काठमाडौं। पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका पूर्वपदाधिकारीहरू, उच्च पदस्थ कर्मचारी तथा सांसदहरूले सुुरक्षाका नाममा ५ सय बढी सुरक्षाकर्मीलाई आफ्नो व्यक्तिगत निवास तथा सुरक्षामा खटाएर दुरुपयोग गर्दै आइरहेका छन् । ती सुरक्षाकर्मीहरूले राज्यकोषबाट तलब र सुविधा लिँदा वार्षिक करोडौं रुपैयाँ खर्च हुन्छ । राज्यकोषबाट रासन सुविधासमेत दिएर उनीहरूलाई व्यक्ति विशेषको सुरक्षामा खटाउँदै आइएको छ । उच्च पदस्थहरूले सुरक्षाका लागि भन्दा पनि सान र रवाफका लागि सुरक्षाकर्मी राख्ने गरेको प्रहरी अधिकारीहरूको दाबी छ ।

गृह मन्त्रालयका अनुसार आफूलाई उच्चपदस्थ र भीआईपी ठान्ने ९६ जनाले व्यक्तिगत र निवासको सुरक्षाका लागि भन्दै ६ सय ५ जना सुरक्षाकर्मी व्यक्तिगत सुरक्षा र निवासको सुरक्षामा खटाउँदै आएका छन् । कार्यविधिअनुसार उनीहरू सबैका लागि ७७ जना मात्रै सुरक्षाकर्मी खटाउनुपर्छ तर कार्यविधिले तोकेभन्दा ५ सय १८ जनाभन्दा बढी सुरक्षाकर्मी निवासमा खटिँदै आएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिँदै आए पनि प्रहरीले भने कार्यविधिविपरीत खटिएका सुुरक्षाकर्मी फिर्ता गर्न सकेको छैन ।
पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूबाट कार्यविधिभन्दा बढी सुरक्षाकर्मीहरू खोस्न प्रहरीको नेतृत्वले हिम्मत गर्न सकेको छैन । कार्यविधिविपरतिको सुरक्षाकर्मी फिर्ता गरिएमा ५ सय १८ जना सुरक्षाकर्मी फिर्ता हुनेछन् । हाल मुलुकका कतिपय प्रहरी चौकीमा सुरक्षाकर्मीको अभाव रहँदै आएको छ । गृह मन्त्रालयले विभिन्न समयमा विशिष्ट व्यक्तिका लागि कार्यविधि बनाएर सुरक्षाकर्मी दिँदै आए पनि अधिकांशले कार्यविधि मिच्दै आएका हुन् । सरकारी कार्यविधिअनुसार सुरक्षा थ्रेट भएको खण्डमा पूर्वप्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थहरूलाई सुरक्षाकर्मी दिन सकिने व्यवस्था छ ।
विगतमा माओवादी सशस्त्र विद्रोहको समयमा सुरक्षा थ्रेट हुन सक्ने हुँदा उच्च पदस्थलाई उनीहरूको मागका आधारमा सुरक्षा विश्लेषण गर्दै सुरक्षाकर्मी दिने नीति लिइएको थियो । तर, हाल मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएर स्थिर सरकार गठन भइसकेको छ । तर, पनि उच्च पदस्थहरूले विगतकै पुरानो नीतिअनुसार ठूलो संख्यामा सुरक्षाकर्मी राखेका हुन् । विगतमा पदमा बसेकाहरूले अहिले आएर सान देखाउनकै लागि ठूलो संख्यामा सुरक्षाकर्मी राखेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
‘घर तथा आवासमा सुरक्षाकर्मी राख्दा सान बढ्ने र ठालु कहलिने प्रवृत्ति उनीहरूमा व्यापक देखियो,’ ती अधिकारीले भने । केही पूर्वप्रधानमन्त्रीबाहेक अरू कसैलाई कुनै प्रकारको सुरक्षा थ्रेट नभएको गृहका ती अधिकारीको दाबी छ । पूर्वविद्रोही नेता भएको र शसस्त्र द्वन्द्व सञ्चालन गरेकाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई केही सुरक्षा थ्रेट हुन सक्छ तर अन्यको हकमा भने कसैलाई पनि सुरक्षा थ्रेट छैन,’ प्रहरीका एक अधिकारीले भने ।
उपत्यकालगायत मुलुकभरमा नै शान्ति सुरक्षाको अवस्था सुदृढ रहेकाले सुरक्षा थ्रेट नभएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए । दाहाललगायत, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा ,बावुराम भट्टराई, खिलराज रेग्मीकहाँ कार्यविधिले तोकेकोभन्दा दोब्बर बढी संख्यामा सुरक्षाकर्मी खटिँदै आएको प्रहरीले जनाएको छ ।
‘पूर्वगृहमन्त्रीकहाँ सान र रवाफकै लागि सुरक्षाकर्मी’
गृह मन्त्रालयका अनुसार पूर्वगृहमन्त्रीहरूलाई कुनै प्रकारको सुरक्षा थ्रेट छैन । तर, पनि उनीहरूले सान देखाउनकै लागि आफ्नो निवासमा दर्जनौं सुरक्षाकर्मी राखिरहेका छन् । सरकारी कार्यविधिअनुसार पनि पूर्वगृहमन्त्रीले मन्त्री पदबाट बाहिरिएको ३ वर्षसम्म मात्रै दुईदेखि तीन जना सुरक्षाकर्मी राख्न पाउँछन् । तर, यो नियमको समेत सबैजसोले धज्जी उडाउँदै आएका छन् । प्रहरीका अनुसार पूर्वउपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले दुई जना पाउने ठाउँमा १२ जना सुरक्षाकर्मी राख्दै आएका छन् ।
यस्तै, पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावलले कार्यविधिअनुसार आफ्नो निवासमा तीन जना राख्न पाउने भए पनि १८ जना सुरक्षाकर्मी राखेका छन् तर उनको कार्यविधिको समय भने सकिइसकेको छ । यसैगरी, पूर्वगृहमन्त्री विमलेन्द्र निधिले पनि दुई जना राख्नुपर्नेमा १२ जना राखेका छन् भने वामदेव गौतमले तीन जना राख्न पाउनेमा १६ जना राखेका छन् ।
तर, उनको पनि कार्यविधिअनुसार सुरक्षाकर्मी राख्न पाउने समय भने सकिइसकेको छ । यसैगरी, पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले पनि तीन जना राख्नुपर्नेमा १४ जना राखेका छन् । यस्तै, पूर्वगृहमन्त्री जनार्दन शर्माले दुई जना राख्नुपर्नेमा १५ जना राखेका छन् । यस्तै, पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले पनि दुई जना राख्नुपर्नेमा १५ जना राखेका छन् ।
संवैधानिक निकायका पदाधिकारीकहाँ पनि कार्यविधिविपरीत:वगैरकानुनी सुरक्षाकर्मी राखेर रवाफ देखाउँछन उच्च पदस्थिभिन्न संवैधानिक निकायका पदाधिकारीले पनि ठूलो संख्यामा सुरक्षकर्मी राखेर रवाफ देखाउँदै आएको सुरक्षा अधिकारीहरूले जनाएका छन् । जसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले ६ जना सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । यस्तै, पूर्वप्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले तीन जना, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वसचिव भगवतीकुमार काफ्लेले दुई जना सुरक्षाकर्मी प्रयोग गर्दै आइरहेका छन् । राजधानी दैनिकबाट












