२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईंको मत, तपाईंको आवाज, तपाईंको भविष्य



अ+ अ-

न्यूजपोलार ए.आई.

  • आशा र निराशा मिसिएको बाक्लो कुहिरोले हाम्रो समाजलाई ढाकेको छ ।
  • यो निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक महसुस भइरहेको छ ।
  • पुरानो पुस्ताको विरासत र नयाँ पुस्ताको अपेक्षा
  • यो निर्वाचनमा हामी पार्टीप्रतिको अन्धभक्ति र आकर्षक तर खोक्रा वाचाको राजनीतिबाट माथि उठ्नुपर्छ ।
  • नेपालको प्राकृतिक सौन्दर्य हाम्रो पहिचान र सम्पत्ति हो ।
  • त्यो मत नयाँ पुस्ताको नेतृत्व, नयाँ प्राथमिकता र नेपालको नयाँ बिहानीका लागि होस् ।

हामी आज इतिहासको एउटा निर्णायक मोडमा उभिएका छौँ । आशा र निराशा मिसिएको बाक्लो कुहिरोले हाम्रो समाजलाई ढाकेको छ । दशकौँदेखि दोहोरिँदै आएको राजनीतिक अस्थिरता, विकासको सुस्त गति, संस्थागत भ्रष्टाचार, कुशासन र सत्ताकेन्द्रित फोहोरी राजनीतिले नेपाली जनतालाई आजित बनाएको छ । यही पृष्ठभूमिमा हामी नयाँ आशा बोकेर निर्वाचनतर्फ अघि बढ्दैछौँ ।

अधुरा वाचा र अपूरा सम्भावनाहरू पूरा हुने अपेक्षासहित, मतको माध्यमबाट नयाँ इतिहास लेख्ने दृढ संकल्पका साथ हामी चुनावमा सहभागी हुँदैछौँ । यही कारणले यो निर्वाचन अघिल्ला निर्वाचनभन्दा फरक महसुस भइरहेको छ ।

गत भदौमा देखिएको जेन–जी आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतनाको उदय गराएको छ । युवापुस्ता अब पुरानो विरासत जस्ताको तस्तै स्वीकार गर्न तयार छैन । आज प्रत्येक विवेकशील मतदाताको मनमा प्रश्न केवल ‘कसलाई भोट दिने ?’ भन्ने मात्र होइन, ‘कस्तो नेपाल चाहिन्छ ?’ भन्ने हो ।

यो निर्वाचन कुनै व्यक्ति वा दल मात्र रोज्ने प्रक्रिया होइन; यो एउटा दृष्टिकोण, एउटा बाटो र एउटा प्रतिबद्धता रोज्ने अवसर हो — जसले हामीलाई केवल बाँच्न होइन, समृद्धितर्फ अघि बढाउन सकोस् । त्यसैले आउँदो मध्यावधि निर्वाचन सामान्य लोकतान्त्रिक अभ्यास मात्र होइन; यो हाम्रो भविष्यबारे हुने जनमत संग्रह हो । यस्तो सामूहिक निर्णय, जसको प्रभाव आउने कैयौँ पुस्तासम्म गुञ्जिरहनेछ ।

अविकासका ३५ वर्ष

आजको गम्भीर अवस्थालाई बुझ्न हामीले विगततर्फ फर्केर हेर्नैपर्छ । सन् १९९० को दशकमा नेपाल धेरै छिमेकी तथा समकक्षी मुलुकहरूसँग लगभग समान विकासको चरणमा थियो । प्रजातान्त्रिक व्यवस्था सुरु भइसकेको थियो र नेपालले उदार आर्थिक नीतिको बाटो समातेको थियो । तर आज तीमध्ये धेरै मुलुकहरूले आर्थिक र सामाजिक विकासमा ऐतिहासिक फड्को मारिसकेका छन् । कुनै समय वैदेशिक सहायता लिने दक्षिण कोरिया आज विश्वकै प्रमुख आर्थिक शक्तिमध्ये एक बनेको छ । प्राकृतिक स्रोतको अभाव भएको सानो टापु राष्ट्र सिंगापुर समृद्धिको पर्याय बनेको छ । युद्धले तहसनहस भएको भियतनामले आफ्नो अर्थतन्त्र रूपान्तरण गरी दक्षिण–पूर्वी एसियाको उदाउँदो तारा बनेको छ । यतिसम्म कि भुटान, बंगलादेश, श्रीलंका र भारतले समेत विकासका सूचकांकमा नेपाललाई धेरै पछाडि छाडिसकेका छन् ।

