एजेन्सी । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ मा सुरु हुँदैछ । विश्वकप अगाडि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज अर्थात् फेब्रुअरी ५ मा एक विशेष कप्तान दिवस (क्याप्टेन्स डे) कार्यक्रम आयोजना गरेको छ। २० टोलीका कप्तानहरूले प्रतियोगिता सुरु हुनुभन्दा अघि मिडियासँग अन्तरक्रिया गर्ने र आफ्ना विचारहरू राख्ने कार्यक्रम रहेको छ ।
यस पटकको क्याप्टेन्स डे कार्यक्रम एक नभई दुई फरक देशमा हुने भएको छ । मुम्बईको वानखेडे स्टेडियममा रहेको बीसीसीआईको कार्यालयमा हुने कप्तान दिवस कार्यक्रममा कुल १२ टोलीका कप्तानले भाग लिनेछन्। जसमा नेपाल, भारत, अफगानिस्तान, क्यानडा, इंग्ल्यान्ड, इटाली, नामिबिया, न्यूजिल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजका कप्तान सहभागी हुनेछन् ।
बाँकी ८ टिमका कप्तानहरू श्रीलङ्काको कोलम्बोमा हुने क्याप्टेन दिवस कार्यक्रममा भाग लिनेछन् । जसमा पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, संयुक्त अरब इमिरेट्स र जिम्बाब्वे रहेका छन् ।
भारतमा हुन लागेको पहिलो समूहको पत्रकार सम्मेलन नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट र दोस्रो समूहको पत्रकार सम्मेलन दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ। पत्रकार सम्मेलनमा कप्तानले आफ्नो टोली संयोजन, टोलीको तयारी र लक्ष्यका बारेमा कुरा गर्नेछन् । उक्त कार्यक्रममा नेपालका कप्तान रोहित पौडेल पनि सहभागि हुनेछन् ।
सन् २०२६ को टि–२० विश्वकप भारतका पाँच र श्रीलङ्काका तीन स्थानमा आयोजना हुन लागेको छ । विश्वकपमा नेपालले सबै खेल वानखेडे स्टेडियम, मुम्बईमा खेल्नेछ । समूह ‘सी’ मा रहेको नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ।
नेपालको समूहमा दुई–दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली छन् ।











