१४ असार २०८३, आईतवार
,
Latest
सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाताको गुनासो : आश्वासन धेरै पायौँ, अब विकास चाइयो



अ+ अ-

बागलुङ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद्धता र सङ्कल्प पत्रहरु लिएर दल तथा उम्मेदवारहरु मतदाताको घरदैलो धाइरहेका छन् ।

आफ्ना एजेण्डासहित मतदाताको घरदैलो गर्ने उम्मेदवार र दलहरुलाई यसअघिका निर्वाचनमा जस्तो सहज भने छैन । मतदातामा चेतनाको विकास र सामाजिक सञ्जाललगायत क्षेत्रमा भएको विकासले उम्मेदवार र दललाई जवाफदेही बनाउने छन् । पटकपटक आश्वासनमा मतदान गरेका मतदाता यो पटकको निर्वाचनमा भरपर्दो योजना भएका उम्मेदवारलाई मात्रै मतदान गर्ने सोचमा देखिन्छन् ।

निसीखोला गाउँपालिका–६ का ७३ वर्षीय चुनमान घर्तीमगरले जनताका आधारभूत आवश्यकता पूरा गर्ने नेतालाई जिताउनुपर्ने बताउनुभयो । यसअघिका नेताले आश्वासन मात्रै दिएको उहाँको गुनासो छ । अहिलेसम्म आफ्नो क्षेत्रमा खानेपानी, शिक्षा र स्वास्थ्यको सहज संविधान नभएको घर्तीमगरको भनाइ छ । चुनावका बेला गरेको बाचा चुनाव सकिएपछि बिर्सिने गरेको उहाँले बताउनुभयो ।

“हामीले पटकपटक जितायौँ, उनीहरुले पद पाए, आफ्नालाई जागिर खुवाए, हामीलाई निराशाबाहेक अरु के दिए ?, यसपटक प्रतिबद्धता मात्रै होइन कामको योजनासहित आउने उम्मेदवारलाई मत दिने योजनामा छु”, उहाँले भन्नुभयो, “आश्वासन पहिला पाइएको हो, अहिले उही त्यहीँ त होला, हामी सोझा साझा जनता जहिले मारमा मात्रै छौँ ।”

ढोरपाटन नगरपालिका–२ की थमकुमारी खत्रीले किसानका समस्या समाधान गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताउनुभयो । ग्रामीण सडक बाह्रै महिना सञ्चालन नहुँदा किसानले उत्पादन गरेको वस्तु नष्ट हुने गरेको भन्दै चुनावका बेला धेरै नेताले झुटा आशा मात्रै दिएको उहाँले गुनासो पोख्नुभयो । धेरै वर्षदेखि गाउँमा खानेपानीको समस्या रहेको भन्दै यसको समाधान अहिलेसम्म हुन नसकेको खत्रीको भनाइ छ ।

उहाँले भन्नुभयो, “बहुदल आएपछि हामीलाई नेताहरुले पटकपटक झुक्याएर भोट लगे, चुनाव जितेर गएपछि एक पनि गाउँमा फर्किएर आएनन्, गाउँमा कति धेरै समस्या छन्, समस्या समाधान गर्नका कुनै पनि नेताले सकेनन्, यस क्षेत्रका जनता सधैँ भोट दिने मात्रै भयौँ ।”

बडिगाड गाउँपालिका–८ का निमबहादुर विकले दुर्गम गाउँमा विकास गर्ने नेता अहिलेसम्म नपाएको बताउनुभयो । गाउँका नागरिकले आधारभूत सेवा पाउनबाट वञ्चित रहेको भन्दै चुनाव जितेपछि उनीहरुको समस्या बुझेर काम गर्ने नेताको आवश्यकता विकले सुनाउनुभयो । धेरैको नजर सहर बजारमा मात्रै पर्दा धेरै दुर्गम बस्तीहरु ओझेलमै परेको उहाँको भनाइ छ ।

“सहर बजारमा त विकास भएको छ, तर गाउँमा भौगोलिक विकटतासँग विकासले ठगेको छ, धेरै नेतालाई जिताएर पठायौँ, उनीहरुको नजर यो क्षेत्रमा परेन”, विकले भन्नुभयो, “सही नेता छन्न नसक्नु हामी जनताको कमजोरी होकी ?, सुरुमा त सबैले यो गर्छु, त्यो गर्छु भन्छन्, गर्लान् भन्ने त हुन्छ तर चुनावपछि नेता नै हराउँछन् ।” रासस