त्यसो भए नेपाल किन पछि पर्‍यो ? यही प्रश्नको उत्तर खोज्दै नेपाली समाज लामो समयदेखि मन्थनमा छ । यही प्रश्नको प्रतिध्वनि गत भदौमा जेन–जी युवाहरूको विद्रोहमा सुनियो । विगत ३५ वर्षमा मौलाएको राजनीतिक अस्थिरता, संस्थागत भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद, विचौलियातन्त्र र दूरदर्शी नेतृत्वको अभावले देशलाई गरिबी र अविकासको दुष्चक्रमा फसाइदियो । जब समकक्षी राष्ट्रहरू राष्ट्र निर्माणको दीर्घ यात्रामा थिए, हाम्रा राजनीतिक बहस सत्ता–साझेदारी र नेताहरूको अल्पकालीन लाभमै सीमित रहे । पटक–पटक सरकार फेरिए, तर देशको दिशा फेरिएन । ‘घुम्ने कुर्सी’को यो खेलले दीर्घकालीन र रूपान्तरणकारी नीतिहरूको जन्म हुनै दिएन ।

भ्रष्टाचार आज हाम्रो मुलुकलाई भित्रभित्रै खोक्रो बनाउने क्यान्सर बनेको छ । दुर्गम क्षेत्रमा विद्यालय, अस्पताल र पूर्वाधार निर्माणका लागि छुट्याइएको स्रोत सीमित व्यक्तिको खल्तीमा पुग्यो । यसले सार्वजनिक विश्वास चकनाचुर बनायो, विदेशी लगानी निरुत्साहित गर्‍यो, र नेपाललाई अन्तर्राष्ट्रिय रूपमा बदनाम बनायो ।

पुरानो पुस्ताको विरासत नयाँ पुस्ताको अपेक्षा

आज पुराना राजनीतिक दल र नेतृत्वले यस अवधिमा बनेका सडक, विद्यालय र स्वास्थ्य चौकीलाई आफ्ना उपलब्धिको प्रमाणका रूपमा प्रस्तुत गरिरहेका छन् । निष्पक्ष रूपमा हेर्दा केही प्रगति भएको सत्य हो । हामीसँग संघीय लोकतान्त्रिक गणतन्त्र छ, नागरिक अधिकार सुनिश्चित गर्ने संविधान छ, र केही दशकअघि कल्पनासमेत नगरेको पूर्वाधारको जालो छ । तर इन्टरनेटसँगै हुर्किएको, सामाजिक सञ्जालको आँखाबाट संसार देखेको पुस्ताका लागि यी उपलब्धिहरू जन्मसिद्ध अधिकारजस्तै लाग्छन् । यो अस्वाभाविक होइन ।

हालैको जेन–जी आन्दोलन यही निराशाको शक्तिशाली अभिव्यक्ति थियो । आजका युवाहरू गाउँसम्म पुग्ने र विदेश पलायन सजिलो बनाउने सडक मात्र चाहँदैनन् । उनीहरू स्वदेशमै सम्मानजनक तलब दिने रोजगारीसम्म पुग्ने बाटो खोजिरहेका छन् । उनीहरू साक्षरता मात्र दिने विद्यालय होइन, विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा प्रणाली मागिरहेका छन् । उनीहरू सिटामोल बाँड्ने अस्पताल होइन, सबैको पहुँचमा हुने, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा चाहन्छन् । उनीहरू यस्तो भविष्य चाहन्छन्, जहाँ मातृभूमि र आकांक्षाबीच रोज्न नपरोस् । क्रमिक सुधार होइन, विकास र समृद्धिमा छलाङ — यही हो पुरानो राजनीति र नयाँ पुस्ताबीचको गहिरो खाडल ।

