निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिनुभएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन पर्यवेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
आयुक्त डा. तुलाधरले निर्वाचन आयोगसँग सहकार्य गर्दै निर्वाचन प्रक्रियाको पर्यवेक्षण र अवलोकन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थाहरूको भुमिका सह्रानीय रहेको उल्लेख गर्नुभयो । उहाँले निर्वाचन पर्यवेक्षणका क्रममा प्रचलित कानून, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिनुभयो । पर्यवेक्षकहरू कुनैपनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी तटस्थ रहनुपर्नेमा उहाँको विशेष जोड छ । व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष ननिकाली तथ्यमा आधारित भएर मात्र पर्यवेक्षण गर्न उहाँले आग्रह गर्नुभयो । अपुष्ट, अपूर्ण र भ्रामक सूचना सार्वजनिक हुँदा निर्वाचनको विश्वसनीयतामा गम्भीर असर पर्ने भन्दै उहाँले पर्यवेक्षकहरूलाई सञ्चार र सूचना प्रवाहमा शतर्क रहन सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष, विश्वसनीय हुनु अत्यन्तै आवश्यक छ । यही उद्देश्य प्राप्त गर्न निर्वाचन आयोगसँग सहकार्य गर्दै निर्वाचन प्रक्रियाको पर्यवेक्षण, अवलोकन गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुहुने निर्वाचन पर्यवेक्षण अनुमति प्राप्त राष्ट्रिय संस्थाहरुको भुमिका अत्यन्तै सह्रानिय र महत्वपूर्ण रहेको छ । निर्वाचन केबल मतदान गर्ने प्रक्रिया मात्र होइन । यो जनतामा निहित सार्वभौम सत्ताको प्रयोग गर्ने एउटा माध्यम पनि हो । यस प्रक्रियामा आम जनताको विश्वास कायम राख्न कानूनी व्यवस्था र आचारसंहीताको पालना सुनिश्चित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन यहाँहरुबाट गरिने निष्पक्ष, वस्तुष्ठि, जिम्मेवार पर्यवेक्षणले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा आयोगले गरेको छ । निर्वाचन पर्यवेक्षणका कार्यमा निर्वाचन सम्बन्धी प्रचलित कानून, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहीताहरुको पूर्ण पालना हुन आवश्यक छ । पर्यवेक्षकहरु कुनैपनि राजनीतिक दल, उम्मेदवार र सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी निष्पक्ष रुपमा आफ्नो कर्तव्यमा संलग्न हुनुपर्दछ । पर्यवेक्षण कार्यमा संलग्न रहँदा तटस्थता, निष्पक्षता, व्यवसायिक आचरण आवश्यक हुन्छ । व्यक्तिगत धारा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष निकाल्ने कार्य नगरी, तथ्यमा आधारित पर्यवेक्षण र अवलोकनमा केन्द्रिकृत हुनुपर्दछ । पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मत गणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीको नियमित कार्यमा कुनै किसिमको अवरोध, हस्तक्षेप वा प्रभाव पार्ने गतिविधि वा कुनैपनि पक्षपातपूर्ण व्यवहार गर्न नपाइने कुरा अभिमुखीकरणमार्फत पर्यवेक्षणमा खटाइने पर्यवेक्षकहरुलाई जानकारुी गराउन जरुरी छ ।’
निर्वाचन आयोगले पर्यवेक्षकहरूलाई केवल अवलोकनकर्ताको रूपमा मात्र नभई लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण साझेदारका रूपमा लिएको उहाँको भनाइ थियो । निर्वाचन प्रक्रियालाई अझ पारदर्शी र जनउत्तरदायी बनाउन उच्च नैतिकताका साथ आफ्नो भूमिका निर्वाह गर्न उहाँले सबैमा आह्वान गर्नुभयो ।












