सम्पन्न भएको छ, जसले करिब दुई अर्ब जनतालाई असर पार्नेछ । उक्त सम्झौताले कपडा, औषधिदेखि युरोपेली वाइन र कारसम्मका वस्तुमा कर घटाउँदै लगभग सबै वस्तुमा स्वतन्त्र व्यापार सुनिश्चित गर्नेछ ।
विश्लेषकहरूका अनुसार यो सम्झौताले ट्रम्पका कर नीतिका कारण बाधित व्यापार प्रवाहबाट बच्न र अमेरिकी निर्भरता घटाउन चाहने संकेत पनि दिएको छ ।
हालैका महिनाहरूमा भारतले ओमानसँग सम्झौता गरेको छ र न्युजिल्याण्डसँग पनि व्यापार सम्झौता अन्तिम चरणमा पुर्याएको छ ।
अमेरिकी जनगणना ब्युरोका अनुसार गत वर्षको पहिलो ११ महिनामा अमेरिका र भारतबीच वस्तु व्यापार घाटा ५३.५ अर्ब अमेरिकी डलर रहेको थियो, अर्थात् अमेरिकाले भारतबाट धेरै आयात र कम निर्यात गरेको छ ।
१.४ अर्बभन्दा बढी जनसङ्ख्या भएको भारतलाई धेरैले चीनको विकल्पका रूपमा भू–राजनीतिक तथा आर्थिक सन्तुलनकर्ताका रूपमा हेर्ने गरेका छन् ।