एजेण्डाका आधारमा मतदान

यो निर्वाचनमा हामी पार्टीप्रतिको अन्धभक्ति र आकर्षक तर खोक्रा वाचाको राजनीतिबाट माथि उठ्नुपर्छ । हामी विचारका विवेकशील उपभोक्ता बन्नुपर्छ । नेतृत्व गर्न चाहनेहरूसँग स्पष्ट भिजन र ठोस एजेण्डा माग्नुपर्छ । नाराभन्दा व्यवहारिक योजना, भावनाभन्दा परिणामको राजनीति खोज्नुपर्छ ।

हामीलाई नेपालको लागि स्पष्ट, सुसंगत र दीर्घकालीन दृष्टिकोण दिन सक्ने नेतृत्व चाहिन्छ । रोजगारी कसरी सिर्जना हुन्छ ? पर्यटन, कृषि र जलविद्युतका अपार सम्भावनालाई कसरी उपयोग गरिन्छ ? कमजोर वर्गका लागि सामाजिक सुरक्षा कसरी सुनिश्चित हुन्छ ? यी प्रश्नको उत्तर दिने स्पष्ट मार्गचित्र आवश्यक छ ।

भ्रष्टाचारले ग्रस्त देशमा स्वच्छ छविमा सम्झौता हुन सक्दैन । उम्मेदवारहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्न, छानबिनका लागि तयार रहन, र आफ्नै पंक्तिमा भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउनुपर्छ । भ्रष्टाचारविरोधी निकायलाई कमजोर होइन, सशक्त बनाउने नेतृत्व आजको आवश्यकता हो ।

वाचा गर्नु सस्तो हुन्छ । त्यसैले हामीले बोल्ने मात्र होइन, काम गरेर देखाएको इतिहास भएका उम्मेदवार खोज्नुपर्छ । नेतृत्व क्षमता, व्यवस्थापन अनुभव र परिणाममुखी सोच आजको मापदण्ड हुनुपर्छ ।

नयाँ सामाजिक सम्झौताको आवश्यकता

निराशाको दुष्चक्र तोड्न जनता र निर्वाचित प्रतिनिधिबीच नयाँ सामाजिक सम्झौता आवश्यक छ । नयाँ सरकारको प्राथमिकता जीवन्त, समावेशी र उत्पादनमुखी अर्थतन्त्र निर्माण हुनुपर्छ । प्रशासनिक झन्झट हटाएर उद्यमशीलता प्रवर्द्धन, विदेशी लगानी आकर्षण, आधुनिक कृषि, व्यावसायिक सीप विकास र विप्रेषण–निर्भर अर्थतन्त्रबाट उत्पादन–आधारित अर्थतन्त्रतर्फको रूपान्तरण अपरिहार्य छ ।

सुशासनबिनाको समृद्धि कल्पना मात्र हो । लोकतान्त्रिक संस्थाको सुदृढीकरण, न्यायपालिकाको स्वतन्त्रता र कानूनको शासनमा कुनै सम्झौता हुनुहुँदैन । शिक्षा र स्वास्थ्यमा आमूल सुधार गर्दै रचनात्मकता, नवप्रवर्तन र स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिनुपर्छ ।

नेपालको प्राकृतिक सौन्दर्य हाम्रो पहिचान र सम्पत्ति हो । दिगो विकास, जिम्मेवार जलविद्युत, हरित पर्यटन र जैविक विविधताको संरक्षण भविष्यप्रति हाम्रो दायित्व हो । साथै, विदेशमा रहेका लाखौँ नेपालीको सीप, पूँजी र अनुभव राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।

अन्ततः, यो निर्वाचन अवसरको क्षण हो । तर परिवर्तन आफैँ हुँदैन । त्यसका लागि हामी सचेत, सूचित र सक्रिय नागरिक बन्नैपर्छ । खोक्रा आश्वासन र संकीर्ण पहिचानको राजनीतिबाट टाढा रहौँ ।

फागुन २१ मा मतदान गर्दा सम्झनुहोस्— तपाईं आफ्नो डर होइन, आफ्नो आशाको पक्षमा मत दिँदै हुनुहुन्छ । त्यो मत नयाँ पुस्ताको नेतृत्व, नयाँ प्राथमिकता र नेपालको नयाँ बिहानीका लागि होस् । हाम्रो भाग्य लेख्ने शक्ति हाम्रै हातमा छ । यसलाई बुद्धिमानीपूर्वक प्रयोग गरौँ ।